coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश कोरोना संकटमा, मुख्यमन्त्री र मन्त्री काठमाडौं सयरमा

कोरोना संकटले निरन्तर गाँज्दै लगेको प्रदेश १ लाई त्यसबाट जोगाउने उपाय खोज्नुपर्ने बेलामा मुख्यमन्त्रीसहितका मन्त्रीहरु भने काठमाडौं सयरमा छन्। विराटनगरमै रहेर कोरोना नियन्त्रणमा भूमिका गर्नुपर्ने उनीहरु  सत्तारुढ नेकपाको विवादको निहुँमा बालुवाटार र खुमलटारको फन्को लगाउन व्यस्त बनेका हुन्।  

प्रदेशमा कोरोना संक्रमणको अवस्था लगातार बढ्दो छ। अस्पतालहरुबीच समन्वय अभावमा एक जनाको मृत्यु नै भइसकेको छ। चिकित्सकहरुसहित अधिक संक्रमित फेला परिरहेको विराटनगरमा सिल गर्ने वा लकडाउनमा जाने भन्ने विवाद महानगर र प्रदेश सरकारबीच कायमै छ। यही संकटको घडीमा प्रदेशका मुख्यमन्त्रीसहित प्रभावशाली मन्त्रीहरु पार्टी विवादको निहुँ पारेर  काठमाडौंमा भेला भएका हुन्।  

चिकित्सकहरुका अनुसार प्रदेशमा  लक्षणसहितका कोरोना पीडित लगातार थपिँदै गएका छन्। यस्तो बेलामा संक्रमित क्षेत्र, सिल गर्न वा लकडाउनमा जान जनस्तरबाटै दबाब उच्च भइरहेको छ। तर, संकटको यही बेला मुख्यमन्त्री शेरधन राई, मन्त्रिपरिषदका दोस्रो वरियताका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, तेस्रो वरियताका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ लगायतका मन्त्री संघीय राजधानीमा थुप्रिएका हुन्।  

मुख्यमन्त्री र महत्वपूर्ण जिम्मेवारीमा रहेका मन्त्रीहरु अनुपस्थित रहेपछि तत्कालै ठोस निर्णय लिन गाह्रो भएको प्रदेश राजधानी विराटनगरमा  रहेका मन्त्रीहरु बताउँछन्। 'मुख्य मान्छेहरु काठमाडौं हुनुहुन्छ', मन्त्रिमण्डलका एक सदस्यले भने 'उहाँहरु नआई केही निर्णय होला जस्तो छैन।' उनका अनुसार विराटनगर महानगर लकडाउनका लागि दबाब दिइरहेको छ। जनस्तरमै पनि यस्तै आवाज उठिरहेको छ। महानगरमा रहेका दुई ठूला अस्पताल कोशी र विराटका चिकित्सक र नर्सहरु धमाधम संक्रमित भइरहेका छन्। 'यो बेलामा मुख्यमन्त्री र मन्त्रीहरुको उपस्थिति अनिवार्य हुन्छ' ती सदस्यले भने 'तर, पार्टी विवादका कारण उहाँहरु आउन पाउनुभएको छैन।'  

मुख्यमन्त्री शेरधन राई चार दिन अघिदेखि काठमाडौं छन् भने आन्तरिक मामिला मन्त्री दुई सातादेखि उतै छन्। आर्थिक मामिलामन्त्री आङ्बो तीन दिनदेखि काठमाडौमै छन्। प्रदेश १ सरकारका  उनीहरु तीनै जना सबैभन्दा प्रभावशाली पात्रहरु हुन्। उनीहरु अझै केही दिन काठमाडौंमै रहने निश्चित भएको मन्त्रिमण्डलका एक सदस्यको भनाइ छ।  

 

 

 

प्रकाशित: १५ श्रावण २०७७ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App