coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रसंघलाई बहुपक्षीय केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीय केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको ७५औं वार्षिकोत्सवका अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विश्वले हाल सामना गरिरहेको जटिल समस्यालाई सामना गर्न संघको भूमिका सशक्त बनाउनुपर्नेमा जोड दिएका हुन्।

कोभिड–१९ को महामारीका कारण बैठकमा भौतिक सहभागिताको सम्भावना नभएपछि प्रधानमन्त्री ओलीको सम्बोधन पहिले नै रेकर्ड गरेर युएनमा पठाइएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले एकता, ऐक्यबद्धता र सहयोगको विकल्प नभएको भन्दै ती मूल्यमान्यतालाई पुनः पुष्टि गर्दै कथनभन्दा अघि बढेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे। उनले राष्ट्रसंघलाई समयबद्ध रुपमा सुधार गर्दै न्यायपूर्ण र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था स्थापना गर्ने निकायका रुपमा विकास गर्नुपर्ने बताए। राष्ट्रसंघका तीन खम्बा शान्तिसुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपालसँगको साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै उनले नेपालले विगत ६ दशकदेखि संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा समर्पित र व्यावसायिक सेवा प्रदान गरिरहेको स्मरण गराए। नेपालको विकास प्रक्रियामा संयुक्त राष्ट्रसंघ मुख्य साझेदार रहेको बताउँदै प्रधानमन्त्री ओलीले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपालले रचनात्मक सहयोगलाई निरन्तरता दिँदै आएको बताए।

बैठकलाई विभिन्न मुलुकका ८८ जना राज्यप्रमुख र ४४ देशका सरकारप्रमुखसहित एक सय ८२ जना वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: ७ आश्विन २०७७ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App