८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थायी कमिटीमा दुई अध्यक्षले सहमतिको प्रस्ताव ल्याउने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आन्तरिक विवाद समाधानका लागि सहमतिको प्रस्ताव ल्याउने भएका छन्। साउनदेखि रोकिएको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति भएसँगै दुवै अध्यक्षले आन्तरिक विवाद समाधानका लागि संयुक्त प्रस्ताव पेस गर्ने तयारी भएको हो।

पार्टी महासचिव विष्णु पौडेलका अनुसार दुई अध्यक्षले विवाद समाधान सुझाव कार्यदलले दिएको सुझाव र सचिवालय बैठकमा आएको सुझावलाई आधार मानेर दुवै अध्यक्षले संयुक्त रूपमा सहमतिको प्रस्ताव पेस गर्नेछन्। ‘स्थायी कमिटी बैठकमा नयाँ पुराना दुवै एजेन्डामा छलफल हुने र दुवै अध्यक्षले सुझाव कार्यदलले दिएको सुझाव र सचिवालय बैठकमा शीर्ष नेताहरूले राख्नुभएको सुझावको आधारमा सहमतिको प्रस्ताव ल्याउनु हुनेछ,’ महासचिव पौडेलले भने। उनका अनुसार नेकपाको आन्तरिक विवाद अब सुल्झने भएको छ।

सोमबार बिहान दुई अध्यक्षबीच भएको भेटघाटमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको थियो। स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको पनि महासचिव पौडेलले जानकारी दिए। बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिव विष्णु पौडेलसहित छलफलमा सो सहमति गरिएको हो। असार १० देखि जारी स्थायी कमिटी बैठक कहिले बस्ने भन्नेबारे अझै कुनै टुंगो नलागेको अवस्थामा दुई अध्यक्षबीच सो सहमति भएको हो।

 साउन १३ पछि झन् पेचिलो बन्दै गएको नेकपाको आन्तरिक विवाद पछिल्लो पटक कार्यदल बनाएर सुल्झाउने प्रयास गरिएको छ। साउन १३ गते बस्ने भनिएको स्थायी कमिटी बैठकलाई ओलीले एकलौटी रूपमा स्थगित गरेपछि दाहाल र माधव नेपाल समूहले बालुवाटारमै स्थायी कमिटीको बैठक गरेर ओलीलाई चुनौती दिएका थिए। स्थायी कमिटीको बैठकमा आन्तरिक विवाद सुझाव कार्यदलले दिएको सुझावबारे छलफल हुने बताइएको छ। 

यसअघि सचिवालयको बैठकमा हल्का छलफल भए पनि त्यसले कुनै निष्कर्ष निकालेको थिएन। सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले दिएका कतिपय बुँदामा असहमति प्रकट गरेका थिए। त्यस्तै, ओली दाहालको भेटमा पनि दाहालले कार्यदलका कतिपय सुझाव परिमार्जन गर्नुपर्ने प्रस्ताव गरेका छन्। दुई अध्यक्षबीच नियमित भेटघाट भएर सहमतिको प्रस्ताव पेस हुने बताइएको छ।

प्रकाशित: २३ भाद्र २०७७ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App