८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको महाधिवेशन फागुनमा नहुने, नयाँ मिति तोक्न केन्द्रीय समिति बोलाइयो

नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नयाँ मिति तय गर्न असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकले १४औं महाधिवेशनको कार्यतालीका संशोधनसहित नयाँ मिति तोक्ने भएको हो।  

गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको महाधिवेशन उक्त समयमा नहुने निश्चित भएको छ।  

गत फागुनदेखि विधानले दिएको अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको छ।  विधानको अतिरिक्त सुविधा प्रयोग गरेर पनि पाँच वर्षभित्र महाधिवेशन गर्न नसकेपछि अब कांग्रेसले संबैधानीक व्यवस्था अनुसारको थप छ महिना समय लिनसक्ने छ।  त्यस अनुसार उसले अर्को भदौसम्ममा महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिकासहितको नयाँ मिति ल्याउन सक्नेछ।  तर, पार्टीका शीर्ष नेताहरूले संविधानको व्यवस्था अनुसार अन्तिम समयमा महाधिवेशन गर्ने मिति सार्न नहुने धारणा राख्दै आएका छन्।  कतिपयले संबैधानी व्यवस्थालाई सम्बोधन गर्न सकिएपनि पार्टीका सामु नैतिक प्रश्न खडा हुने भन्दै वैशाख वा जेठ भन्दा टाढा महाधिवेशन धकल्न नहुने तर्क गर्दै आएका छन्।  कोरोना भाइरसको बढ्दो संक्रमणले आगामी वैशाख, जेठसम्म पनि पुरानै कार्यशैलीबाट महाधिवेशन गर्न सक्ने अवस्था नभएको भन्दै महाधिवेशनलाई विकेन्द्रीत गर्नुपर्ने धारणा कांग्रेस नेताहरूको छ।  कोरोना भाइरस संक्रमणको समयलाई शून्य समय मान्ने हो भने महाधिवेशन गर्नका लागि थप पाँच महिना समय लिनसकिने तर्कपनि कांग्रेसभित्र छ। तर, महाधिवेशन कहिले गर्ने भन्नेमा नेताहरू अझै एकमत देखिंदैन।  

पटक पटक महाधिवेशनको मिति सार्दा राम्रो सन्देश नजाने बताउँदै एक पदाधिकारीले भने,‘अहिलेको अवस्थामा भदौभन्दा पहिला महाधिवेशन सम्भव छैन। ’ अहिले वैशाख वा जेठमा भने फेरि मिति सार्नु राम्रो नहुने भन्दै उनले भने,‘ कोरोना भाइरसको संक्रमण अहिले जस्तै भइराख्यो भनेपनि भदौमा कसरी महाधिवेशन सम्पन्न गर्ने विकल्पसहित नयाँ मिति तोक्नुपर्छ। ’ विधान अनुसार वर्तमान केन्द्रिय समितिको चार वर्षको कार्यकाल गत फागुनमै सकिएको छ।  विधानको व्यवस्था अनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो।  उक्त बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनीक गरेपनि आन्तरिक विवाद र कोरोना भाइरस संक्रमणका कारण पटकपटक प्रभावित हुँदै आएको छ।  जसले गर्दा गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन।  

क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम एक महिना अघि सक्नुपर्ने कांग्रेसले अहिलेसम्म कतिपय जिल्ला फारमसम्म पठाएको छैन भने सदस्यता छानविनका लागि अहिलेसम्म समितिसमेत गठन गर्न सकेको छैन।  यसैबीच, कांग्रेस नेता रामचन्द्र पौडेलले फागुनमै महाधिवेशन गर्नुपर्ने बताएका छन्।  पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै पाँच महिनामा महाधिवेशनका लागि तयारी गर्न सकिने दाबी गरेका छन्।  ‘बाँकी रहेको पाँच महिना अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो,’ पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ। ’ वर्तमान नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष भइरहेको आरोप लगाउँदै पौडेलले भनेका छन्, ‘कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि समायोजनको काम सकिएको छैन। समायोजन नै नभएपछि कृयाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो र अधिवेशन नै अन्यौलमा पर्ने स्थिति पैदा भयो। ’

 

 

प्रकाशित: ५ आश्विन २०७७ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App