८ वैशाख २०८१ शनिबार
राजनीति

दुई तिहाइले टुंगीयो नाम र राजधानी

प्रदेश स्थापनाको झण्डै ३१ महिनापछि मंगलबार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाएको छ। बुद्धजन्मस्थल लुम्बिनीको नामबाट प्रदेशको नाम ‘लुम्बिनी’ र भौगोलिक हिसावले १२ जिल्लाको केन्द्रमा पर्ने दाङको राप्ती उपत्यकाको देउखुरी क्षेत्र ‘भालुवाङ’मा स्थायी राजधानी बन्ने भएको हो। मंगलबार सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको दुई तिहाइ मतले स्थायी राजधानी र नाम पारित भएको घोषणा गरे।

गत शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए। सुरुदेखि प्रदेशको नाम राजधानी तोक्न दवाव झेल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीकाबीच नेकपा दुई अध्यक्षलाई दाङ राजधानीका लागि सहमत बनाउन सफल भएपछि प्रदेश सरकारले प्रस्ताव पेस गरेको हो। राजनीतिक छलफल परामर्श या सहमतिको प्रयास नै नगरेको आरोप आफ्नै दलका सांसदको लगाएका छन्।

मंगलबार भएको मतदानमा कुल ८७ सदस्य मध्ये राजधानीका लागि ८२ मत खसेको थियो। दाङका पक्षमा ६९ र विपक्षमा १३ मत खसेको प्रदेशसभा सचिवालले जानकारी दिएको छ। नेकपाका ६०, कांग्रेसका ५, जनता समाजवादीका ४ जना सांसदले दाङको पक्षमा मतदान गरेका थिए। प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद डिल्ली चौधरी, शंकर गिरी, अर्जुनकुमार श्रेष्ठ, भुवनेश्वर चौधरी र याकुव अन्सारीले दाङको पक्षमा मतदान गरेका छन्।

कांग्रेसका सचेतक सुरेन्द्र हमाल मंगलबार उपस्थित भएका थिएनन्। जनता समाजवादीका कल्पना पाण्डे र सन्तोष पाण्डे तथा राजमोका तारा जिसीले एक पक्षीय रूपमा विकल्प रहित प्रस्ताव ल्याएको भन्दै बहिष्कार गरे।नामको प्रस्तावमा कुल ८३ मत खस्यो। लुम्बिनी नामका पक्षमा ७९ र विपक्षमा ४ मत खसेको छ।

हालको अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी भालुवाङ करिब एक सय किलोमिटर पश्चिममा पर्छ। सुरु देखि नै राजनीतिक प्रतिष्ठाको विषय बनाइएको स्थायी राजधानी र नामकालागि अध्यन गरी जनभावनाअनुसार तोक्ने भन्दै एक वर्ष अघि विशेष समिति गठन गरिएको थियो।

साझा मनोविज्ञानको ठाँउ खोज्दा भालुवाङ भेटियो: मुख्यमन्त्री
मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी १२ जिल्लामा फैलिएको बताए। उनले भने, ‘६ जिल्लामा मात्रै रहेको लुम्बिनीको पहिचानलाई १२ जिल्लामा फैलाउँदै प्रदेशको नाममा रूपमा स्थापित भएको छ।’ अबदेखि लुम्बिनीवासी भएको बताउँदै रूपन्देही र यस क्षेत्रको विकासमा प्रदेश सरकार लागि पर्ने उनले बताए। रूपन्देही, नवपलपरासी र कपिलवस्तु पर्यटकीय राजधानीका रूपमा स्थापित गर्ने उनको जोड थियो।संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशवासीको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने सबैभन्दा उपयुक्त ठाँउ खोज्दा दाङको भालुबाङ नै फेला परेको बताए। अब एक वर्षभित्रै स्थायी डिपिआर तयार गरी अर्को वर्षबाट संचरना निर्माण सुरु हुने उनले बताए। नाम र राजधानीका सम्बन्धमा राजनीतिक सहमती नखोजीएको भनेर हल्ला मात्रै गरिएको भन्दै उनले कांग्रेसको केन्द्रीय नेतृत्व र रूपन्देहीका केन्द्रीय नेतासँग पटक पटक आफूले छलफल तथा वार्ता गरेको उनले बताए।

सरकार निरंकुश भयो: प्रतिपक्ष
प्रमुख प्रतिपक्ष दलका नेता बिरेन्द्र कनौडीयाले दुई तिहाइको दम्भमा सरकारले निरकुंशता प्रदर्शन गरेको आरोप लगाए। कोरोनाको महामारीले आक्रान्त बनेको र आर्थिक संकटले जनता थिचिएका बेला मुख्यमन्त्रीले आफ्नो गृह जिल्लालाई राजधानी बनाउन झुक्काएर प्रस्ताव ल्याएको उनको भनाइ थियो। नाम र राजधानी जस्तो विषयमा पनि सरकारले राजनीतिक सहमती र संवादको प्रयास नै नगरी जबरजस्ती गर्न खोजेको उनले आरोप लगाए। ‘राजनीतिक संवाद पनि नगर्ने पेलेर पनि जाने,’ नेता कनौडीयाले भने, ‘यो त सरासर लोकतन्त्रको खिलाफमा भयो।’

प्रकाशित: २१ आश्विन २०७७ ०२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App