७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त’

बिपीको योगदान र दूरदर्शिताले बहुदलीय व्यवस्था र लोकतान्त्रिक संविधान निर्माण भयोः सभापति देउवा

फाइल तस्वीर

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्वको सरकार देश कोरोना भाइरसको महामारीमा फसेका बेला पनि आर्थिक अनियमितामा लिप्त भएको आरोप लगाएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल गोष्ठीमा शीर्ष नेताहरूले सरकारले गरेको भ्रष्टाचार र अनियमिताको भण्डाफोर गर्नुपर्ने धारणा राखेका हुन्।

नेताहरूले बिपी कोइरालाको विचार र उनले देखाएको बाटोअनुसारै संविधानसभाबाट नयाँ संविधान जारी भएको जिकिर गरे। नयाँ संविधान बिपी विचारको निचोड भएको बताउँदै त्यसको संरक्षण र कार्यान्वयनमा कांग्रेसले ध्यान दिनुपर्नेमा नेताहरूले जोड दिए।

कार्यक्रममा सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण निकै धेरै फैलिए पनि सरकारले आवश्यक तयारी गर्नुको साटो पैसा कमाउनतिर मात्र ध्यान दिएको आरोप लगाए। ‘यो सरकारले कोरोना रोकथामका लागि कुनै कामै गर्न सकेको छैन,’ उनले भने, ‘कोरोनाका नाममा पैसा उठाउने, कमाउने, भ्रष्टाचार गर्नेबाहेक सरकाले केही गर्न सकेन।’

ओली नेतृत्वको सरकारबाट प्रजातन्त्रमाथि खतरा रहेको धारणा राख्दै देउवाले प्रजातन्त्रका लागि राणा, पञ्चायत र राजा ज्ञानेन्द्रसँग लडेको कांग्रेसले फेरि एकपटक कम्युनिस्टसँग लड्नुपर्ने अवस्था आउन लागेको उल्लेख गर्दै तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिए। उनले कोरोना महामारीका कारण आसन्न महाधिवेशन पूर्वनिर्धारित समयमा आयोजना गर्न समस्या देखिएको बताए। पार्टीभित्र छलफल गरेर महाधिवेशनका विषयमा निर्णय लिने बताउँदै उनले भने, ‘सबै साथीले जे भन्नुहुन्छ, त्यही गर्न म तयार छु, गर्नुपर्ने भए कहिले गर्ने, सार्नुपर्ने भए कहिलेलाई सार्ने ? संविधानले दिएभन्दा बढी त बढाउन पाइँदैन।’ बिपी कोइराला सानो देशका ठूलो नेता भएको बताउँदै उनले संविधान र पार्टी विधानमा समावेशिता नलेखे पनि पार्टी र सरकारलाई समावेशीताको सिद्धान्तअनुसार अघि बढाएको स्मरण गरे।

नेता रामचन्द्र पौडेलले बिपी कोइरालाको विचार र बाटोअनुसारै कांग्रेस अघि बढेको दाबी गरे। उनले संविधानसभाबाट जारी संविधान बिपीको विचारको निचोड भएको जिकिर गरे। ‘यो कम्युनिस्ट संविधान पनि होइन, पञ्चायतको जस्तो संविधान पनि होइन,’ पौडेलले भने, ‘जनआन्दोलन र जनताको संघर्षपछि जनचाहनाअनुसार बनेको संविधान हो। हामीले यसको स्वामित्व लिएर अघि बढ्नुपर्छ।’ लोकतान्त्रिक संविधान बनाउन अहिलेका कम्युनिस्ट नेताहरूसँग पनि लडेको स्मरण गर्दै उनले अहिलेको परिवर्तनबाट पछि फकर्ने कुरा स्वीकार्य नहुने धारणा राखे। अहिलेको सरकारले भ्रष्टाचार रोक्नेभन्दा बाँडीचुडी खाने तर निमुखा र गरिब जनताले केही नपाउने अवस्था सिर्जना गरेको पौडेलले बताए। निमुखालाई कांग्रेसले मात्र न्यय गर्न सक्ने बताउँदै उनले कांग्रेस जनताको भरोसाको केन्द्र बन्न सक्नुपर्नेमा जोड दिए।

उपसभापति विमलेनद्र निधिले संघीयता, धर्मनिरपेक्षता, निर्वाचन प्रणाली, समावेशिता अहिलेको संविधानको मूल तŒव भएको बताउँदै कांग्रेस र बिपीको विचारअनुसार उक्त व्यवस्था गरिएको दाबी गरे। यसबाट कांग्रेस पछि हट्न नसक्ने तर्क उनले गरे। ‘समयको माग र चाहनाअनुसार नै बिपीको विचारलाई लिएर हामी अघि बढेका हौं। बीउ त्यही लिएपछि बोट अर्कै हुने कुरा हुँदैन।’ बिपीको एउटा समयको एउटा विचार र लेखलाई मात्र आधार बनाएर व्याख्या गर्न नहुने तर्क पनि उनले गरे।

कार्यक्रममा अर्का उपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूले धारणा राखेका थिए। कोरोनाको जोखिम बढेपछि कांग्रेस र उससँग आबद्ध विभिन्न संघसंस्थाले भर्चुअल माध्यमबाट दर्जनभन्दा बढी कार्यक्रम गरेका थिए। कांग्रेसले बिपी जयन्ती तीन दिनसम्म मनाउने निर्णय गरेको छ।

बिपीको योगदान र दूरदर्शिताले बहुदलीय व्यवस्था र लोकतान्त्रिक संविधान निर्माण भयोः सभापति देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस संस्थापक नेता स्व. बिपी कोइरालाकै योगदान र दूरदर्शिताका कारण मुलुकमा बहुदलीय व्यवस्था स्थापना भई संविधान सभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्न सफल भएको बताएका छन्। सभापति देउवाले बिपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्त, नीति तथा विचारकै जगमा टेकेर मुलुक यहाँसम्म आएकाले बिपीका ती सिद्धान्त र विचारलाई भुल्न नसकिने बताए।

नेपाली कांग्रेस रुपन्देहीले बिपीको १०७औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद, नेपाली कांग्रेस र नेपालको राजनीतिक अवस्था विषयक भर्चुअल अन्तरसंवाद कार्यक्रममा बोल्दै देउवाले बिपीले लिएको नीति र सिद्धान्तको महत्व झन् बढेर गएको बताए। कोरोनाले आम नगारिकको जीवन तहसनहस बनाउन लाग्दासमेत कम्युनिस्ट सरकार त्यसको सम्बोधन नगरी भ्रष्टाचारमा लिप्त रहेको देउवाले बताए।

कार्यक्रममा पार्टी महामन्त्री शशांक कोइरालाले ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्ने बिपीको दर्शनलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए। प्रजातन्त्रका लागि बिपीले धेरै दुःख गरेको स्मरण गर्दै उनले लामो समय जेलनेल सहनुपरेको उल्लेख गरे। कार्यक्रममा पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बिपी कांग्रेसका लागि मात्रै नभई सबैका लागि उदाहरणीय र प्रेरणााको स्रोत रहेको बताए। किसानको देश भनेर नेपाल अहिले श्रमिकको देश भनेर चिनिन थालेको र तिनै श्रमिक वर्गको उद्योग र व्यवस्थापनमा सरकार महामारीका बेला उदासीन रहेको नेता सिटौलाले बताए।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिपी र कांग्रेस एकअर्काका पर्याय रहेको बताए। नेता खाँणले दुई तिहाईको सरकारले संविधान प्रदत्त अधिकारलाईसमेत निस्तेज पार्दै मानवअधिकार, प्रेस स्वतन्त्रता जस्ता नागरिकका मौलिक अधिकार संकुचन गर्न खोजेको बताए। महामारीका बेला आम जनताले सरकारको अनुभूति गर्न नपाएको नेता खाँणले बताए।

प्रतिनिधि सांसद तथा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले जनता कोरोनाको महामारीसँग जुझिरहेका बेला सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिरहेको बताए। सांसद तथा उद्योगपति विनोद चौधरीले बिपी उदार अर्थनीतिका परिकल्पनाकार भएको बताए। कांग्रेसको उदार अर्थ नीतिकै कारण विस्तारै उकालो लागेको देशको अर्थतन्त्र कम्युनिस्ट सरकारकै कारण ओरालो लागेको बताए। कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्वसभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, क्षेत्र नं. १ का क्षेत्रीय सभापति हिराबहादुर खत्री, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेललगायतले बोल्दै २००७ सालमा बिपीकै नेतृत्वमा भएको आन्दोलनले नेपालमा प्रजातन्त्रको उदय भएको र बिपको प्रजातान्त्रिक समाजवादको महत्व झन् बढेर गएको बताए। वक्ताहरूले पार्टीका नेताहरूमा भावनात्मक एकता आवश्यक रहेको पनि औंल्याएका थिए।

प्रकाशित: २५ भाद्र २०७७ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App