६ चैत्र २०८० मंगलबार
राजनीति

‘रअ’ प्रमुखको दौडधुप

भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौं आउनुमा सत्तारूढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको दाबी सुरक्षा अधिकारीहरूको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारूढ दल नेकपामा किचलो देखिएकाले सुरक्षा अधिकारीहरू गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् । ‘सीमा विवाद र सत्तारुढ दलमा देखिएको किचलोबाहेक नेपालमा रअको कुनै औपचारिक बिजनेस छैन,’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीले भने ।  

यसअघि रअका अधिकारीहरू नेपाल भ्रमणमा आउँदा राष्ट्रिय अनुसन्धान विभागका अधिकरीहरूसँग समन्वय हुन्थ्यो तर अहिले भने उनीहरूले भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालयसँग कूटनीतिक अधिकारीहरू आउने भन्दै विशेष विमानका लागि अनुमति मागेका थिए । त्यसैअनुसार परराष्ट्रले कूटनीतिक व्यक्तिहरूका लागि भन्दै गरेको विशेष विमानको सिफारिसलाई हेर्ने हो भने नेपाल–भारत सम्बन्ध सुधारका लागि रअ प्रमुखको भ्रमण केन्द्रित भएको अनुमान पनि कतिपयको छ । रअका प्रमुखसहितका अधिकारीहरू परराष्ट्रको सिफारिसकै आधारमा विशेष विमान (आइएफसी ४६२०) बाट बुधबार दिउँसो पौने १ बजे काठमाडौं आएकाले सीमा विवादलगायत सम्बन्ध सुधार अजेण्डा हुन सक्ने आंकलन पनि छ । त्यसो त रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभए पनि सीमा विवादबारे विभिन्न दलका नेताहरूसँग उनले छलफल गर्ने कार्यक्रम भएको एक उच्च अधिकारीले जानकारी दिए । तर, कुन तहको राजनीतिक भेटघाट भन्नेबारे भने केही खुलेको छैन ।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ । तर उनीहरूले सत्तारूढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ ।  

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ । तर उनीहरूले सत्तारूढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ । ‘नक्साल र सानेपास्थित होटलमा उनीहरूले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफैं सहभागी भएका छन् । केके विषयमा छलफल भयो भन्नेबारे केही खुलेको छैन ।’  

काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूले त्रिभुवन विमानस्थलबाट रअका प्रमुखलाई एउटा निजी गाडीमा राखेर दूतावास लगेका थिए । त्यसपछि टोलीमा आएका अधिकारीहरू कतिपय भेटघाटमा सामूहिक र कतिपयमा आपसमा बाँडिएर छलफलमा सहभागी भएको सुरक्षा अधिकारीहरूको भनाइ छ । यस हिसाबले पनि उनीहरूको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।  

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे कात्तिक तेस्रो साता नेपाल आउने तयारी गरिरहेका बेला ‘रअ’ को विशेष टोली काठमाडौं आउनुलाई संयोग मात्रै मानिएको छैन । रअ प्रमुखको भ्रमण दुई देशको सम्बन्ध सुमधुर गर्नेमा केन्द्रित हुने एक नेताले बताए पनि त्यसलाई पत्याउने आधार भने देखिएको छैन । ‘पछिल्लोपटक चीनको राजनीतिक र कूटनीतिक सक्रियता बढेका बेला रअ प्रमुखको नेपाल भ्रमण बिनाउद्देश्य छ भन्न सकिन्न,’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीले भने । उनका अनुसार अहिले सत्तारुढ दलमा देखिएको विवादमा खेल्नु नै मुख्य उद्देश्य हुन सक्छ ।  

विशेष विमानका लागि स्वीकृति दिन सिफारिस गरेको परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने रअ प्रमुखको नेपाल भ्रमणबारे अनभिज्ञता प्रकट गरेका छन् । उनीहरूले निजी भ्रमण भएकाले यसमा आफनो सरोकार नरहने जनाएका छन् । रअ प्रमुख नेपाल अवतरण हुनुअघि नै राष्ट्रिय अनुसन्धान विभागले यसबारे चासो राखेको थियो । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र भातीय दूतावासमा चासो राख्दा भारतीय दूतावासले भने निजी भ्रमण भएकाले जानकारी दिन आवश्यक नरहेको जनाएको थियो ।

प्रकाशित: ६ कार्तिक २०७७ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App