६ वैशाख २०८१ बिहीबार
राजनीति

कालापानी, लिपुलेक अब पाठ्यपुस्तकमा

भारतले अतिक्रमण गरेको नेपालको लिपुलेक, कालापानी लिम्पियाधुरा लगाएतका सीमा क्षेत्रको अध्ययन अब विद्यालय तहमा हुनेछ। युवा पुस्तालाई राष्ट्रको सीमा तथा भूमिबारे सही विषयबस्तु बुझाउन पाठ्यक्रम विकास केन्द्रले नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय सामाग्री सार्वजनिक गरेको छ।  

कक्षा ९ देखि १२ सम्म अध्ययन गराइने यो पुस्तिाकामा भारतद्धारा अतिक्रमित नेपालको सीमा तथा भूमिबारे तथ्य प्रमाणसहित पाठ्यबस्तुहरु समावेस गरिएको छ।  

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले अनलाइनमार्फत् पत्रकार सम्मेलन गरी पुस्तक सार्वजनिक गरेका हुन्। उनले नेपालको सिमाना जोडिएको छिमेकी मुलुकहरुसँगको सम्बन्ध, सीमा विवाद रहेको भूमागबारे जानकारीका साथै समाधानका उपायहरु समेत विद्यार्थीले पुस्तकमा अध्ययन गर्न पाउने बताए। ‘हाम्रा युवा पुस्तालाई राष्ट्रको सीमाबारे ब्यवस्थापन र सुरक्षाको ज्ञान, सिप र संरक्षणबारे सही बाटो पुस्तकले देखाउने छ,’ मन्त्री पोखरेलले भर्चुअल सम्मेलनमा भने ‘पुस्तकको मुख्य विषयबस्तु बुझाउन हाम्रा अध्येयताहरुले राजनीतिक भूगोलको सहयोग लिनु भएको छ।’ उनले थपे ‘लेखक भैरब रिजालले समेत हमीलाई मन्त्रालयमै आएर सीमा तथा भूमिबारे उपलब्ध गराएको तथ्य प्रमाणहरु समेत समोस गरिएको छ। सीमाको राष्ट्रिय मुद्धालाई बुझाउने क्रममा इतिहास, भूगोल र नापीका सिद्धान्तहरु यस पुस्तकले समेटेको छ।’

यो पुस्तक विद्यार्थी र शिक्षकलाई मात्र नभएर सर्वसाधारण तथा अनुसन्धानकर्तालाई समेत गतिलो दस्तावेज हुने मन्त्री पोखरेलले जनाए।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दहालका अनुसार पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले पुस्तकमा भारतद्धारा अतिक्रमित भूभाग कालापानि, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा प्रकाशन तथा पुस्तक लेखन कार्यको लागि असार १९ गते नै स्वीकृति दिएको थियो। तत्कालिन इष्टइन्डिया कम्पनीले १ नोभेम्बर १८१४ का दिन नेपालमाथि एकतर्फी युद्ध घोषणा गरेको र नेपालले त्यसको प्रतिकार गरेको तथ्य प्रमाणसहित पुस्तकमा उल्लेख रहेको निर्देशक दहालले बताए।  

नेपाल अंग्रेज युद्धमा भएका किल्लाहरुमध्ये बुटवलको जितगढी किल्ला एक भएको पुस्तकमा समेटिएको छ। इस्ट इन्डिया कम्पनीलाई पराजित गर्न सफल बुटवलको जितगढी किल्लाको नेतृत्व उजिरसिंह थापाले गरेको वृतान्त समेत सबैले पुस्तकमा अध्ययन गर्न पाउने उनले जनाए। सुगौली सन्धिपछि नेपाल अंग्रेज युद्धको इतिहास पनि पुस्तकले समेटेको छ।

प्रकाशित: १ आश्विन २०७७ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App