१९ श्रावण २०७७ सोमबार
राजनीति

'सत्तारुढ दलको खटपटले व्यवस्थालाई आघात पुग्ने खतरा'

बुधबार पोखरामा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना (बायाँबाट दोस्रो) सहित अतिथिहरू। तस्बिर: सन्देश/नागरिक

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तारुढ दलभित्रको खटपटले व्यवस्थालाई नै आघात पुग्ने खतरा देखिएको बताएका छन्। नेपाल–चीन हिमालयमैत्री समाज नेपाल (नेचिप्स)ले नेपाल–चीन दौत्य सम्बन्ध गाँसेको ६५औं वर्षगाँठको अवसरमा बुधबार पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सत्तारुढ दलमा देखिएको खटपटले वर्तमान व्यवस्था नै खतरामा पर्ने भयो, यो व्यवस्था नै परिवर्तन हुने पो हो कि भन्ने खतरा भयो।’  

उनले यस्तो हुन नदिन सबै सजग र सचेत हुन जरुरी रहेको बताए। नेपाली जनताले कहिल्यै पनि दल÷दलबीच अस्वस्थ प्रतिस्पर्धा र दलभित्र खिचातानी नभई बरु विकास र समृद्धि चाहेको बताए। गणतन्त्र आइसकेपछि पनि दल तथा दलभित्रका आन्तरिक प्रतिस्पर्धा आफ्नो स्वार्थलाई केन्द्रित गरेर अगाडि बढ्दा जनताको चाहना पूरा नहुने अवस्था देखिएको बताए।

अध्यक्ष तिमिल्सिनाले विगतमा भएको घटनाका कारण पनि अहिलेको खटपटले व्यवस्था नै परिवर्तन हुने हो कि भनेर सोच्न बाध्य बनाएको बताए। २०१७ सालमा दुई तिहाइको सरकार अपदस्थ गरेर निरंकुशता लाद्ने काम भयो, २०५१ मा बहुमत हुँदाहुँदै मध्यावधि निर्वाचन गराइयो, ‘उनले भने, ‘अहिले पनि त्यस्तै हुने हो कि भन्ने त्रास आम नेपालीमा फैलिएको छ।’ उनले व्यवस्थामाथि नै खतरा हुन्छ कि भनेर सोच्नु स्वाभाविक भएकोसमेत जिकिर गरे। ‘नेपालीमा एउटा उखान छ– ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै अहिले सत्तारुढ दलभित्र खटपट हुँदा आम नेपालीमा अब के हुने हो, कसो हुने हो भन्ने त्रास छँदै छ,’ उनले भने।  

अध्यक्ष तिमिल्सिनाले सत्तारुढ दलभित्र भएको खटपटले नेपाली जनतामा विकास र समृद्धि आउँदैन कि भन्ने चिन्ता बढेको बताए। यदि व्यवस्थामाथि नै खतरा भयो वा व्यवस्था नै परिवर्तन भयो भने नेपालका दलहरू आन्दोलन गर्न सक्छन् तर विकास, समृद्धि, सुशासन र न्याय स्थापना गर्न भने सक्दैनन् भन्ने सन्देश जनतामा जाने उनको भनाइ छ। त्यसैले दलहरूले आफूलाई प्रमाणित गर्ने बेला आएको बताउँदै उनले भने, ‘नेपालका दलहरू आन्दोलन गर्न मात्र जन्मेका होइनन्। सुशासन र न्याय दिनका लागि, विकास र प्रगतिका निमित्त सरकार चलाउन सक्छन् भन्ने कुरा प्रमाणित गर्ने बेला आएको छ।’ अन्यथा जनतामा निराशा छाउनेसमेत उनले बताए।

प्रकाशित: १५ श्रावण २०७७ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App