६ चैत्र २०८० मंगलबार
राजनीति

सरकारसँग दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमता छ : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको बताएका छन्।  सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारी स्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताएका हुन्। न्यूज एजेन्सी नेपालका संबाददातासँगको कुराकानीमा मन्त्री ढकालले सरकारले दैनिक १८ हजार जनासम्मको परीक्षण गर्न आवश्यक सबै सामग्रीलाई तयारी अवस्थामा रोखेको बताए। उनले भने ‘हामीसँग क्षमताको हिसाबले कुरा गर्दा १८ हजार प्लसमा हामी पुगेका छौं र यो १८ हजारको क्षमतामा हामी प्रतिदिन त्यसको रिपोर्ट दिन सक्छौं भन्नुको अर्थ सामग्री पनि त्यही भोलुममा चाहिन्छ भन्ने कुरालाई हामीले हेक्का राखेका छौं।’

६ लाख जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरिरहेको समेत मन्त्री ढकालले बताए।  अहिले सम्म ३ लाख ७० हजार भन्दा बढीको पीसीआर परीक्षण भइसकेको र त्यसलाई ६ लाख पु¥याउने तयारी स्वरुप सरकार अगाडि बढेको बताए। मन्त्री ढकालले भने, ‘सम्माननीय प्रधानमन्त्रीले संसदमा बोल्दा खेरी नै जनसंख्याको दुई प्रतिशतलाई हामीले परीक्षणको दायरामा ल्याउँछौं भनेर उहाँले भन्नुभएको छ। हामीले त्यसलाई ६ लाखको संख्यामा बुझेका छौं र ६ लाख पीसीआर प्रविधिबाट परीक्षण गर्ने सामथ्र्य सहित रहनुपर्छ भन्ने विषयको तयारीमा मन्त्रालय छ। अहिले सम्म मलाई लाग्छ हामी ३ लाख ७० हजार भन्दा बढी नै छौं। यसले गर्दा ६ लाख सम्म गराउने खालको जोहो गरेर नै हामी बसेका छौं।’

उनले परीक्षण नगरेको कारणले रिपोर्टहरु कम भएको भन्ने कुरा सत्य नभएको बताए।  तर सबै ठाउँमा पुगेर परीक्षण गरिएको दावि नगरिएको समेत उनले बताए। सरकारले बनाएको मापदण्ड अनुसार नै परीक्षण भएको उनको दाबि छ। मन्त्री ढकालले भने ‘परीक्षण नगरेको कारणले अथवा परीक्षण कम गरेको कारणले रिपोर्ट कम भयो भन्ने खालको कुरा सत्य होइन। त्यो यथार्थमा आधारीत छैन्। यसको अर्थ पुग्नुपर्ने सबैठाउँमा पुगेर हामीले गरेका छौं यो मेरो दावि होइन्। तर हामीले जे क्राइटेरिया बनाएका छौं अहिले सम्म त्यसका आधारमा हामीले गरेका छौं।’

काठमाडौं उपत्यकामा संक्रमण फैलिएको सम्बन्धमा मन्त्री ढकालले सरकार नयाँ रणनीति अनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्न लागेको बताए। बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने बताए। अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गरे।  मन्त्री ढकाल भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टाइनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो गाडि चलाउने कुरामा पनि भरमजदुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एकहद सम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ। यस्तो खालको काम गरेर बाहिर र भित्रको सम्बन्धको बारेमा क्लियारिटी गरेर होम क्वारेन्टीनको कुरो अथवा स्थानीय क्वारेन्टीनको ग्यारेन्टी भएपछि मात्रै गर्ने खालको कुरा गरिएन भने जति जनसंख्या बेसी यति सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भएको भन्दापनि यो विस्फोटक हुन सक्छ।’

सरकारले लागू गरेका नियम र मापदण्डहरुलाई पालना नगर्दा फेरी संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनले बताए। लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको बताए।  काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको बताए। उनले भने, ‘बाहिरबाट कोही आउँछ भने काम गर्ने जस्तो उद्योगकै कुरा गरौं न कामदारहरु आउँछ भने १४ दिन क्वारेन्टाइन बसेर मात्रै काममा हाजिर हुने भन्ने खालका जे हामीले नियम बनायौं त्यो नियमचाहिं पालना भएन्। दोस्रो हिजो लकडाउन लकडाउनहरु आउँदै आउँदैन थियो उडेर आउने खालको संक्रमण यतिकै रोकिएको थियो सीमामा जुन तल मात्रै जोखिम थियो राजधानी चाहिं एकखालको फिल्टर भएर मात्रै आउने कुरा हुन्थ्यो भने अहिले लकडाउन खुकुलो बनाएपछि प्रत्येक दिन गाडिबाट मान्छेहरु आउँदा संक्रमित ठाउँबाट मान्छेहरु आउने भएको छ भन्ने कुरा त नाकामा परिक्षण गरेको कारणले पनि पुष्टि भयो।’

मन्त्री ढाकालले संक्रमण बढी देखिएका जिल्लाहरुलई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरिय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताए। विरगंजमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने भएको छ। त्यस्तै काठमाडौंका विभिन्न नाकामा स्वाब संकलन गरिएकाहरुमा पनि संंक्रमण देखिएकाले काठमाडौं भित्र आउने सबैलाई होम क्वारेन्टिनमा अथवा स्थानीय क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिने बताए।  उनले भने ‘५ सय भन्दा बढी केसहरु भएका जिल्लाहरु २ सय भन्दा बेसी केस भएका जिल्लाहरुमा चाहि त्यहाँ अनुगमन गर्ने र मुल्याङ्कन गर्ने र कडाई गर्ने खालको कुरा अथवा जिल्लास्तरीय लकडाउन गर्ने कुरा हुन्छ की त्यो भन्दा बेसी कुनै एउटा क्षेत्रमा मात्रै जस्तो विरगंजमा अहिले जुनखालको संक्रमण देखिएको छ। त्यस्तोमा सिल गरेरै आवतजावतलाई रोक्नुपर्छ की भन्ने कुरा र अहिले पछिल्लो काठमाडौंका विभिन्न नाकाहरुमा स्वाब टेस्ट गर्दाखेरी जो मान्छेहरुमा पोजेटिभ देखियो यसले गर्दा काठमाडौं भरिमै र बाहिरिने खालको कुरामा पनि होम क्वारेन्टाइन तथा स्थानीय क्वारेन्टिनमा बस्ने स्वीकृतिको अनिवार्य गर्ने कुराले् मात्रै संक्रमण नियन्त्रण गर्न सकिन्छ कि भन्ने विषयमा पनि हामी छलफल गरेका छौं।’

उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सकरारले ध्यान दिएको मन्त्री ढकालले बताए।  जनशक्ति र अन्य व्यवस्थापनको काममा काबु भन्दा बाहिर जान नदिन सरकारले काम गरिरहेको बताए। उनले भने ‘जुन ठाउँमा उच्च जोखिम हुन्छ त्यसमा नीतिगत हिसाबका निर्णयहरु मात्रै होइन सामग्रीहरुको उपलब्धता मात्रै होइन जनशक्ति र अन्य व्यवस्थापनको काममा पनि हामी लागेका छौं यसर्थ यसलाई काबु भन्दा बाहिर जान नदिने गरीनै सरकारको तर्फबट एकीकृत ढंगले लागेका छौं।’

लकडाउन भन्दा अघि कोरोना संक्रमणको अवस्थालाई लिएर सबैमा भय र त्रास रहेको र लकडाउनमा सबै नागरिकले साथ दिएकाले नियन्त्रण र व्यवस्थापनामा केही हद सम्म सफल भएको बताए। तर लकडाउन खोलेपछि पछि मानिसहरुले सुरक्षा सावधानीहरुलाई उलङ्घन गरेकाले स्थिति खराब बन्दै गएको बताए। उनले भने ‘अहिले लकडाउन अलि खुकुलो गरेपछि र पछिल्लो दिनमा करिब २० हजार भन्दा माथि संक्रमणको स्थिति पुग्दाखेरी अब यो केही होइन रहेज जस्तो गरेर बाहिर कोरोना हाम्रो देशमा छैनकी जस्तो गरेर हामीले अपनाउनुपर्ने सुरक्षा सावधानीहरुका कुराहरुलाई चाहि उलङ्घन गरियो भने यसले जुनकुनै बेलापनि हामीलाई विस्फोटको स्थितिमा पु¥याउन सक्छ। यो सरकारको लागि मात्र होइन यो तपाई हामी सबैका लागि हो भन्ने अर्थमा यो आव्हानलाई कार्यान्वयन गर्ने कुरामा दृढतापर्वक इच्छा शक्तिका साथ सबैको सहयोगको लागि म अपिल गर्न चाहन्छु।’

मन्त्री ढकालले सीमा बाहिरबाट आउने वयक्तिहरुलाई होल्डिङ क्वारेन्टाइनमा राख्ने र परीक्षण गराउने काम भएको र विदेशबाट प्लेनमा आउनेहरुलाई पनि ५ दिन सम्म काठमाडौंमा राखेर परीक्षण गरेपछि मात्रै स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएकाले त्यो जोखिम कम रहेको बताए। उनले भने ‘पछिल्लो दिन हामी सीमा बाहिरबाट आउने व्यक्तिहरुलाई होल्डीङ क्वारेन्टाइन मै राखेर परिक्षण गराउने र विदेशबाट प्लेनको माध्यमबाट आउने व्यक्तिहरुको हकमा काठमाडौंमा राखेर ५ दिनको क्वारेन्टाइनपछि परीक्षण गरेपछि मात्रै नेगेटिभ हरुलाई सम्बन्धित ठाउँको क्वारेन्टीनमा पठाउने व्यवस्था गर्ने र बाँकी पोजेटिभहरुको हकमा आइसोलेसन सेन्टर वा अस्पतालमा जाने खालको व्यवस्था हामीले गरेका छौं।’

प्रकाशित: १८ श्रावण २०७७ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App