१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले विदेशी गुप्तचरसँग गरेको ‘वार्ता’ नेपालको इतिहासमै पहिलो : नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेकोप्रति सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रवक्ता नारायणकाजी श्रेष्ठले गम्भीर आपत्ति प्रकट गरेका छन्।  

उनले देशको प्रधानमन्त्रीले विदेशी गुप्तचर संस्थाका अधिकारीसँग यसरी भेटवार्ता गरेकाे घटना नेपालको इतिहासमै पहिलो भएको बताएका छन्।  

प्रवक्ता श्रेष्ठले आइतबार फेसबुकमा लेखेका छन्, ‘नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको यो पहिलो घटना हो।’

यस्तो छ उनको पूरा स्टाटस

केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु। यसबीचमा भारतको गुप्तचर संस्था ‘रअ’का  मुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग ‘वार्ता’ गरेर फिर्ता भएछन्। प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानाकारी र उपस्थितिबिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानाकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन।  

त्यसैले यस सम्बन्धमा यहाँ व्यक्त विचार मेरो निजी विचार हो।  मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको।  

नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणका लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरूप शिष्टाचार भेट हुन सक्दथ्यो। त्यो होइन भन्ने स्पष्ट भइसकेको छ।  

विदेशी सरकार प्रमुखले औपचारिक रूपमा आफ्नो विशेष दूतका रूपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो।

तर त्यस्तो पनि देखिएन। त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहिताबिपरीतको यस्तो भेट किन? यस प्रकारको कर्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।

प्रकाशित: ९ कार्तिक २०७७ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App