७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसमा विमलेन्द्रलाई गोपालमानको काउन्टर

फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेगरी तय गरिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका आकांक्षी भने एकपछि अर्को गर्दै थपिन थालेका छन्। महाधिवेशनको नयाँ मिति तय गर्न बोलाइएको केन्द्रीय समिति बैठक पनि केन्द्रीय सदस्यहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि अनिश्चित बन्न पुगेको छ। तर नेतृत्वका लागि नेताहरूको दौड भने रोकिएको छैन। कांग्रेस नेता तथा कार्यकर्ताले १३औं महाधिवेशनमा जस्तै आगामी महाधिवेशनमा पनि वर्तमान सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरेका थिए तर पछिल्ला दिनमा भने स्थिति अलिक फेरिएको छ।  

मध्य साउनसम्म संस्थापन समूहबाट देउवामात्र सभापतिको एकल उम्मेदवार देखिएका थिए। उनी निकट अन्य कुनै नेताले नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिएनन्। तर उपसभापति विमलेन्द्र निधिले साउन २९ गते देउवालाई भेटेर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने मन बनाएको बताएसँगै संस्थापन समूहबाटै अर्का नेता गोपालमान श्रेष्ठले पनि दाबी प्रस्तुत गरेका छन्। निधिलाई उपसभापतिमा मनोनयन गरेपछि देउवासँग असन्तुष्ट देखिएका श्रेष्ठले नेतृत्व छाड्ने भए सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। देउवा र पौडेलपछि पार्टीमा आफू नै वरिष्ठ नेता भएको जिकिर गर्दै आएका श्रेष्ठले सभापति देउवालाई जुनसुकै अप्ठेरो समयमा साथ दिएको तर्क गर्दै अब आफूलाई सहयोग गर्नुपर्ने बताएका छन्।  

कार्यवाहक सभापति, उपसभापतिसहितका जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले सभापति बन्ने आकांक्षा राख्नुलाई अस्वाभाविक मान्न नहुने देउवानिकट एक नेताले बताए। ‘अन्य आकांक्षीको जस्तो उहाँको दाबी पुग्दैन भन्ने होइन, म पनि पार्टीको नेतृत्व गर्नसक्छु भन्ने कुरा स्वाभाविक हो,’ ती नेताले भने, ‘दाबी गर्ने र उम्मेदवार नै बन्ने फरक कुरा हो।’

उपसभापति निधिले नेतृत्वका लागि आकांक्षा देखाउँदै सक्रियता बढाएपछि उनको काउन्टरमा श्रेष्ठको दाबी आएको समेत देउवानिकटका कतिपय नेताको बुझाइ छ। ‘गोपाल दाइको दाबीले विमलजीलाई अलि अप्ठेरो बनाउँछ,’ देउवानिकट एक नेताले भने, ‘गोपालमानले तिमीलाई मान्दैन अब मै सभापतिमा उठ्छु सहयोग गर भनेर शेरबहादुर दाइले उहाँ (विमलेन्द्र निधि) लाई भन्ने बाटो भएको छ।’  

निधिनिकटकाले पनि उनी १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने पूर्ण तयारीमा जुटेको दाबी गरेका छन्। फेरि एकपटक देउवालाई भेटेर आफ्नो प्रस्ताव दोहो¥याई प्रचारमा निस्कने तयारीमा निधि रहेको स्रोतको दाबी छ।  

उता संस्थापन इतर समूहबाट पनि आधा दर्जन नेताले नेतृत्वका लागि आकांक्षा देखाउँदै आएका छन्। इतर समूहबाट नेता पौडेलका साथै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वको दाबी गर्दै आएका छन्। रामशरण महत र अर्जुननरसिंह केसीले पनि सहमति बन्न नसके सभापतिमै उम्मेदवारी दिने बताउँदै आएका छन्। १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका कृष्णप्रसाद सिटौला र उनको समूहको आगामी महाधिवेशनमा कस्तो भूमिका हुन्छ, अझै निश्चित छैन।  

नेतृत्वका लागि धेरै नेताले दाबी प्रस्तुत गरेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले भने, ‘अन्तिम समयमा धु्रवीकरण हुन्छ। सबैजना उम्मेदवार बन्नुहुन्छ जस्तो लाग्दैन।’ नेतृत्वको आकांक्षीमध्ये वर्तमान सभापति देउवा फेरि पनि उम्मेदवार बन्ने, कोइराला परिवारबाट शशांक र शेखरमध्ये एकजना उम्मेदवार बन्ने, तीबाहेक बढीमा दुईजनासम्म उम्मेदवार बन्नसक्ने एक नेताले दाबी गरे। ‘अहिले सबैले आआफ्नो भाउ बुझिरहेका छन्,’ उनले भने, ‘हारे पनि केन्द्रीय सदस्य भइहालिन्छ र अवस्था पनि ठीकै हुन्छ भन्ने लाग्यो भने पाँचजनासम्म सभापतिको उम्मेदवार देखिन सक्छन्।’

१३औं महाधिवेशनदेखि सभापतिमा उठ्ने र हारेपछि भाग खोज्ने नराम्रो परम्परा सुरु भएको जनाउँदै कांग्रेस नेता रामहरि खतिवडाले आगामी महाधिवेशनमा पनि त्यसले बढावा पाउने सम्भावना बढेको बताए। ‘सभापतिको उम्मेदवार बन्दा गुटगत भाग पनि पाइने भएपछि सबैको ध्यान त्यतै केन्द्रित भएको छ, त्यसको अन्त्य हुनुपर्छ,’ खतिवडाले भने, ‘यो प्रवृत्तिले पार्टी, देश र जनताको हित गर्दैन। इमानदार नेता तथा कार्यकर्ता पाखा पर्छन्, चाकडीबाज हाबी हुन्छन्।’

आधा दर्जन नेताका आआफ्नै दाबी  

पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्दै एकतावद्ध बनाएर अघि बढाउने उद्घोषसहित देउवा कांग्रेस नेतृत्वमा पुगेका थिए। तर अहिले उनी विधिविधानअनुसार अघि बढ्न नसकेको भन्दै आलोचित बनेका छन्। उनले कांग्रेसलाई पुरानै अवस्थामा पु¥याएर मात्र विश्राम लिने जनाउँदै एक कार्यकालका लागि सहयोग गर्न निकटका नेताहरूलाई आग्रह गर्दै आएका छन्।

अर्का नेता पौडेलले आफ्नो राजनीतिक जीवनको अन्तिम मौका भन्दै सहयोगका लागि आग्रह गरेका छन्। आफ्ना सहकर्मी प्रधानमन्त्री र पार्टी सभापति दुवै भए पनि आफू हुन नपाएको गुनासो गर्दै आएका पौडेलले निष्ठा र इमानका लागि पनि नेतृत्वमा आफुलाई पु¥याउनुपर्ने जिकिर गर्दै आएका छन्। पार्टीमा आफूले योग्यता, क्षमता र योगदानको कदर गर्ने परम्परा बसाल्ने दाबी उनको छ।  

संविधानसभाबाट जारी नयाँ संविधानको रक्षा र कम्युनिस्टहरूसँग लड्नुपर्ने समय आएको जनाउँदै उपसभापति निधिले पार्टी नेतृत्व सर्वसम्मतिले चयन गर्नुपर्ने तर्क गर्दै आएका छन्। नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्रीसमेत भइसकेको जनाउँदै निधिले सबल र एकताबद्ध पार्टी निर्माणका लागि आफू नेतृत्वमा जाने दाबी गरेका छन्।  

महामन्त्री शशांक कोइरालाले आफूसँग बिपी कोइरालाको लिगेसी पनि रहेको भन्दै गौरव गर्न लायक कांग्रेस निर्माणका लागि नेतृत्व लिन चाहेको बताएका छन्। पार्टी नेतृत्व सम्हाल्नु आफ्ना लागि राजनीतिक बाध्यता भएको शशांकको दाबी छ।  

पूर्वउपसभापति गोपालमान श्रेष्ठले देउवा र पौडेलपछि आफू नै वरिष्ठ नेता भएकाले अबको नेतृत्व पाउनुपर्ने दाबी गरेका छन्। अर्का पूर्वउपसभापति प्रकाशमान सिंहले आफू सभापतिको स्वाभाविक दाबेदार भएको बताउँदै पार्टीलाई विधिविधानअनुसार हिँडाउन र पार्टीमा मूल्यांकनको परिपाटी बसाल्न आफू नेतृत्वमा पुग्नुपर्ने तर्क गरेका छन्।

उता शेखर कोइरालाले जिल्ला तहका नेता तथा कार्यकर्ताको भावनाअनुसार आफू नेतृत्वमा जानुपर्ने बताएका छन्। एक कार्यकालका लागि मात्र नेतृत्व लिने बताउँदै आएका उनले पार्टीलाई एकताबद्ध बनाउने दाबी गरेका छन्। पार्टीमा नयाँ र पुरानो पुस्तालाई समेटेर जुझारु कांग्रेस बनाउन आफू नै नेतृत्वमा पुग्नुपर्ने उनको जिकिर छ।

संस्थापन इतरका नेता पौडेलसहित कृष्णप्रसाद सिटौलासम्मलाई मिलाउन सक्रिय छन् नेता अर्जुननरसिंह केसी। सहमतिबाट एउटा उम्मेदवार बन्ने अवस्था नआए मैले मात्र किन त्याग गर्नुपर्ने भन्ने उनको भनाइ छ। राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत रहेका नेता महत आकांक्षीहरूबीच समझदारी निर्माण नभए आफू पनि सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन्। १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका पूर्वामहामन्त्री सिटौलाले भने अहिलेसम्म सभापतिमा उम्मेदवारी दिने वा नदिने खुलाएका छैनन्। उनले आफ्नो छुट्टै समूह रहेको र समय आएपछि निर्णय लिने बताउँदै आएका छन्।

प्रकाशित: ५ कार्तिक २०७७ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App