७ वैशाख २०८१ शुक्रबार
राजनीति

जनप्रतिनिधि-कर्मचारीबीच समन्वय नहुँदा अस्तव्यस्त गाउँपालिका

जिल्ला समन्वय समितिमा आयोजित समीक्षा कार्यक्रम। तस्बिर: भीम/नागरिक

स्थानीय तह अर्थात गाउँका सिंहदरबार। उनीहरुका काम जनपक्षीय छन्? संविधानको मर्म र भावनाअनुरुप छ? केहीले राम्रो काम गरेका पनि छन्। तर, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय नहुँदा कतिपयको अवस्थामा भने लथालिङ्ग छ। 

जिल्लाको फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधि–कर्मचारीबीच ‘हात हालाहाल’कै अवस्था आयो। जिल्ला सदरमुकाममा आयोजित समीक्षा बैठकमा जनप्रतिनिधि–कर्मचारीबीचको विवाद छताछुल्ल भयो।

आर्थिक वर्ष २०७६/०७७ मा स्थानीय तह र विषयगत सरकारी कार्यालयले गरेको गतिविधिबारे समीक्षा बैठक चलिरहेका बेला आफ्नो गाउँपालिकाको विवरण प्रस्तुत गर्न प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे पोडियममा उक्लिए। र, सुरुमै भने, ‘म सरुवा भएर आएको २३ दिनमात्रै हुँदैछ, म आफूले नचिनेका कर्मचारी र नदेखेका जनप्रतिनिधिले गरेको कामको विवरण सुनाउँदैछु।’ उनको आशय थियो– कुन काम र खर्च कसरी भयो भन्ने नसोध्नू, त्यसको जवाफ आफूसँग छैन।  

तर, सभाहलको अघिल्तिर बसिरहेका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले प्वाक्क सोधे, ‘आकस्मिक कोषमा कसरी १ लाखमात्रै ?’ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जवाफ दिए, ‘मलाई थाहा भएन हजुर।’ घिमिरेले जति विवरण प्रस्तुत गरे, धेरैजसो प्राविधिक  रूपमै अस्पष्ट थिए। र, बुझिएको विवरणमा गरिएको प्रश्नमा घिमिरेको जवाफ चित्तबुझ्दो थिएन। किनभने, उनी भर्खरै सरुवा आएकाले ती विवरणबारे आफू नै स्पष्ट थिएनन्।

‘कर्मचारी चाहिँ कतिजना हुनुहुन्छ ?’ प्रजिअ सेढाईंले अर्काे प्रश्न गरे। घिमिरेले जवाफ दिए, ‘म एक्लै। त्यो पनि १ महिना पनि भएको छैन आएको। विषयगत शाखाबाट जे विवरण आयो, त्यही लिएर आएको छु।’ घिमिरेले गाउँपालिकामा ३१ कर्मचारीको दरबन्दी रहेकामा १५ जना कार्यरत रहेको र त्यसमा पनि स्थायी कर्मचारी आफूसहित २ जनामात्रै रहेको बताए। उनले विषयगत शाखाका कर्मचारीले पनि पञ्जीकरणको काम गर्नुपरेको जनाए। र, थपे, ‘विधिविधानले त मान्दैन हजुर तर हाम्रो गाउँपालिकामा करार सेवाका कार्यालय सहयोगीले समेत वडा सचिवको काम गर्नुपरेको छ।’

जिल्ला समन्वय समितिको सभाहलमा भेला भएका राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सभासद्हरू, जिल्ला समन्वय समिति प्रमुख, जिल्लाका दशै स्थानीय तहका प्रतिनिधि र सरकारी कार्यालयका प्रमुख÷प्रतिनिधिबीच फाकफोकथुम गाउँपालिका आफ्नो वर्षदिनको गतिविधि प्रस्तुत गर्दैथियो।  

आफ्नो गाउँपालिकाको गतिविधिमा प्रश्नैप्रश्न तेर्सिएपछि र हलमा सहभागीले हासोले ‘उडाउन’ थालेपछि अध्यक्ष रामबहादुर श्रेष्ठ जवाफ दिन उठे। ‘हुन त बजेट हामीले नै विनियोजन गरेको हो तर कसरी खातामा आय र व्यय बराबर पारिएको छ भन्ने हामीलाई नै थाहा छैन,’ उनले आफ्नो गाउँपालिकाका कर्मचारीप्रति लक्षित गर्दै भने, ‘सदरमुकामै बसेका राजा–महाराजा (कर्मचारी)ले के–के विवरण बनाए, यहाँ सुनाए हामीसँग कुनै सल्लाह भएन।’  उनी त्यत्तिमै रोकिएनन्। उल्टै घिमिरेलाई प्रश्न गरे, ‘हाम्रोमा डेढ सय बेडको क्वारेन्टिन छ तर यहाँ ३ सय बेडको भन्ने डाटा कसरी प्रस्तुत गरियो ?’ उनको भनाइ नसकिँदै प्रजिअको अर्काे प्रश्न तेर्सियो– त्यो अवधिमा ४० जना क्वारेन्टिनमा बसेछन्, खर्च चाहिँ २६ लाखभन्दा बढी ?’

अध्यक्ष श्रेष्ठले कर्मचारीले यहाँ प्रस्तुत गर्ने विवरण आफूले अघिल्लो दिन हेर्न माग्दा ‘जिल्लामै भोलि हेरौंला’ भन्ने जवाफ पाएको, कर्मचारीले कार्यालय सदरमुकामै सारेको (सदरमुकाम नै बसेको), चेकमा हस्ताक्षरमात्र गर्न जान्ने (अक्षम) कर्मचारी आएकोजस्ता दर्जनौं आरोप लगाए। अध्यक्षले विशेषगरी प्रमुख प्रशासकीय अधिकृत घिमिरेबाहेकका कर्मचारीमाथि आरोप खन्याइरहे। तर, घिमिरेले मुख फर्काएनन्। सभाहलको अवस्था असामान्य बन्ने संकेत बुझेपछि जिसस प्रमुखलगायत आयोजकले प्रस्तुति छिटो सक्न घिमिरेलाई आग्रह गरे।

प्रस्तुति सकेर घिमिरे हलबाहिरमात्र के निस्केका थिए, अध्यक्ष श्रेष्ठ बाहिरै आइपुगे। र, थर्काए– ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन, कुन जड्याहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ एउटा समूहकै बीच अध्यक्ष श्रेष्ठले घिमिरेलाई भन्दा पनि आफ्नै पालिकाको शाखाका अरू कर्मचारीलाई थर्काए, ‘हिसाबकिताब अहिले भएन भने अख्तियारलाई भाटेकारबाही म गराइदिन्छु।’  

उनी आफूलाई असफल पार्ने षड्यन्त्र गरिएको भन्दै आक्रोशित देखिए। उनले लेखा शाखाका कर्मचारी सरकारी तलब खाएर सदरमुकाममै बसेको र आफूहरूसँग सल्लाह नै नगरेको बताए। प्रजिअ सेढाईंले समीक्षा कार्यक्रममा अन्य स्थानीय तहको समेत मनोबल बचाउन फाकफोकथुम गाउँपालिकाको कार्यविवरणको प्रस्तुति बीचमै छोट्याउन लगाइएको बताए।

अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष सरस्वती राई सरुबीच बेला–बेला विवाद हुनेगरेको थियो। गतवर्ष गाउँपालिकाको सवारी साधनको विषयमा भएको विवादले अध्यक्ष–उपाध्यक्षबीच बोलचालसमेत बन्द भएको त्यतिबेला कार्यरत कर्मचारीले बताएका थिए। केही महिनाअघि जनप्रतिनिधिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि नै आक्रमण प्रयास गरेको खबर आएको थियो।  

जनप्रतिनिधिबीचको आपसी विवाद र जनप्रतिनिधि–कर्मचारीबीचको समन्वय अभावले गाउँपालिको सेवा प्रत्यक्ष प्रभावित भएको स्थानीय सेवाग्राहीको गुनासो छ। जनप्रतिनिधिले आफूहरूमाथि ‘अभद्र’ व्यवहार गर्ने डरले यहाँ कर्मचारी सरुवा भएर जान नरुचाएको कर्मचारी स्रोत बताउँछ। ‘कोही झुक्किएर गयो भनेमात्रै, नभए फाकफोकथुम गाउँपालिकामा कुनै स्थायी कर्मचारी जान मान्दैन,’ जिससका एक कर्मचारी भन्छन्, ‘बल्ल–बल्ल पुगेको कर्मचारीसमेत काम गर्ने वातावरण छैन भन्दै अन्यत्र सरुवा माग्न आउँछन्।’  

३ वर्षको अवधिमा फाकफोकथुम गाउँपालिकामा ४ प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। कार्यालय चलाउने कर्मचारी नभएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए। यसअघिसम्म लोकसेवा आयोगमा पनि कर्मचारी माग नभएको र भर्खरैमात्र माग भएको उनले जनाए। ‘गाउँपालिकाको वित्तीय प्रगति त शतप्रतिशत नै छ तर मैले भौतिक प्रगति चाहिँ अवलोकन गर्न पाएको छैन,’ उनले भने।

प्रकाशित: १३ आश्विन २०७७ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App