७ वैशाख २०८१ शुक्रबार
राजनीति

कोभिड-१९ को महामारीविरूद्धको लडाइमा सरकार जनताको साथमा छः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले तोकेका कोभिड–१९ का अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताएका छन्। मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोभिड १९ को महामारीविरूद्धको लडाइमा सरकार जनताको साथमा रहेको जानकारी दिए।

“विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपाङ्गता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ।,” उनले भने, “यो वर्गमा नपरेका सबै कोभिड १९ को उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिश गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ।”

उनले निशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्दा कुनै पनि निकाय वा व्यक्तिको सिफारिश आवश्यक नपर्ने गरी सहज विधि र प्रणालीको व्यवस्था गरिएको उल्लेख गरे।  

उनले अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ शैय्याको अस्पताल स्थापना गरी संचालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको र यस कार्यले स्थानीय तहमा अस्पताल सेवका लागि ३ हजार २ सय ४५ शैय्या थपिने जनाए।  

जिल्लास्थित ५८ अस्पताललाई २५ र ५० शैय्यामा स्तरोन्नति गर्दा ९ सय २२ बेड, साबिकका ११ अंचल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई २ सय शैय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्दा १ हजार ३५ शैय्या र प्रदेश स्थित ७ सङ्घीय अस्पताललाई ५ सय शैय्यामा स्तरोन्नती गर्दा १ हजार गरी जम्मा शैय्या संख्या ६ हजार २ सय २ थप गर्ने कार्य अगाडि बढेको मन्त्री ढकालले बताए।  

हालसम्म देशभरीका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाबाट १३ लाख ९ सय १८ परीक्षण भएको मध्येमा २ लाख ३१ हजार ४ सय पाँच व्यक्तिले निजी तथा सरकारी प्रयोगशालाबाट शुल्क तिरी परीक्षण गराएको उनले जानकारी दिए। मन्त्री ढकालले कोभिड बिमा वा स्वास्थ्य बिमा वा अन्य किसिमका व्यवस्थाबाट समेत स्वास्थ्य परीक्षण र उपचारको प्रबन्ध समेत गरिएको उल्लेख गरे।  

सरकार जनताको साथमा

मन्त्री ढकालले सरकार जनताको साथमै रहेको भन्दै कोभिड १९ को महामारीविरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो सम्बन्ध स्थापित गर्न जरूरी रहेको औल्याए। “सबै तहका सरकार, राजनीतिक दलहरू, समुदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट विगतमा झै सहयोगको अपेक्षा गरेका छौं।” उनले भनेका छन्, “यो जोखिमको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सञ्चारको आवश्यकता पर्ने हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनामा सञ्चार क्षेत्रको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा समेत सघन सहयोगको अपेक्षा गरेको छु।”

प्रकाशित: ४ कार्तिक २०७७ १४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App