१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्रीलाई पूर्वउद्योग मन्त्री जोशीको खुलापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू !  

विजयादशमी २०७७ को शुभउपलक्ष्यमा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।  कमजोर सुशासन, शून्य पारदर्शिता, जनताका दुःख–पीडाप्रति उदासीन, लोकतन्त्र र लोकतान्त्रिक संविधानको संरक्षण र सम्वर्धनमा विरक्त तपाईँको सरकारलाई झक्झक्याउन र आमनागरिकको जीवन सुरक्षाका लागि सचेत बनाउने उद्देश्यले तपाईंलाई यो पत्र लेखेको छु।  

सम्पूर्ण नेपालीको लोकतान्त्रिक अधिकार र जीवनको सुरक्षा सुनिश्चित गर्न तपाईँलाई मातादुर्गा भवानीले सक्षम हुने आशीर्वाद प्रदान गरुन् भनी कामना गर्दछु।  लोकतन्त्र प्राप्तिका लागि शहीदहरुले दिएको बलिदानी, जनताले गरेको संघर्ष र भोगेका कष्ट एवं जनसेवामा समर्पित हुनु पर्ने राजनीतिको मूलभूत चरित्रलाई बिर्सिने हो भने इतिहासले कहिल्यै क्षमा गर्ने छैन।  

वर्तमान सरकार र सत्तारुढ दलका नेताहरुको स्वार्थपरायणताले सीमा नाघेको यथार्थ हामी सामु छ।  भ्रष्टाचारले उग्ररुप लिँदैछ र यसले संस्थागतरुप लिएको परिणाम नेपाली जनताले भोगी रहेका छन्।  भ्रष्टाचारका कारण राजनीतिक क्षेत्र नै बदनाम हुँदै गएको छ।  औषधि खरिद प्रकरणदेखि कोरोना महामारी नियन्त्रण र सरकारका अन्य खरिद एवं ठेक्का प्रक्रियाहरुमा सुशासन र पारदर्शिताको उपहास भएको छ।  जसले गर्दा लोकतन्त्र नै कमजोर बन्दै गएको आभास भएको छ।  जनताप्रति उपेक्षा र कमजोर सुशासनले (ब्याड गभर्नेन्सले) लोकतन्त्र नै कमजोर बन्दै गएको छ।  सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै जानु सम्पूर्ण लोकतन्त्रवादीहरुको लागि पीडाको विषय बनेको कुरा प्रधानमन्त्रीज्यूलाई अवगत नै हुनु पर्दछ।  

आमनागरिकको जीवन दिन प्रतिदिन कष्टकर हुँदै गइरहेको छ, यो ज्यादै चिन्ताजनक विषय हो तर मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार पूर्णतः उदासीन देखिएको छ।  जनताले भोग्नु परेका पीडा प्रति सरकार पूर्णतः उदासिन देखिनु विडम्वनापूर्ण अवस्था हो।  देश अहिले कोरोना महामारीका कारण अस्तव्यस्त छ।  विगत ७ महिनादेखिको लकडाउनले आर्थिक शिथिलता आई जनताको रोजगारी गुमेको छ, व्यवसाय बन्द भएको छ, महङ्गीले आकास छोएको छ र दैनिक ज्यालादारीका सबै काम ठप्प भई रोग र भोकबाट जनता छट्पटिएका छन्।  यस्तो अवस्थामा पनि सरकारका निर्णयहरुले गैह्र जिम्मेवारीको पराकाष्ठा नाघेका छन्।  यही बेला कोरोनाका रोगीको उपचार गर्ने जिम्मेवारीबाट सरकारले पूर्णरुपमा हात झिकेको छ।  क्वारेन्टाइनको अवस्था दयनीय छ, अस्पतालमा भेन्टिलेटरको अभावमा मानिसले जीवन गुमाउनु परिरहेको छ।  आमनागिरिकले चिकित्सकको निगरानीमा उपचार पाउने सम्भावना क्षीण बन्दै गएको छ।  यो जनताप्रति गरिएको उपेक्षा मानवता विरुद्धको अपराधको श्रेणीकै हो भन्दा अत्युक्ति नहोला।  अतः आमनागरिकको जीवन सुरक्षाका निमित्त सरकारले संवेदनशील भई जिम्मेवारी बोक्न म आग्रह गर्दछु।  आमनागरिकको रगत र पसिनाबाट आर्जित संघीय लोकतान्त्रिक व्यवस्था अन्तर्गत तपाईँ प्रधानमन्त्री हुनुहुन्छ र यही संविधान अन्तर्गत तपाईँको सरकार छ।  शहीदहरुको सपनालाई मूर्तरुप दिन र संविधानले परिकल्पना गरेको लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता र समुन्नत मुलुकको लक्ष्य हासिल गर्न सरकारका कामकारवाही उद्यत हुनै पर्दछ।  तसर्थ संविधान विपरीतका सरकारका क्रियाकलापहरुलाई सच्याउँदै देश र जनताप्रति सम्वेदन शीलहुँदै लोकतन्त्र, संविधान र संघीय व्यवस्थालाई संस्थागत गराउँदै आमनागरिकको लोकतन्त्रप्रति विश्वास बढ्ने काममा तदारुकता देखाउन प्रधानमन्त्रीज्यूलाई खुलारुपमा आह्वान गर्दछु।  अन्त्यमा, विजयादशमीको सुखद् अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।  

तपाईको
नविन्द्रराज जोशी, पूर्व उद्योग मन्त्री केन्द्रीय सदस्य, नेपाली कांग्रेस  

 

 

प्रकाशित: ६ कार्तिक २०७७ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App