८ वैशाख २०८१ शनिबार
राजनीति

बलात्कारका घटना बेकाबु भयोः मुख्यमन्त्री

मुख्य मन्त्री लालबाबु राउतबाट उत्कृष्ट ट्रफिक प्रहरीको सम्मान ग्रहण गर्दै प्रदेश २, ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख श्यामकुमार महतो । तस्बिरःमिथिलेश/नागरिक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बलात्कारका घटना बेकाबु हुन लागेकोप्रति प्रहरी प्रमुखहरुको ध्यानाकर्षण गराएका छन्। मुख्यमन्त्री राउतले बलात्कारका घटना तीव्ररुपमा बढ्न थाल्यो यसलाई रणनीति बनाएर काबु गर्न प्रदेशका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।  

‘बलात्कार जस्तो जघन्य अपराधलाई मिलापत्र लगाउने मतियारहरुलाई समेत कडा कारबाही गर्न पछि नहट्नुस्’ प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६५औं नेपाल प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले भने,‘बलात्कार घटना मिलापत्र गराउने मतियार उन्मुक्ति पाउनु हुँदैन। दोषी जो सुकै होउन दबाव वा प्रभावमा उन्मुक्ति पाउनु नहुनेमा उनको जोड थियो।’  

बलात्कार पीडितले न्याय पाउन ढिला हुने वा न्याय नपाउने अवस्था आउन नदिने तर्फ सचेत गराउँदै मुख्यमन्त्री राउतले भने,‘बलात्कारका दोषी र मतियारलाई कानूनी दायरामा ल्याउन इमान्दार प्रयत्न गर्नुस्। हामीले के सहयोग गर्नुपर्छ भन्नुस्।’

यस प्रदेशमा दलितमाथिको हिंसा पनि बढेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने,‘प्रहरी हिरासतभित्र पनि दलितको हत्या भएका छन्। घटनाको निष्पक्ष छानविन गरी दोषीलार्ई कानूनी दायरामा ल्याउन उनले प्रहरी प्रमुखलाई अग्रह गरे।  

‘अपराध गर्नेको मनोबल बढेकोले अपराध गर्नेलाई कसरी दण्ड दिने तर्फ प्रहरीको रणनीति केन्द्रित हुनुपर्छ,’ मुख्यमन्त्री राउतले भने, ‘बैज्ञानिक अनुसन्धान र ठोस नीति बनाएर अपराध नियन्त्रणमा अघि बढ्न प्रदेश सरकार समन्वय गर्न तयार छ।’

मुख्यमन्त्री राउतले ‘प्रहरी मेरो साथी’को नारालाई यथार्थमा रुपान्तरण गर्न प्रहरी नागरिकमैत्री हुनु पर्ने बताए। मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रहरी जनतासँगको सुमधुर सम्बन्ध कायम गरे मात्र ‘प्रहरी मेरो साथी’ भन्ने नारा यथार्थमा रुपान्तरण हुने राउतले बताए।

‘प्रदेश २ का जिल्लाहरु भारतीय सीमासँग जोडिएकोले अपराधसँगै तस्करीको समस्या छ,’ राउतले भने, ‘सिमानामा प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ। प्रहरीले तस्करीको नाममा समान्य व्यक्तिलाई समेत दुःख दिएको छ।’ तस्कर र बिचौलियालाई कारबाही गरी सामान्य नागरिकलाई सहुलियत दिनुपर्ने उनको भनाई थियो।  

स्रोतसाधन र पूर्वाधारको अभावमा पनि जनताको जीउ धनको सुरक्षामा अहोरात्र खटिँदै आएको प्रहरीको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले अपराधका प्रकृतिहरु फरक हुँदै गएको अवस्थामा अपराध नियन्त्रण गर्न प्रहरीलाई अत्याधुनिक स्रोतसाधन सम्पन्न बनाउन प्रदेश सरकार तयार रहेको बताए। ‘सबै ठाउँमा प्रहरी पुग्नै पर्ने तर सवारी अभाव छ,’ राउतले भने, ‘प्रहरी बस्ने घर र कार्यालयहरु अझै गतिलो छैन। कतै जीर्ण भवन त कतै छाप्रोमुनी ओत लागेर पनि प्रहरीले सेवा दिईरहेका छन्। संरचना भत्किएको छ।’ मुख्यमन्त्री राउतले भौतिक संरचना अभाव रहेको प्रहरीलाई प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा कुशल व्यवसायीक क्षमता प्रदर्शन गरेको भन्दै प्रदेश २, ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख श्यामकुमार महतोलाई उत्कृष्ट ट्रफिक प्रहरी पुरस्कारबाट सम्मानित गरिएको थियो। उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत, अमर तथा सहिद प्रहरीका परिवारजन, नेपाल प्रहरीलाई सहयोग गर्ने संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित: ३० आश्विन २०७७ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App