७ वैशाख २०८१ शुक्रबार
राजनीति

गौतमलाई राष्ट्रिय सभा लैजान आलटाल

सरकारमा अप्ठ्यारो पार्ने आँकलन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई विज्ञ समूहबाट राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने भने पनि १० दिनदेखि रोकिएको छ। गत भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनय गर्ने बताए पनि अहिलेसम्म गरेका छैनन्। गत फागुनमै डा. युवराज खतिवडाको पदावधि सकिएपछि रिक्त भएको राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनयन गर्ने निर्णय भएपनि समयमै कार्यान्वयन भएको थिएन। गत साता फागुनकै सचिवालय बैठकको निर्णयबमोजिम सचिवालय बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सभामा पठाउने भनेपछि गौतम निर्णय कार्यान्वयन हुने अपेक्षामा थिए। तर अहिलेसम्म प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालयमा सिफारिस नगर्दा विभिनन शंका उपशंका उब्जन थालेका छन्। शुक्रबारको स्थायी कमिटीमा सो विषयले प्रवेश नै पाएन। बैठक सकिएपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले मनोनयन गर्ने भएकाले सरकारसँगै त्यसको जवाफ खोज्न आग्रह गरेका थिए।

तर प्रधानमन्त्री ओली अझै पनि गौतमसँग विश्वस्त छैनन्। उनको अस्थिर स्वभावलाई ओलीले विश्वास गर्न नसक्दा मनोनयनमा ढिलाइ भएको हो। ‘गौतमको अस्थिर चरित्र नै बाधक रहेको छ। पार्टीको संस्थापन लाइनको विचारभन्दा बाहिर जाने, कहिले कता कहिले कता लाग्ने स्वाभावका कारण पनि प्रधानमन्त्री ओली विश्वस्त हुसक्नु भएको छैन,’ ओलीनिकट स्रोतले भन्यो। उनका अनुसार पार्टीको उपाध्यक्ष भएकाले र संगठन विभागको प्रमुखसमेत भएका कारण उहाँ पार्टीमै व्यस्त हुनुपर्ने भएकाले पनि सांसदमा मनोनयन गर्न ढिलाइ भएको हो। ‘पार्टीको उपाध्यक्ष हुनुहुन्छ, ओली सरकारमा सक्रिय हुँदा पूर्वएमालेका तर्फबाट उहाँले नेतृत्व गर्नुपर्ने हो त्यसलाई उहाँले बुझ्नुभएन,’ ओलीनिकट एक नेताले भने। उनका अनुसार प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने काम भएकाले पनि पनि तत्काल मनोनयनमा समस्या परिरहेको छ। पार्टीका नेताहरुले पनि अहिले नै मनोनय गर्दा सकारात्मक सन्देश प्रवाह नहुने भएकाले यसलाई गौतम आफैंले पनि बुझेर पछि हटे राम्रो हुन्थ्यो भन्ने सुझाव दिइरहेका छन्। ‘गौतमको अस्थिर स्वाभावका कारण सरकारलाई समेत अप्ठ्यारो पार्ने प्रयास गर्नसक्ने भएकाले उहाँको मनोनयन सोचविचार गरेर मात्रै हुन्छ,’ ओलीनिकट एक सदस्य भने।

गौतमको अस्थिर स्वाभावका कारण सरकारलाई समेत अप्ठ्यारो पार्ने प्रयास गर्नसक्ने भएकाले उहाँको मनोनयन सोचविचार गरेर मात्रै हुन्छ।

गौतमले मनोनयनसँगै मन्त्री पदसमेत दाबी गरेका कारण पनि प्रधानमन्त्री झस्केका हुन्। सुरुमा प्रधानमन्त्री ओलीले गृह मन्त्रालय लिन आग्रह गरेको भए पनि उनले अर्थ मन्त्रालय मागेपछि भने ओलीले अस्वीकार गरेका थिए। गौतमले गृहमा आफू धेरैपटक मन्त्री भएर गएको अब नजाने तथा अर्थ मन्त्रालय सम्हालेर प्रगतिशील बजेट ल्याउन चाहेको बताएकै कारण ओलीले मनोनयमा समेत ढिलाइ गरेका हुन्। ‘ढिलो चाडो उहाँको राष्ट्रिय सभामा मनोनय हुन्छ तर उहाँलाई मन्त्री बनाउने विषयमा भने प्रधानमन्त्री सकारात्मक बन्नुभएको छैन,’ ओलीनिकट स्रोतले भन्यो।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नुपर्नेमा सबै शीर्ष नेताहरु सहमत छन्। उनीहरुले फागुन १४ कै निर्णय कार्यान्वयन गर्न दबाब दिइरहेका बेला पार्टीभित्र आन्तरिक विाद चर्केको थियो। विवाद चर्केपछि गौतमको मनोनयन भन्दा प्रधानमन्त्रीको राजीनामाले प्राथमिकता पाएको थियो। विवाद सुल्झाउने क्रममा ओलीले भदौ १८ गतेको सचिवालय बैठकम आफैंले गौतमलाई मनोनयन गर्ने बताएका थिए। त्यसअघि ओलीले राष्ट्रिय सभामा डा. युवराज खतिवडालाई नै मनोनय गर्ने जनाएपछि गौतमले फागुन १४को निर्णय कार्यान्वयन गर्नुपर्ने पार्टीले निर्णय गरेपछि आफूले राष्ट्रिय सभामा नजाने नभनेको भन्दै मिडियाबाजी समेत गरेका थिए।

प्रकाशित: २९ भाद्र २०७७ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App