७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘जनताको जनस्वास्थ्यप्रति सरकार बेखबर’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण मुलुकको जनस्वास्थ्य संकटमा परे पनि सरकार त्यसप्रति बेखबर रहेको बताएको छ। पार्टी सहमहामन्त्री प्रकाशशरण महत संयोजक रहेको कोभिड—१९ अनुगमन समितिको शुक्रबार प्रतिवेदन बुझ्दै सभापति देउवाले भेन्टिलेटर, आइसोलेसन, औषधीको पर्याप्त व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

‘सरकार जनताको पिरमर्का प्रति बेखबर छ। जनताको चिन्तै छैन सरकारलाई,’ देउवालाई उद्धृत गर्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिडको महामारी फैलिरहेको छ। भेन्टिलेटर, आइसोलेसन, औषधीको पर्याप्त व्यवस्था गरिएको छैन। स्वास्थ्य सामाग्री खरिदमा समेत सरकार भ्रष्टाचारमा लिप्त भएको छ।’

संसद्को विशेष अधिवेशन बोलाएर संक्रमण रोकथामका विषयमा छलफल गर्नुपर्नेमा जोड दिँदै देउवाले संक्रमण रोक्नका लागि सरकारले कुनै पनि कार्यक्रम ल्याउन नसकेको गुनासो गरे। अहिलेको अवस्था कायमै रहे सरकारविरुद्ध विरोधका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आउने जनाउँदै देउवाले जनताको जनस्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे।

‘जनताको जीवन कष्टकर हुँदै गएको छ। त्यसमा पनि कुनै राहतको व्यवस्था सरकारले गरेको छैन,’ देउवाले भनेका छन्। देउवाले समाजिक दूरी कायम गर्न, मास्क लगाउन, पटक–पटक हात धुन र स्यानिटाइजर प्रयोग गर्नसमेत सबैलाई अपिल गरेका छन्।

महत नेतृत्वको समितिले क्वारेन्टिन र आइसोलेसनको व्यवस्था, परीक्षण, ट्रेसिङ र बिरामीको उपचारलगायतका सबै काममा सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ। जीवन बचाउने औषधिको खुलेआम कालोबजारी भइरहेको जनाउँदै महामारी नियन्त्रणमा सरकारसँग अब के गर्ने भन्ने केही कार्ययोजना नभएको समेत आरोप लगाएको छ।  

‘राजनीतिक नेतृत्व केही बोलिरहेको छैन। कर्मचारीतन्त्रबाट आउने सूचना जनतालाई होच्याउने र अक्सर विरोधाभाषपूर्ण छन्,’ समितिले भनेको छ, ‘औषधि, उपकरण र जनशक्तिको व्यवस्थापन, अस्थायी अस्पताल स्थापना, आर्थिक स्रोतको स्थानीय सरकार तहसम्म उपलब्ध गराउने काममा त सरकार नराम्ररी चुकिसकेकै छ।’

मित्र राष्ट्रहरूले महामारी नियन्त्रणका लागि उपलब्ध गराउन चाहेको सहयोग लिने तत्परतासमेत नदेखाएको, सार्वजनिक यातायात खुला गरेपछि स्वास्थ्य र सुरक्षा प्रोटोकलहरू लागु गराउन नसकेको आरोप लगाएको छ। उसले सरकारलाई आइसोलेसन निर्माणदेखिका आठ बुँदे सुझाव  दिएको छ।

प्रकाशित: १ कार्तिक २०७७ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App