७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान संशोधनको माग गर्दै जसपाद्वारा रौतहटमा विरोध प्रदर्शन

देशको संविधान जारी भएको दिनलाई हर्षोल्लासका साथ मनाउँदै साँझ दीपावली मनाउन आह्वान गरिएको भए पनि रौतहटमा संविधानको विरोध गरिएको छ।  

जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले सदरमुकाम गौरमा संविधानविरुद्ध प्रदर्शन नै गरेका छन्। संविधान आदिबासी, जनजाति, मधेसी, दलितको पक्षमा नभएको र जनताको भावनाविपरीत भएकोले संशोधनको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा प्रदेश सभामा जसपाका केन्द्रीय सदस्यहरु तथा विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले संविधानको विरोध गरेका हुन्। संविधान संशोधन गर, मधेसीको माग पूरा गर, सबैको साझा संविधान बनाऊ लगायतको माग गर्दै जसपा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका छन्।

संविधानमै भएको व्यवस्था अनुसार विभिन्न तहको उम्मेदवार बन्ने, चुनाव जित्ने, सरकारमा जाने तर त्यही संविधानको विरोध गर्ने दुई विपरीत विचारको भएको भनी आलोचना गरेका छन्। संविधानले दिएको सबै सुविधा उपभोग गर्ने र भ्रष्टाचारमा लिप्त रहेको केही स्थानीय तहका प्रमुखले पनि संविधानको विरोध कुन नैतिकताले गरेको होला भनी गौरका एक प्रबुद्धले प्रतिप्रश्न गरेका छन्।

संविधानको विरोध गर्ने जनप्रतिनिधिहरुले सबैभन्दा पहिले आफ्नो स्थानीय तहमा गरेका आर्थिक क्रियाकलापलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।

संविधान दिवसको दिन संविधानप्रति अपनत्व ग्रहण गर्न तथा संविधानमा भएका त्रुटीहरुलाई सच्याउन जनताको संघर्ष निरन्तर रहने र आजको विरोधले संविधान संशोधनको मुद्दालाई फेरि उठाएको जनता समाजवादी पार्टीका नेता किरण साहले बताएका छन्।

प्रकाशित: ३ आश्विन २०७७ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App