८ वैशाख २०८१ शनिबार
राजनीति

‘नेपालसँगको सम्बन्धलाई उच्च महत्व’

चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल–चीन सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् । नेपालको संविधान दिवसका अवसरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले गत वर्ष राष्ट्रपति भण्डारीको चीन भ्रमण र आफ्नो नेपाल भ्रमणबाट दौत्य सम्बन्ध विकास र समृद्धिउन्मुख ऐतिहासिक मैत्रीपूर्ण रणनीतिक साझेदारीले नयाँ उचाइ लिएको बताएका छन् ।  

पछिल्लो समय महामारीका रूपमा देखिएको कोभिड १९ को पनि दुई मुलुकले मिलेर सामना गरिरहेको भन्दै उनले यसले दुई देशबीचको मित्रतालाई अझ सुदृढ र घनिष्ट बनाएको उल्लेख गरेका छन् ।  

उनले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देश र जनतालाई फाइदा हुने काम गर्ने इच्छा व्यक्त गरेका छन् ।  

संविधान दिवसकै अवसरमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाएका छन् । प्रधानमन्त्री खछ्याङले चीन र नेपाल परम्परागत छिमेकी मित्र भएको उल्लेख गर्दै पछिल्लो केही समय यता दुई देशले विभिन्न क्षेत्रका सहयोगलाई स्थिर रूपमा अघि सारेको बताएका छन् । उनले चीनले नेपालसँग मिलेर महामारीविरूद्ध संघर्ष गरिरहेको र चीन–नेपालबीच विकास तथा समृद्धिउन्मुख ऐतिहासिक मैत्रीपूर्ण रणनीतिक साझेदारीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन चाहेको उल्लेख गरेका छन् ।

प्रकाशित: ५ आश्विन २०७७ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App