coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई विज्ञका सुझाव : लकडाउन गर्नेकी, सुरक्षाका उपायमा कडाई गर्ने ?

लकडाउन खुलेपछि कोरोनाको ग्राफ बढ्न थालेको छ। काठमाडौं उपत्याकामा दिनदिनै संक्रमितको संख्या बढेको छ भने भारतसँग सीमा जोडिएका जिल्लामा पनि दैनिक संक्रमितको संख्या बढिरहेको छ। लकडाउन खुला भएसँगै सार्वजनिक सवारी साधन पनि चल्न थालेका छन्। साउन १५ देखि होटल, रेष्टुरेन्ट पनि सुरक्षाका उपायसहित सुरु भएका छन्। बजार खुला छ, चाडपर्वको माहोलले पनि केही चहलपहल बढेको छ। मानिसको 'मुभमेन्ट' कोरोना फैलाउने मुख्य औजार भएको भन्दै चिन्ता व्यक्त भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा प्रतिपक्षी दलका नेताहरु राखेर विज्ञहरुसँग छलफल गरे।  

छलफलमा विज्ञहरुको मत पनि विभाजन भएको छ। एकाथरी विज्ञले कडाखालको लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् भने केहीले कोरोना कतिसमय जाने भन्ने निश्चित नभएकाले 'मुभमेन्ट' र सुरक्षाका उपायमा कडाई गर्न सुझाव दिएका छन्।  

डा. महेश मास्के, दिव्यासिंह शाह लगायतका विज्ञहरुले कोरोना कहिले सकिन्छ भन्ने थाहा नभएको अवस्थामा सुरक्षाका उपाय लागु गराउन कडाई गर्न सुझाव दिएका थिए। मास्कको प्रयोग, मानिसहरु भेला हुने कार्यमा रोकावट लगाउन सक्दा पनि धेरै कुरा नियन्त्रणमा आउने उनीहरुले बताएका थिए।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लक डाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताए। सुरुमा भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुमा संक्रमण देखिने गरेकोमा पछिल्लो समय नेपालमै बस्ने एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिरहेकाले १५ दिन कडा लक डाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ अपनाउने गरी अगाडि बढ्नुपर्ने सुझाव पनि बैठमा प्रधानमन्त्रीलाई विज्ञहरुले दिएका छन्।  

केही विज्ञहरुले भने लक डाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले संक्रमण देखिएका निश्चित ठाउँहरु सिलबन्दी गरी सीमानाकामा कडाई गर्नुपर्ने सुझाव दिएका छन्। अर्का जनस्वास्थ्यविज्ञ डा. समिरमणि दीक्षितले लक डाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताए। स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै उनले सबैका सल्लाह सुझाव अनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सुझावहरु कार्यान्वयन प्रकृयामा लैजाने बताए। प्रधानमन्त्रीको प्रेस सल्लाहका सूर्य थापाका अनुसार स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर आगामी कदम चाल्ने प्रतिवद्धता प्रधानमन्त्रीले गरेका छन्।  

 

प्रकाशित: २० श्रावण २०७७ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App