८ वैशाख २०८१ शनिबार
राजनीति

सार्क सम्मेलन छिट्टै गर्न प्रस्ताव

नेपालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन छिटै आयोजना गर्न व्यावहारिक विकल्प अघि सार्न सदस्य मुलुकहरूसँग आग्रह गरेको छ । बिहीबार आयोजित सार्क सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो प्रस्ताव अघि सारेका हुन् ।  

मन्त्री ज्ञवालीले सार्कलाई दक्षिण एसियाली जनताको जीवनमा देखिनेगरी परिवर्तन गर्न सक्षम, प्रभावकारी र नजितामुखी संगठनका रुपमा विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले कोभिड १९ विरुद्ध सामूहिक रुपमा लड्न र महामारीको प्रभाव कम गर्न क्षेत्रीय लचकता विकास गर्दै एकअर्कामा गहिरो ढंगले जोडिन आवश्यक रहेको बताए ।

बैठकमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सार्कले ३५ वर्षको अवधिमा निकै महत्वपूर्ण प्रगति गरेको चर्चा गर्दै सामूहिक सहकार्य र समृद्धिको प्रयासमा आतंकवादी क्रियाकलाप र राष्ट्रिय सुरक्षामा देखिएको खतराले असर पारेको बताए । बैठकमा सबै सदस्य मुलुकका विदेशमन्त्रीको सहभागिता थियो ।  

हरेक वर्ष संयुक्त राष्ट्रसंघ महासभाको साइडलाइन बैठकका रूपमा आयोजना हुने सार्क विदेशमन्त्रीस्तरीय बैठक यस वर्ष कोरोना संकटका कारण भर्चुअल रूपमा आयोजना गरिएको हो । सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले उक्त बैठक आयोजना गर्न अग्रसरता लिएको थियो । बैठकको तयारीका लागि गत भदौ पहिलो साता परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा चारसदस्यीय प्रतिनिधिमण्डल गठन भएको थियो । सन् २०१४ मा काठमाडौमा १८औं सार्क शिखर सम्मेलन सम्पन्न भएको लामो समय भइसक्दा पनि १९औं शिखर सम्मेलन आयोजना हुन सकिरहेको छैन । सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा १९औं सार्क शिखर सम्मेलन गर्ने तय भएको थियो । तर सोही वर्ष भारतको उरीमा आतंकवादी हमला भएसँगै भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउँदै शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेको थियो । त्यससँगै शिखर सम्मेलन आयोजना अनिश्चित बन्दै आएको छ । जसले गर्दा सार्क नै गतिहीन बनेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको प्रभाव दक्षिण एसियाली मुलुकमा पनि पर्न थालेपछि गत मार्च १५ मा महामारीविरुद्ध एक भएर लड्न सार्कका सरकार प्रमुखस्तरीय भर्चुअल बैठक आयोजना भएको थियो । उक्त बैठकमा अन्य सदस्य मुलुकका सरकार प्रमुख तथा पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका सल्लाहकार सहभागी थिए । सो बैठकमा सबैले कोभिडविरुद्ध एक भएर लड्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यस्तो देखिएन । सार्कको वर्तमान अध्यक्ष मुलुकका हिसाबले नेपालले शिखर सम्मेलनका लागि पटकपटक प्रयास गर्दै आएको छ । तर दुई परमाणु अस्त्र सम्पन्न मुलुक भारत र पाकिस्तानबीचको विवादले शिखर सम्मेलन आयोजना हुन सकिरहेको छैन ।

प्रकाशित: ९ आश्विन २०७७ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App