नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झाउन प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टा भएको छलफल सचिवालय बैठक पहिला गर्ने कि स्थायी कमिटी बैठकबाट समाधान खोज्ने भन्ने विषयमा कुरा नमिल्दा बिनानिष्कर्ष टुंगिएको छ। वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङसहित चार नेताबीच भएको छलफलमा समाधानको कुनै बाटो निस्कन नसकेको स्रोतले बतायो। यसअघि छलफलमा सहभागी हुँदै आएका महासचिव विष्णु पौडेल आइतबार भने सहभागी थिएनन्।
आइतबारको छलफलमा ओलीले सुुरुको आधा घण्टा नेताहरुलाई गालीमात्र गरे त्यसपछि उनले स्थायी कमिटी बैठक बस्नुअघि सचिवालय बैठकबाट सबै विषयको टुंगो लगाउनुपर्नेमा जोड दिए। दाहाल र खनालले भने स्थायी कमिटी बैठक बसेर विवाद समाधान गर्नुपर्नेमा जोड दिए। ‘सुरुमा ओलीले १३ गते बसेको बैठक, बैठक नभएको र गुटगत भेला भएको दाबी गरेका थिए। त्यसपछि दाहालले तपाईं एक्लै विधिविपरीत चल्ने, पार्टीको स्थायी कमिटी बैठक एकपक्षीय ढंगले रोक्ने अनि बहुमत सदस्य सहभागी बैठकलाई गुटको भेला भन्ने, यो तपाईंको अहंकारी स्वभाव भयो, कहिलेकाहीं साथीहरुको कुरा पनि सुन्नुस्, यत्रो पार्टी निर्माण भएको छ, तपाईं एक्लै चल्ने हो भने त्यही अनुसारको विधि र पद्धति बनाऔं भनेका थिए’, छलफलमा सहभागी एक नेताले भने। ती नेताका अनुसार स्थायी कमिटी बैठकमा सहमति बनाएर जानुपर्ने ओलीको प्रस्ताव थियो। ‘असहमतिबीच बसेको १३ गतेको बैठकलाई ‘बैठक’ भन्ने कि ‘भेला’ भन्नेबारे चार नेताबीच विवाद भएको छ, जसले गर्दा खासै उपलब्धिमूलक छलफल भएको छैन’, स्रोतले भन्यो।
‘तीन घण्टासम्म छलफल गरियो तर कुरा उही छ’, दाहाल निकट स्रोतले भन्यो, ‘आजको छलफलले संवादहीनता मात्रै तोडिएको हो। पहिलापहिला महासचिव विष्णु पौडेल सहभागी हुन्थे। अहिले झलनाथ खनाल सहभागी भएका छन्। निष्कर्ष भने आउने अवस्था छैन। दुवै पक्षका आआफ्नै अडान कायम छन्।’
दाहालले सहमतिका लागि ओलीलाई एउटा पदबाट राजीनामा दिन प्रस्ताव राखेका थिए। तर ओलीले दुवै पद नछाड्ने अडान कायमै राखेका छन्।
स्रोतका अनुसार ओलीलाई सहमतिका लागि एउटा पदबाट राजीनामा दिन दाहालले प्रस्ताव राखेका थिए। तर ओलीले दुवै पद नछाड्ने अडान कायमै राखेका छन्। भित्र कुरा नमिले पनि दुवै पक्षका नेताहरुले छलफल सकारात्मक भएको बताएका छन्। नेकपा संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले छलफल सकारात्मक भएको बताए। ‘अब चाँडै निष्कर्षमा पुग्न सकिन्छ’, नेम्वाङले भने।
ओलीसँग कुरा नमिलेपछि आइतबार साँझ दाहाल निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत सहभागी भएर छलफल गरेका थिए। ओलीसँग भएको कुराकानीबारे विश्लेषण भएको खुमलटारनिकट स्रोतले जनाएको छ। ‘ओलीमा दम्भ बढेको, सिंगो पार्टीमा मबाहेक अरु नेता छैनन्, यसमा विधि पद्धति पनि मै हुँ भन्ने अंहकार बढ्दै गएको देखियो। यसले पार्टीलाई ठीक ठाउँमा पु¥याउँदैन’, खुमलटार पुगेका एक नेताले भने। आफू पक्षका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गर्दा गुट भेला नहुने, अरुले छलफल गरेकोमा गुट भेला देख्ने, आफूविरुद्धको षड्यन्त्र देख्ने प्रवृत्तिगत समस्या ओलीमा रहेको एक सचिवालय सदस्यले बताए। ‘यो समस्या पार्टीभित्र प्रवृत्तिगत समस्याको रुपमा देखा परेको छ। आफूबाहेक अरु कोही केही होइन भन्ने अहंकार ओली र निकटका नेताहरुमा छ, जसले गर्दा समस्याको समाधान निकाल्न कठिन भइरहेको छ’, उनले भने।
असार १० देखि जारी स्थायी कमिटी बैठक कहिले बस्ने भन्ने अझै टुंगो लागेको छैन। साउन १३ पछि झन् पेचिलो बन्दै गएको विवादले पछिल्लो पटक संवादहीनताको अवस्थामा पु¥याएको थियो।
साउन १३ गते बस्ने भनिएको स्थयी कमिटी बैठकलाई ओलीले एकलौटी रुपमा स्थगित गरेपछि दाहाल र नेपाल समूहले बालुवाटारमै स्थायी कमिटी बैठक गरेर ओलीसँग संवाद गर्ने जिम्मेवारी दाहाललाई दिएका थिए।
प्रकाशित: १९ श्रावण २०७७ ०१:५१ सोमबार