८ वैशाख २०८१ शनिबार
राजनीति

‘बास्कोटाको मुद्दामा अनुसन्धान भइरहेको छ’

फाइल तस्बिर।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी पिन्टिङ प्रेस विषयमा घुस लिएको आरोप लगाइएका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटामाथिको मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ। सो मुद्दालाई तामेलीमा राख्ने निर्णय नभएको अख्तियारले प्रस्ट पारेको छ। बास्कोटामाथिको मुद्दा तामेलीमा राख्ने तयारी भएको भनी आएको हल्ला पूर्ण रुपमा निराधार भएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बास्कोटामाथि लगाइएको मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ। ‘तामेलीमा राख्ने भनी बाहिर आएको हल्ला निराधार हो। यसमा सत्यता छैन,’ उनले भने।

प्रेस खरिदमा बास्कोटामाथि ७० करोड रुपैयाँ घुस प्रकरण आरोप लागेको छ। यस प्रकरणमा पूर्वमन्त्री बास्कोटा र विजयकुमार मिश्रबीच भएको संवादको अडियो रेकर्ड सार्वजनिक भएको छ। स्रोतका अनुसार अख्तियारले सो संवादको अडियो र भिडियो परीक्षण गरिरहेको छ। मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा बिचौलियाको काम गर्दै आएका थिए। उनले मन्त्रीको कार्यकक्षमै अडियो रेकर्ड गरेका थिए। अडियो रेकर्ड सार्वजनिक भएपछि यस विषयमा अख्तियारले अनुसन्धान सुरु गरेको हो। यसबारे संसद्को सार्वजनिक लेखा समितिले पनि अध्ययन गरिरहेको छ।

स्रोतका अनुसार मिश्रले शुक्रबारसम्ममा काठमाडौं आउने तयारी गरेका छन्। लकडाउन सुरुभन्दा केही दिनअघि मात्र उनी जापान गएका थिए। घुस लेनदेन प्रकरणको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा गरेका थिए।

प्रकाशित: ६ कार्तिक २०७७ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App