coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

योजनानै त्रुटिपूर्ण छन्ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागी मुख्यमन्त्री, मन्त्रीलगायत अन्य कर्मचारीहरू । तस्बिरः मुख्यमन्त्रीको सचिवालय

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना निर्माणमा त्रुटि रहेको बताएका छन् । जनताको आवश्यकताभन्दा टेबुलमा आएका योजनाले प्राथमिकता पाउँदा अधिकांश योजनामा त्रुटि भएको उनले बताए ।

आइतबार सम्पन्न भएको कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । फिल्डमा रहेको आवश्यकताका आधारमा योजना बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रत्येक मन्त्रालयले आवश्यकताका आधारमा सम्बन्धित विकास कार्यक्रमको गुरुयोजना बनाउनुपर्छ ।’ ‘अहिले जनताको आवश्यकताभन्दा फरक ढंगले योजना निर्माण भइरहेको छ,’ उनले भने, ‘जसले गर्दा उपलब्धि देखिएको छैन भने विकासलाई जनताले प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् ।’ हाकिम र नेतालाई खुसी पार्नेभन्दा जनतालाई लाभ पुग्नेखालका योजना निर्माणमा जोड दिनुपर्ने उनले बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा रहेको गरिबी, भौगोलिक विकटता र अविकासको अवस्थालाई हेरेर कर्मचारीले सेवाभावसहित काम गर्नुपर्ने बताए । ‘जागिरको लागि काम गर्ने मानसिकताले मात्रै विकास र समृद्धिको चाहना पूरा हुँदैन,’ उनले भने, ‘राजनीतिक नेतृत्व र कर्मचारीमा इमान्दारीता आवश्यक छ ।’

साथै उनले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरिने बताए । मन्त्रीहरूले मुख्यमन्त्रीसँग, सचिवले मन्त्रीसँग र मन्त्रालय मातहतका कार्यालय प्रमुखले सचिवसँग कार्यसम्पादन करार सम्झौता गरी साप्ताहिकरूपमा कार्यप्रगतिको जानकारी, समीक्षा र निर्देशन प्रणाली बनाएर बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उनको भनाइ छ ।

प्रकाशित: २५ श्रावण २०७७ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App