coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हुम्लाको लिमी क्षेत्रमा पुगेका नेपाली अधिकारीलाई चिनियाँ सुरक्षाकर्मीले रोके

हुम्लाको लिमी भ्याली क्षेत्रमा पुगेको नेपाली अधिकारीहरुको टोलीलाई चिनियाँ सुरक्षाकर्मीले रोकेका छन्। उक्त क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको सूचनाका आधारमा अधिकारीहरु त्यहाँ गएका थिए। । प्रमुख जिल्ला अधिकारी चिरञ्जवी गिरीसहितको टोली लिमी क्षेत्रमा गएको छ।

प्रजिअ सहितको टोलीलाई अतिक्रमित क्षेत्रसम्म पुग्न नदिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले बताए। चीनले नेपाली भूमि अतिक्रमण गरेर घर निर्माण गरेको गुनासो आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जवी गिरीसहितको टोली लिमी क्षेत्रमा गएको थियो।  

नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले ११ घर निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले नेपालले ११ वर्षअघि खनेको सडकभन्दा दुई किलोमिटर भित्र चीनले घर निर्माण गरेको हो।

‘२०६६ सालमा नेपालले ललुङ–लिमी हुँदै सिमीकोट सडक निर्माण गरेको हो, सडक निर्माण भएको क्षेत्रभन्दा दुई किलोमिटर भित्र चीनले ११ वटा घर बनाएको छ,’ स्थलगत अनुगमन गरेर फर्केका गाउँपालिका अध्यक्ष तामाङले भने, ‘उति बेला सडक खन्दा चीनको सेना धेरै पर थियो, हामीले हाम्रै भूमिमा सडक खनेका थियौं।’ गाउँपालिका अध्यक्ष तामाङका अनुसार ललुङ क्षेत्र मानासरोवर नजिकै पर्छ। चीनले अतिक्रमण गरेको क्षेत्र लिमी उपत्यकाका स्थानीयहरुको गाई–बस्तु चराउने ठाउँ हो। चीनले तीन वर्षअघि ललुङमा तीन वटा घर निर्माण गरेको थियो। उति बेला घर बनाएपनि कोही नबसेकाले यो विषय बाहिर आएन्। ‘अहिले सो क्षेत्रमा ११ वटा घर निर्माण भएका रहेछन्,’ उनले भने, ‘नेपालीले उपभोग गर्दै आएको स्थानमा चीनले घर निर्माण गरेर बस्न थालेपछि अतिक्रमणको विषय बाहिर आएको हो।’

११ वर्षअघि सडक निर्माण गर्दा चीनले यो क्षेत्रमा दावी गरेको थिएन। अहिले घर निर्माण गरिएको क्षेत्र भन्दा अझै तीन किलोमिटर क्षेत्र आफ्नो भएको चीनले दावी गर्न थालेको छ। ‘नेपालले खनेको सडकभन्दा दुई किलोमिटर क्षेत्रभित्र पर्खालसहित चीनले पक्की घरहरु बनाएको छ,’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘अतिक्रमित भूमिमा चीनले पनि आफ्नो दावी प्रस्तुत गरेको छ, हामीले पनि आफ्नो दावी प्रस्तुत गरेका छौं।’  

चीन–नेपालको ११ नम्वर पिल्लर वर्षौदेखि हराएको छ। अहिले अतिक्रमित क्षेत्र यहीँ ठाउँमा पर्छ। गाउँपालिका अध्यक्ष तामाङले हराएको पिल्लरको राज्यले खोजी गर्नुपर्ने बताए। ‘नक्सामा पिल्लर देखिन्छ, सम्वन्धीत ठाउँमा भेटिदैंन्,’ उनले भने, ‘समयमै राज्यले यतातर्फ ध्यान नदिए नेपाली भूमि गुम्न सक्छ।’  

अतिक्रमित क्षेत्र पुगेर फर्केका सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले नेपाली भूभागमा चीनीयाँ पक्षले एकतर्फी भवन बनाएको बताए।  

 

 

प्रकाशित: ६ आश्विन २०७७ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App