१६ मंसिर २०७८ बिहीबार
राजनीति

भत्केलान् कांग्रेसमा गुटउपगुट

‘म पार्टी नेतृत्वमा पुगे भने गुटबन्दी अन्त्य गर्नेछु। र, पार्टीलाई एकताबद्ध बनाएर लैजानेछु’ नेपाली कांग्रेसको महाधिवेशनअघि नेतृत्वका आकांक्षीले व्यक्त गर्ने पहिलो प्रतिबद्धता हो यो। दुई पार्टी मिलेर २००६ सालमा नेपाली कांग्रेस गठन भएपछि नेतृत्वका आकांक्षीले यसै भन्दै आएका छन्। तर कांग्रेसमा गुटबन्दी अन्त्य होइन, मौलाउँदै गएको छ। त्यो पनि विचार र कार्यक्रमको आधारमा होइन, व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहका आधारमा गुटहरू निर्माण हुँदै गएका छन्।

पार्टी हितको नारा दिने तर व्यक्ति र समूहकेन्द्रित स्वार्थ पूरा गर्न नेताहरू सक्रिय हुँदा कांग्रेसजन गाउँ तहसम्म गुट, उपगुट र समूहमा विभाजित छन्। पार्टी स्थापनादेखि नै दुई गुटमा विभाजित कांग्रेसमा १४औं महाधिवेशन नजिक आइपुग्दा गुट, उपगुट र समूह दर्जनजति पुगेका छन्। गुटबन्दी अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने भन्दै नेतृत्वमा पुगेका सभापति शेरबहादुर देउवा र उनका निकटतम प्रतिद्वन्द्वी नेता रामचन्द्र पौडेलले परम्परागत दुई गुटको नेतृत्व गर्दै आएका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति विजयकुमार गच्छदार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आएका सुनिल थापाले पनि फरक समूहको नेतृत्व गर्छन्। कांग्रेसबाट अलग भई मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका गच्छदार फेरि कांग्रेसमा फर्किएर उपसभापति बनेका हुन्। थापालाई ल्याउँदा सहमहामन्त्रीसहित पाँच केन्द्रीय सदस्य दिने आश्वासन नेतृत्वले दिएको बताइन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राष्ट्रिय र अन्तर्राष्ट्रिय लिगेसीसहित सुनिल कांग्रेस छिरेको विश्लेषण छ। उपसभापतिको जिम्मेवारीमा रहेका गच्छदारसँग ११ केन्द्रीय सदस्य छन्। गच्छदारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले परम्परागत दुई गुटको नेतृत्व गर्छन्। यी दुई गुटभित्र आधा दर्जन उपगुट छन्। गच्छदार, सिटौला, थापा र गुरुङ समूह सक्रिय रहेको कांग्रेसमा गुट भत्कने होइन, समीकरणमा बदलाव भने आउनसक्छ।

पार्टीभित्र आफूलाई तेस्रो धार बताउँदै आएका पूर्वमहामन्त्री सिटौला नेतृत्वको समूहसँग अहिलेसम्म केन्द्रीय सदस्यहरू गगनकुमार थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीसहितका नेता छन्। आगामी महाधिवेशनमा गच्छदार, सिटौला र थापा समूहको भूमिका के हुन्छ अझै निश्चित छैन। सिटौला दुवै पक्षसँग समदूरीमा छलफलमा रहेको निकट बताउँछन्। १३औं महाधिवेशनमा देउवालाई सहयोग गरेका पूर्वमहामन्त्री कुलबहादुर गुरुङसहितका केही नेता अहिले अलग्गै सक्रिय छन्।

त्यतिमात्र होइन, परम्परागत गुटको नेतृत्व गर्दै आएका देउवा र पौडेल गुटभित्र पनि आधा दर्जनभन्दा बढी उपगुट र समूह सक्रिय छन्। सभापति देउवा गुटभित्र उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का समूह सक्रिय छन्। देउवाले आगामी एक कार्यकाल पार्टी नेतृत्व गर्ने बताउँदै आए पनि उपसभापति निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएका छन्। पार्टी नेतृत्वका लागि देउवासँग सहयोग मागेका निधिले आफ्नो सक्रियता बढाएका छन्। उनले सभापतिमा आकांक्षा देखाएसँगै पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि आफूलाई अलग्गै प्रस्तुत गर्ने प्रयासमा जुटेका छन्। महामन्त्री खड्कासँग खुमबहादुर खड्का (निधन भइसकेका) सँग निकट गोलबद्ध छन्।

उपसभापति निधिले सभापतिका लागि तयारी गरेसँगै देउवा नेतृत्वको गुट भत्कने देखिएको छ। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्मा निधिले सभापतिका लागि आकांक्षा राख्नु स्वाभाविक भए पनि संस्थापन पक्षबाट एउटै उम्मेदवार बन्ने दाबी गर्छन्। ‘सभापति देउवा, उपसभापति निधिसहितका नेताहरूको अपसी सहमतिमै आगामी महाधिवेशनमा उम्मेदवार टुंगो लगाउँछौं,’ उनले भने, ‘उहाँहरूलाई मिल्न दबाब खडा गर्छाैं। मिलेरै अघि बढ्नुहुन्छ।’ तर निधिले नेतृत्वका लागि सक्रियता बढाएसँगै आफ्नो स्वार्थ पूरा गर्न सक्रिय नेताहरुले खेल्दा सभापति देउवासँगको निधिको दूरी बढ्दै गयो भने परिस्थिति प्रतिकूल हुनसक्ने निकटहरूको बुझाइ छ। ‘देउवा र निधि दुवै एकअर्काको सहयोगबिना नेतृत्वमा पुग्ने र टिक्ने सम्भावना छैन,’ निकट एक सदस्यले भने, ‘सम्बन्धमा उतारचढाव आयो भने अहिलेको समूह र समीकरणमा बदलाव आउन सक्छ।’

तत्कालीन सभापति सुशील कोइरालाको विरासतमा १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका नेता पौडेल समूहमा पनि आधा दर्जनभन्दा बढी उपगुट सक्रिय छन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता रामशरण महत, शेखर कोइराला र सुजाता कोइराला मात्र होइन, देउवा समूहबाट टाढिएका अर्जुननरसिंह केसीसम्म आआफ्नै ढंगबाट सक्रिय छन्। सुजाताबाहेक सबै पार्टीको मूल नेतृत्वका आकांक्षी हुन्। अन्य नेताहरूलाई मिलाएर आफ्नो स्थान सुरक्षित गर्न सक्रिय महत र केसीले नेतृत्वको दौडलाई भने तीव्र बनाइसकेका छैनन्। देउवा इतर समूहले सभापतिमा एउटा मात्र उम्मेदवार बनाउने बताउँदै आएका छन्। त्यसका लागि छलफल जारी रहेको नेताहरूले बताए पनि केन्द्रीय सदस्य कल्याण गुरुङ यो मान्न तयार छैनन्। सहमतिबाट एउटा उम्मेदवार दिने होइन, सबैले आआफ्नो दाबी प्रस्तुत गरिरहेको बताउँदै गुरुङले भने, ‘सात÷आठजना नेता मिल्न सक्नुहुन्न भने हामीचाहिँ उहाँहरुको पछि किन लाग्ने ? मैले वा अर्कोले पनि सभापतिमा उम्मेदवारी दिए भइहाल्यो।’ गुटहरू भत्कने होइन, निर्माण हुनेक्रम बढिरहेको उनको बुझाइ छ।

तर महामन्त्री शशांक १४औं महाधिवेशनपछि पार्टीमा विद्यमान गुटहरू भत्कने दाबी गर्छन्। केही दिनअघि नागरिकसँगको कुराकानीमा महामन्त्री कोइरालाले १४औं महाधिवेशनपछि देउवा गुट पनि चल्नेवाला नरहेको दाबी गरेका थिए। ‘सुशील कोइरालाले प्रयास गर्नुभयो तर शेरबहादुरजी शक्तिशाली नेता हुनुहुन्थ्यो, उहाँले काम गर्न दिनुभएन,’ उनले भने, ‘आउँदा दिनमा त्यस्तो सम्भावना कम देख्छु, जोसुकै सभापति भए पनि।’

आगामी महाधिवेशनमा पनि १३औंमा जस्तै सभापतिमा दुईभन्दा बढी उम्मेदवार हुनसक्ने बताउँदै केन्द्रीय सदस्य रमेश रिजाल समीकरणमा फेरबदल आए पनि गुटबन्दी अन्त्य हुने सम्भावना कम रहेको बताउँछन्। ‘एउटै पार्टीमा नेताहरू यताउता हुन सक्छन्,’ रिजालले भने, ‘तर परम्परागत गुटहरू पूर्णरुपमा भत्कने सम्भावना देखिँंदैन।’

प्रकाशित: १ आश्विन २०७७ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App