नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टी भित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । उनीहरुले बुधबार पार्टी कार्यालय पुगेर हस्ताक्षरसहितको पत्र बुझाएका छन् । केन्द्र्रीय समिति बैठकको माग गर्दै सदस्यहरुले पार्टी कार्यालय धुम्बाराही पुगेर हस्ताक्षरसहितको पत्र बुझाएको केन्द्रीय समिति सदस्य डा. विजयकुमार पौडेलले बताए ।
पार्टी अध्यक्षद्धयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा पार्टी भित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको र विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि–पद्धति बमोजिम समाधान गर्नुपर्ने ठहर गगरेको उल्लेख छ । उनीहरुले पार्टीको विधानको धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका हुन् । पार्टीको सबैभन्दा सर्वोच्च निकाय केन्द्र्रीय कमिटी भएकाले यहि नै हरेक विवादहरु हल गर्नुपर्ने भन्दै बैठकको माग गरिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।
केन्द्रीय कमिटी सदस्य ठाकुर गैह्रेले पार्टी भित्र बढ्दै गएको विषयले आफूहरुलाई चिन्तित बनाएको बताए । उनले पार्टी विभाजन आजको आवश्यकता, औचित्य र सान्दर्भिकता नभएकाले पार्टी भित्र उत्पन्न भएका समस्यालाई पार्टी भित्रै बसेर समस्या समाधान गर्न बैठकको माग गरिएको बताए ।
नेकपाको केन्द्रीय कमिटी ४ सय ४४ जनाको रहेको छ । केन्द्रीय कमिटीको एक चौथाई सदस्यले बैठक माग गरेपछि ३० दिन भित्र बैठक बोलाउनु पर्ने व्यवस्था पार्टीको विधानमा रहेको छ ।
प्रकाशित: १४ श्रावण २०७७ १३:११ बुधबार