८ वैशाख २०८१ शनिबार
राजनीति

ओली र प्रचण्डको बार्ता कहिले होला भनेर कुर्नुपर्ने अवस्था छ : भट्टराई

पूर्व प्रधानमन्त्री एवं जसपा नेता भट्टराई ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले केपी ओली र प्रचण्डको बार्ता कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । कोभिड १९ को संक्रमण बढिरहेका बेला सरकार भने पार्टी भित्रको झगडामा केन्द्रित भएको आरोप उनले लगाए । ‘यस्तो महामारीको बेला उहाँहरू आफ्नै पार्टीको भित्रको झगडाका निम्ती महिनौंसम्म बैठक गर्नुहुन्छ,’ शुक्रबार गृह जिल्ला गोरखा आएका उनले पत्रकार भेटघाटका क्रममा भने, ‘तपाई हामी उहाँहरूको बार्ता कहिले हुन्छ भनेर पर्खनु पर्ने अवस्था छ ।’ दुबै नेता उल्टो दिशातिर गईरहेकाले यसबाट देश र जनता धरापमा पर्ने उनले बताए ।

‘प्रचण्ड र ओलीको बार्ता हुनु भनेको डोनाल ट्रम र सिजिनपिङको बार्ता हुनु जस्तो, मोदी र केपी ओलीको बार्ता हुनुजस्तो मान्नु परेको छ,’ उनले भने, ‘संकटको बेला यो भन्दा मजाक के हुन सक्छ ।’ कोरोना संक्रमितको उपचार गर्न अस्पताल, आइसोलेसन, व्यवस्थित क्वारेन्टिन बनाउनुपर्ने बेला प्रधानमन्त्री भने अयोध्या बनाउने, राम मन्दिर निर्माण गर्ने तर्फ लागेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले चर्को आलोचना गरे । कोरोनाको परीक्षण ठुलो संख्यामा गर्नुपर्ने तर त्यस्तो हुन नसकेको उनले बताए । अहिले जनताले आफ्नो सुरक्षामा आफै गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘सरकारको भर परेर बस्यौँ भने कोभिडबाट बच्न सकिँदैन ।’ राज्य सत्ता साधन स्रोत हुँदा पनि नागरिकको स्वास्थ्य प्रति सरकार उत्तरदायि नभएको आरोप उनको थियो ।

गोरखा अस्पताल र आँपपिपल अस्पतालाई उच्च क्षमताको रगत परीक्षण गर्ने मेसिन हस्तान्तरण गर्न उनी गोरखा आएका थिए । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा बिजयी भट्टराई त्यसयता हरेक महिना गृहजिल्ला आउने क्रममा यस पटक पनि आएका हुन् । अस्पताललाई दिइएको उक्त मेसिन करिब सात लाख रुपैयाँको रहेको र एउटा नमुनाबाट ३६ वटा परीक्षण गर्न मिल्ने बायोमेडिकल इन्जिनियर सौगात आचार्यले बताए ।

प्रकाशित: ३० श्रावण २०७७ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App