८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाको ‘केन्द्र’मा वामदेव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले हाल कुनै सार्वजनिक पद धारण गरेका छैनन् । तर, पछिल्लो समय उनको सक्रियता र भूमिका महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिको भन्दा कम छैन ।

प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमले सार्वजनिक पद धारणका लागि पटकपटक प्रयास नगरेका पनि होइनन् । तर, पार्टीअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उनको चाहनामा बाधक बनेपछि संसद्मा पुग्ने उनको प्रयास पूरा हुन सकेन ।  

पछिल्लो पटक नेकपाभित्र बढिरहेको विवादबीच कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालको कित्ता त कहिले ओलीकित्तामा उभिने आफ्नो अस्थिर स्वभावले उनले आलोचना पनि भोग्दै आइरहेका छन् । यही स्वभावका कारण उनलाई कतिपयले मादलको संज्ञासमेत दिने गरेका छन् । तर, साउन १३ गते एकाएक दाहाल–नेपाल समूहलाई चक्मा खुवाउँदै ६ बुँदे प्रस्तावसहित उनी ओली कित्तामा देखिएपछि पार्टीमा आफूलाई केन्द्रमा राख्न सफल भएका छन् ।  

गौतमले ६ बुँदे प्रस्ताव अघि सारेपछि पार्टीभित्र कमजोर हुँदै गएका ओली केही शक्तिशाली देखिए । ओलीलाई पुरै कार्यकाल प्रधानमन्त्री तथा अध्यक्ष र दाहाललाई कार्यकारी अध्यक्षसहितको ६ बुँदे प्रस्ताव पेस गरेपछि राहत महसुस गरेका ओली सोही दिन साँझ गौतमलाई भेट्न गौतमनिवास पनि पुगे । सामान्यतया प्रधानमन्त्री ओली कसैको घरमा बिरलै जाने गर्छन् । पार्टीभित्र विवाद बढेको र आफ्नो समूह कमजोर भएपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकलाई अनिर्णयको बन्दी बनाइरहेका छन् । 

यसअघि गौतम दुई अध्यक्षलाई भेट्न आफैं कहिले बालुवाटार त कहिले खुमलटार जाने गर्थे । पार्टीभित्र उनको भूमिका महत्वपूर्ण बन्दै गएपछि शीर्ष नेताहरू नै उनलाई भेट्न उनकै निवास आउन थालेका हुन् । 

पार्टीको केन्द्रीय समिति बैठकप्रति पनि अनिच्छुक देखिएका ओलीले वामदेवको साथ पाएपछि भने पार्टीभित्र देखिएका विवादलाई सचिवालयमार्फत टुंग्याउने बताउँदै आएका छन् । आफ्नो कित्ताबाट ओलीकित्तामा पुगेका उनै गौतमलाई भेट्न मंगलबार अध्यक्ष दाहाल पनि गए । दुई अध्यक्षबीच पार्टीभित्र शक्ति संघर्ष जारी रहेका बेला दुवैका लागि शक्तिको स्रोत बनेका गौतम पार्टीभित्र जुन कित्तामा उभिन्छन्, त्यही समूहको पल्ला भारी हुने अवस्था बनेको छ ।  

यसअघि गौतम दुई अध्यक्षलाई भेट्न आफैं कहिले बालुवाटार त कहिले खुमलटार जाने गर्थे । पार्टीभित्र उनको भूमिका महत्वपूर्ण बन्दै गएपछि शीर्ष नेताहरू नै उनलाई भेट्न निवासमै आउन थालेका हुन् । दुई अध्यक्षबीच विवाद बढ्दै गर्दा नेकपाका दोस्रो तहका नेता भने पहिलेदेखि नै गौतमनिवास पुगेर उनलाई आफ्नो कित्तामा उभ्याउन प्रयत्न गर्दै आएका थिए ।  

पार्टीभित्र आफ्ना अडानलाई लिएर दुई अध्यक्षबीच सहमति जुट्न नसकेको अवस्थामा दाहाल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् । अर्का अध्यक्ष ओलीसँग छलफल हुनुभन्दा पहिले दाहाल गौतमनिवास पुगेका थिए । दुई नेताबीच पार्टीको पछिल्लो विवाद र गौतमले अघि सारेका ६ बुँदे प्रस्तावका विषयमा पनि छलफल भएको गौतमनिकट स्रोतले जनाएको छ । दाहाल सचिवालयले उक्त भेटघाटलाई सामान्य भनेको छ । ‘अध्यक्षले जुनसुकै नेतासँग पनि भेटघाट र छलफल गर्न सक्नुहुन्छ, मंगलबार गौतमसँग भएको भेट पनि त्यस्तै सामान्य छलफल हो,’ दाहाल सचिवालय स्रोतले भन्यो ।

मंगलबार पनि सहमति जुटेन  
यसैबीच मंगलबार नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । छलफलमा सहभागी नेता सुवास नेम्वाङका अनुसार बुधबार बेलुकी ५ बजे पुनः बस्नेगरी छलफल सकिएको छ । ‘आजको छलफलमा पार्टीभित्रका समस्याबारे छलफल भएको छ, तर टुंगो लाग्न नसकेपछि बुधबार पुनः बस्नेगरी छलफल टुंगिएको छ,’ नेम्वाङले भने ।  

मंगलबारको भेटमा दाहालले ओलीलाई स्थायी समिति बैठकमा सहभागी हुन आग्रह गरे पनि ओलीले सहभागी हुन अस्वीकार गरेपछि छलफल विनानिष्कर्ष टुंगिएको हो । ‘अध्यक्षज्यूले स्थायी कमिटीमार्फत विवाद टुंग्याउने प्रस्ताव दोहो¥याउनुभयो तर अर्का अध्यक्ष ओलीले सहभागी हुन मान्नुभएको छैन,’ दाहालनिकट स्रोतले भन्यो । दाहालले पाटी एकतालाई जोगाइराख्न प्रयत्न गरिरहे पनि ओली आफ्नै ढंगले अघि बढ्न खोजेकाले सहमति जुट्न नसकेको दाहालनिकट स्रोतको दाबी छ । मंगलबारको छलफलमा अध्यक्षद्वय ओली र दाहालसँगै वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङसमेतको उपस्थिति रहेको थियो ।  

प्रधानमन्त्री ओलीले पछिल्लो समय पार्टीभित्र स्थायी कमिटी बैठक र केन्द्रीय समिति बैठक बोलाउने विषयलाई समेत कोरोनासँग जोडेर विषयान्तरण गर्न थालेका छन् । उनले मंगलबार विज्ञहरूको छलफलमा आफ्नै पार्टीले समेत २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णयलाई बेवास्ता गरेको बताएका थिए । कोरोनालाई ध्यानमा राखी सरकारले भिडभाडमा रोक लगाए पनि पार्टीभित्रैबाट स्थायी कमिटी र चार सय ५० जनाको केन्द्रीय समिति बैठकको माग भइरहेको बताएका थिए । उनले आफ्नो स्वार्थका पछि दगुर्दा नेताहरूले देश र जनताप्रति गम्भीर उदासिनता देखाएको आरोप लगाएका थिए ।

प्रकाशित: २१ श्रावण २०७७ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App