८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णाली विवादः दुवै समूहलाई केन्द्रकै भर

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्ता पक्षकै सांसदले २५ गते अविश्वासको प्रस्ताव दर्ता गराएपछिको विवाद समाधान गर्न नेकपाको केन्द्रीय नेतृत्वले मंगलबार काठमाडौंमा दुवै पक्षबीच छलफलको आयोजना गरेको छ। विशेषगरि उक्त बैठक अविश्वासको प्रस्ताव दर्तामै केन्द्रित हुनेछ।

विवाद समाधानका लागि केन्द्रकै भर परेका दुवै पक्षले आआफ्ना विषय शीर्ष नेतृत्वसँग राख्ने छन्। यद्दपि दुवै समूहले केन्द्रकै निर्णयमा भर परेका छन्। प्रदेशमा समस्या समाधानभन्दा अझ जटिल बन्दै गएको, कर्णालीको जस्तो समस्या अरु प्रदेशमा पनि सर्ने र पार्टी एकतामा समेत यस असर पार्ने हुँदा केन्द्र नेतृत्वले यसलाई विशेष चासो देखाएको छ। कर्णालीमा झन विवाद चर्किन थालेपछि दुवै समूह केन्द्रकै भरमा पुगेका हुन्। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सत्ता टिकाउन र अविश्वास प्रस्तावको नेतृत्वकर्ता यामलाल कँडेल समूहले अविश्वासको प्रस्ताव अगाडि बढाउने ढंगबाट केन्द्रीय नेतृत्वसँग छलफल गर्नेछ। अविश्वासको प्रस्ताव विकास निर्माणभन्दा पदका लागि भएको भन्दै मुख्यमन्त्री शाहीले भने, ‘अरु सबै बहाना हुन, मुख्य कुरा पदका लागि अविश्वास प्रस्ताव आएको हो।’ पद सडकमा जहाँ जतिबेला पनि नपाइने उनले बताए। ‘पार्टीले सिर्जित विषयमा छलफलका लागि बोलाएको छ,’ उनले भने, ‘मेरा छुट्टै विषय छैनन्। सिर्जित विषयमा छलफल हुन्छ।’

पार्टीका अध्यक्ष र शीर्ष नेताबीचमा हुने छलफल समस्या समाधानको बाटो हुने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। मन्त्री फेरबदल गर्ने कि पुरानै मन्त्रीलाई यथावत राख्ने विषयमा पनि काठमाडौंमा छलफल हुन सक्ने उनले बताए। आफूविरुद्ध लागेको आरोप झुठा भएको उनले बताए । पार्टीको छलफलबाट सरकार परिवर्तन गर्ने कुरा आफूलाई स्वीकार हुने उनको भनाइ छ। ‘हिजो मलाई पार्टीले पठाएको हो,’ उनी भन्छन्, ‘आज बोलाउँदा इमान्दारिताका साथ फर्किन्छुँ।’  

यता प्रधानमन्त्री तथा नेकपाका केन्द्रीय अध्यक्ष केपी शर्मा समूह निकटका नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले आफूहरू नेकपाको संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावलाई मूल एजेण्डा बनाउने बताए। ‘१८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको छ,’ उनले भने, ‘हामी त्यही विषयमा केन्द्रित हुन्छौं।’ पार्टी नेतृत्वले केन्द्रमा बोलाएपछि हालका गतिविधि रोकिएको भन्दै उनले भने, ‘काठमाडौंबाट एउटा निचोड ल्याएर आउँछौं।’ सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले अविश्वास प्रस्ताव दर्ता भएको उनले बताए।

पार्टी नेतृत्वले बोलाएको बैठकमा सहभागी हुन मुख्यमन्त्री शाहीसहित दुवै पक्षका सांसदहरू काठमाडौं पुगिसकेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उत्पन्न विवादका बारेमा छलफल गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भएका अर्का सहइन्चार्ज प्रकाश ज्वाला, नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाह र सांसद चन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाएका थिए। दुवै पक्षसँग पार्टी नेतृत्वले २९ गते (मंगलबार) छलफल गर्नेछ।

प्रदेशसभामा दल र सरकारको नेतृत्व गरेका मुख्यमन्त्री शाहीले दुवैतर्फ प्रभावकारी काम गर्न नसकेकाले अविश्वास प्रस्ताव दर्ता गरिएको पत्रकार सम्मेलनमा सांसद कँडेलले बताए। ‘पटकपटक पार्टी र संसदीय दलको बैठकमा छलफल गर्दा पनि सरकार र दलको नेतृत्व प्रभावकारी हुन नसकेपछि अविश्वास प्रस्ताव दर्ता गरेका हौं,’ कँडेलले भने। अविश्वास प्रस्तावमा मुख्यमन्त्री शाहीका कारणले जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको आरोप लगाइएको छ। मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसद कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो। शाही पूर्वमाओवादी र कँडेल पूर्वएमाले खेमाका हुन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन्। तीमध्ये पूर्वएमाले खेमाबाट २० र पूर्वमाओवादी पक्षबाट १३ जना छन्। अविश्वासका प्रस्तावमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समूहका आठ, वरिष्ट नेता माधवकुमार नेपाल समूहका सात र तत्कालीन नेकपा माओवादी समूहका तीनजनाले हस्ताक्षर गरेका थिए।

प्रकाशित: २८ आश्विन २०७७ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App