१५ चैत्र २०८० बिहीबार
राजनीति

संकटका बेला गैर जिम्मेवार ढंगले प्रस्तुत नहोऔं : प्रम

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गरेका हुन्। उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदाशिन हुने स्वार्थका पछाडी कुदेको टिप्पणी गरे ।

सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् । उनले भने, 'केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ । तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केहीपनि छैन । तर बैठक चाहि चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ ।'

उनले संकटको बेलामा केही सञ्चार माध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको बताए । विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरेका छन् । कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे ।  

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए । संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनले बताए । उनले खुला सिमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए ।

प्रकाशित: २० श्रावण २०७७ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App