६ वैशाख २०८१ बिहीबार
राजनीति

नयाँ नक्सा निकाल्दा विरोध गर्ने भारतीय सेना प्रमुख नरावणे आउँदैछन् नेपाल

भारतका सेना प्रमुख मनोज मुकुन्द नरावणे

भारतले मिचेको भूमिसमेत समेटेर नेपालले नयाँ नक्सा जारी गर्दा अवाञ्छित अभिव्यक्ति दिएका भारतका सेना प्रमुख मनोज मुकुन्द नरावणे नेपालको भ्रमण गर्न आउने भएका छन्।  

नेपाली सेनाले बुधबार विज्ञप्ति जारी गरी उनी कात्तिकमा नेपाल आउने जानकारी दिएको हो। 

कोरोना महामारीका कारण दुवै देशमा लागू बन्दाबन्दी (लकडाउन) ले गर्दा रोकिएको मित्रराष्ट्रका स्थलसेनाध्यक्ष जनरल नरावणेको नेपाल भ्रमण कात्तिकमा हुने भएको हो। तर गते तोकिएको छैन।

त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाको मुख्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।  

सेनाध्यक्ष भएपछि नरवाणे पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। नेपाल र भारतका सेना प्रमुखले जिम्मेवारी सम्हालेपछि एकअर्काको देशमा गएर सेना प्रमुखको मानार्थ उपाधि लिने चलन छ। हाम्रा प्रधानसेनापति पूर्णचन्द्र थापाले यसअघि नै भारत पुगेर उक्त उपाधि लिइसकेका छन्।

गत जेठमा नेपालले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्दा कूटनीतिक मर्यादासमेत भुलेर भारतीय सेना प्रमुख नरावणेले चीनलाई संकेत गर्दै नेपालले तेस्रो मुलुकको आडमा नक्सा जारी गरेको भनी टिप्पणी गरेका थिए।

यस्तो अवस्थामा नरवाणेले गर्न लागेको नेपालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।  

प्रकाशित: २८ आश्विन २०७७ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App