८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रीले नै उल्लंघन गरे सरकारको निर्णय

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आयोजित कार्यक्रममा पुगेका गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । तस्बिर : नागरिक

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले चाडपर्वलक्षित सातबुँदे अपिल जारी गरे पनि गण्डकी प्रदेशमा मन्त्रीसहितको टोलीले नै उल्लंघन गरेको छ। २५ जनाभन्दा बढी भेला हुनेखाले सभासम्मेलन नगर्ने, अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यका मापदण्ड बनाइए पनि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसहितको टोलीले मापदण्डको पालना नगरी सरकारको निर्णय नै उल्लंघन गरेको हो।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको अनुरोध तथा समुदायमै कोरोना संक्रमण बढेपछि प्रेस विज्ञप्ति नै निकालेर नेकपा र नेपाली कांग्रेसले राजनीतिक दलका कार्यक्रम बन्द गरेको जानकारी गराएको केही दिन बित्न नपाउँदै दलका नेता, स्थानीय तहका प्रमुखको सहभागितामै भिडभाड गरी कार्यक्रम गरिएको छ। म्याग्दीका बाढीपहिरोपीडित तथा प्रभावित क्षेत्रका स्थानीयको पुनस्र्थापनाबारे बुझ्न दुईदिने भ्रमणमा आएका मन्त्री गुरुङसँगै सहभागी जिल्लाका नेतालेसमेत मास्कको प्रयोग नगरी कार्यक्रममा सहभागिता जनाएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भएको छ। पहिरो प्रभावित क्षेत्र मालिका गाउँपालिका–७, बिम र बेनी नगरपालिका–१०, पात्लेखेतलगायत स्थानमा स्थलगत भ्रमण गरेर फर्किएका मन्त्री गुरुङको उपस्थितिमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा कोरोनाबाट जोगिन प्रदेश सरकारको सक्रियता उत्कृष्ट भए पनि नियमित गतिविधिमा सहभागी हुनुपर्ने बताएका थिए।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको अनुरोध तथा समुदायमै कोरोना संक्रमण बढेपछि प्रेस विज्ञप्ति नै निकालेर नेकपा र नेपाली कांग्रेसले राजनीतिक दलका कार्यक्रम बन्द गरेको जानकारी गराएको केही दिन बित्न नपाउँदै दलका नेता, स्थानीय तहका प्रमुखको सहभागितामै भिडभाड गरी कार्यक्रम गरिएको छ।

‘कोरोनालाई मात्रै आधार बनाएर बस्ने अवस्था छैन, ‘अहिलेको अवस्थालाई सामना गर्दै गतिविधिलाई अगाडि बढाउनुपर्छ,’ मन्त्री गुरुङले भने। उनले संक्रमण बढ्ने जोखिम अझै भएकाले सजग, सचेत र सुरक्षित रहन, उपचारमा प्रदेश सरकारले नै खर्च व्यवस्थापन गर्ने भएकाले प्रदेशका नियमित गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए। नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री गुरुङले विश्वभर फैलिएको कोरोना भाइरसका कारण सबै देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित बनेको टिप्पणी गरेका थिए। हालसम्म ६० प्रतिशतसम्म पनि राजस्व संकलन हुन नसकिरहेको भन्दै राजस्व संकलन गर्न देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए।

‘अब पनि लकडाउन गर्नुपरेको खण्डमा पुरानो मोडालिटी अपनाउन नहुने भएकाले सुरक्षित भएर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्छ,’ मन्त्री गुरुङले भने। कोरोना जोखिमका बाबजुद पनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवश्यकता रहेकाले उद्योगधन्दा तथा कलकारखाना सञ्चालन गरी उद्योगी, व्यवसायीले कर तिर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका थिए। यता नेकपा म्याग्दीले जिल्लास्तरमा पार्टी गतिविधि सञ्चालन नगरिएको बताउँदै प्रदेशका मन्त्रीको नियमित कार्यक्रममा सहभागी मात्रै भएको जनाएको छ। प्रदेश सरकारको अनुगमन तथा नियमित गतिविधिलाई सहयोग गरिए पनि पार्टीका औपचारिक कार्यक्रम भने स्थगित नै रहेको जनाएको छ।

त्यस्तै नेपाली कांग्रेसले भने निर्णयविपरीत भएको भन्दै आलोचना गरेको छ। कांग्रेस म्याग्दीका पूर्वसभापति एवं संविधानसभा सदस्य रेशमबहादुर बानियाँले राजनीतिक प्रतिबद्धताविपरीत भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित: ६ कार्तिक २०७७ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App