७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री-‘रअ’ प्रमुख भेटबारे परराष्ट्रमन्त्री ज्ञवालीलाई रवीन्द्र मिश्रका ८ प्रश्न

रवीन्द्र मिश्र

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ताका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ८ प्रश्न गरेका छन्।  

आइतबार बिहान एक रेडियो अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले ‘भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन्’ भनेपछि मिश्रले सामाजिक सञ्जालमार्फत विभिन्न प्रश्न तेर्स्याएका हुन्। 

‘त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको,’ फेसबुकमा मिश्रले प्रश्न गरेका छन्, ‘भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु हेपेको हो कि होइन?’

मिश्रले फेसबुकमा लेखेका ८ प्रश्न यस्ता छन् :  

भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन् स् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज बिहान कान्तिपुर हेडलाइनर्समा।

१. त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको?

२. युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलि मात्र होइन, पूर्ण रूपमा हेपेको हो कि होइन?

३. नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन?

४. नेपालका प्रधानमन्त्रीले नेपाली गुप्तचर निकायका प्रमुखलाई प्रतिनिधि बनाएर भारतीय प्रधानमन्त्रीलाई भेट्न पठाउँछु भनेर प्रस्ताव राखे भने, के भारतीय प्रधानमन्त्रीले भेट दिन्छन्?

५. भारतीय प्रधानमन्त्रीको ‘प्रतिनिधि’ का रूपमा आएको हो भने दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय भयो कि भएन? परराष्ट्र मन्त्रालयसँग सम्मनवय भयो कि भएन?

६. भएको भए, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘हामीलाई गोयलको भ्रमणबारे जानकारी छैन’ किन भनेको? अनि तपाईं अहिले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको भन्दै हुनुहुन्छ, त्यसो हो भने परराष्ट्र मन्त्रालयलाई किन जानकारी भएन?

७. भेटघाटमा के परराष्ट्र मन्त्रालयका प्रतिनिधि थिए?

८. यो देशमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री छन् कि छैनन्?

ढाकछोपको पनि सीमा हुन्छ। यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएकाे गम्भीर आरोपमा छानबिन हुन सक्थ्यो। तर विडम्बनाको कुरा, भ्रष्टाचार मात्र होइन, यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दै छ।

प्रकाशित: ९ कार्तिक २०७७ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App