coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस नेता सिकन्दरको निधन

नेपाली कांग्रेसका पुराना नेता सिकन्दरकुमार गुरुङ (भोज) को निधन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र गुरुङको आईतबार निधन भएको हो। रगत पातलो हुने हेपापाइटिस रोगबाट ग्रसित उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस प्रचार विभाग सदस्य राजबहादुर गुरुङले जानकारी दिए। पुरानो घर कास्कीको अन्नपूर्ण गाउँपालिका भदौरेतामागी घर भई पोखरा ५ पर्स्याङमा पुष्प ब्यबसाय गर्दै आएका गुरुङको सोमबार अन्त्येष्टि गर्ने तयारी गरिएको उनले बताए।

निष्ठाको राजनीति गर्ने गुरुङ कांग्रेस सभापति देउवाका रुममेटसमेत हुन्। पञ्चायत कालको अन्त्य तिर अर्थात २०४६ साल अघि देउवा र गुरुङ १७ महिना काठमाडौंमा एउटै कोठामा बसेका थिए। पञ्चायतबिरुद्धको आन्दोलनले उग्ररुप लिएका बेला गुरुङको कोठामा देउवाले आश्रय लिएर आन्दोलनमा सहभागि हुने गरेका थिए। लौह पुरुष गणेशमानलाई आदर्श व्यक्ति मान्ने गुरुङ कुनैबेला बिपीका बडिगाडपनि हुन्। स्याङ्जा गोली काण्डमा गुरुङले नै बिपीलाई जोगाएका थिए।

आईतबार निधन भएका गुरुङ गत संसदीय निर्वाचनमा कास्की ३ को (ख)बाट उम्मेद्वार बनेका थिए। यद्वपी सो निर्वाचनमा उनी पराजित भए। उनलाई नेकपाका युवा नेता राजिव पहारीले पराजित गर्दै बिजयी भएका थिए। गुरुङले त्यतिबेला सोंच्दै नसोंचेको टिकट पाएका थिए। कास्कीको माछापुच्छ्रे निवासी भीमबहादुर गुरुङका लागि टिकट माग्न गएका उनलाई देउवाले अरु होइन तिमी आफै उठ भन्दै टिकट दिएको गुरुङले टिकट पाएपछि कास्केली कांग्रेसीहरुलाई सुनाएका थिए।

नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका नेता गुरुङ त्यागी र सादगी नेताका रुपमा परिचित छन्। देउवा पटक/पटक प्रधानमन्त्री हुँदापनि उनले कहिल्यै लाभको पद लिएनन्। बरु उनी सँधै भन्ने गर्थे,’मलाई केहि चाहिंदैन, देश बन्नुपर्छ।’ पार्टीमा नेतृत्वका लागिपनि उनले कहिल्यै दाबी गरेनन्। नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले गुरुङ कांग्रेसको आदर्श व्यक्तित्व भएको बताउँदै उनको निधनले पार्टीलाई अपूरणीय क्षेति पुगेको प्रतिक्रिया दिए। उनले भने,।।।सिकन्दर दाई हिंडेको बाटो हामी हिंड्न सके कांग्रेस साँच्चै बलियो हुन्थ्यो।’

 

 

 

प्रकाशित: २८ भाद्र २०७७ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App