coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा विवाद: नियमित अजेन्डामा प्रवेश गर्ने दाहाल–नेपाल निष्कर्ष

सामनाको तयारीमा ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली दुवै पद नछाड्ने बरु पार्टीभित्र उत्पन्न परिस्थितिको सामान गर्ने रणनीतिमा पुगेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले भने स्थगित स्थायी कमिटी बैठक नरोकी अजेन्डालाई नै अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका छन्। पार्टीभित्रको विवादले व्यापकता पाइरहेका बेला मंगलबारका लागि बोलाइएको बैठकमा कसरी प्रस्तुत हुने भन्ने तयारीका क्रममा दुवै पक्षले आ–आफ्नै रणनीति तय गरेका हुन्।  

बालुवाटारमा सोमबार आपूmनिकटका नेताहरूसँगको छलफलमा अध्यक्ष ओलीले महाधिवेशन गरेर नेतृत्व टुंग्याउनुपर्ने भएकाले एकता महाधिवेशनअघि दुवै पदमा आफू यथावत् रहने बताएका हुन्। बिहान खुमलटारमा बसेको अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरू नेपाल र खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बैठकले जारी स्थायी कमिटी बैठकलाई अघि बढाउने र पूर्ववत् एजेन्डामै छलफल गर्ने सहमति गरेका थिए। खुमलटारमा भएको उक्त सहमतिपछि बालुवाटारको भेलाले ओलीले दुवै पदबाट राजीनामा दिन नहुने तथा बैठकले उठाउन सक्ने सम्भावित प्रश्नहरूको सामान गर्ने निर्णय गरेको थियो।

‘नेतृत्वको विषय टुंग्याउन चाँडै महाधिवेशन गरौं भन्ने प्रस्ताव छँदैछ। महाधिवेशनबाट कोहीकसैले भाग्ने अवस्था छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘अहिले नै दुवै पदबाट राजीनामा दिने वा दुईमध्ये एक पदबाट राजीनामा दिने विषय उपयुक्त होइन, बरु अन्य धेरै विषयमा छलफल गरेर जान सकिन्छ।’ उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले राष्ट्रिय आवश्यकताले पार्टी एकता भएको र अब एकता महाधिवेशन गर्नुपर्नेमा जोड दिए। ‘राष्ट्रिय आवश्यकताद्वारा निर्देशित भएर हामीले पार्टी एकता ग¥यौं। त्यो ऐतिहासिक एकता गर्दा पूरा गर्न बाँकी रहेका विचार, संगठन र नेतृत्वलाई व्यवस्थित र एकीकृत गर्न राष्ट्रिय मञ्च अर्थात् महाधिवेशनको तयारीमा लागौं,’ उनले भने, ‘केन्द्रीय कमिटीले सर्वसम्मतिले महाधिवेशनका लागि तय गरेको मितिलाई नबिर्सौं।’  पार्टीभित्र उत्पन्न विवाद पदीय भागबन्डा भएकाले सबैको ध्यान त्यता गएको बताइएको छ। ‘कार्यकारी अध्यक्षलाई पार्टीभित्र काम गर्ने अधिकारबाट कसैले वञ्चित नगरेका कारण अहिले नै सबै चिज प्राप्तितिर लाग्नुहँुदैन भन्ने स्पष्ट सन्देश गएको छ,’ बालुवाटार स्रोतले भन्यो।  

दाहाल–नेपाल समूहले पनि स्थायी कमिटीको बैठकमा निर्धारित एजेन्डाबाटै छलफल सुरु गर्ने जनाएको छ। प्रधानमन्त्री ओलीले सरकारको विरोध हुन थालेपछि विभिन्न बहानाबाजी गर्ने, सहकर्मीहरूलाई भारतपरस्त बनाउने, आफूलाई मात्रै राष्ट्रवादी ठानेर बाँकी सबैलाई राष्ट्रघाती देख्नेजस्ता अहं देखाउन थालेका कारण उनको राजीनामा मागिएको र बैठकमा सो विषयले पनि प्राथमिकता पाउने उक्त समूहका नेताहरूको दाबी छ। ‘पार्टीले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ। व्यक्ति नै पार्टी हो भन्ने चरित्र र प्रवृत्ति त्याग्नुपर्छ। त्यसको निक्र्योल यही बैठकबाट हुनेछ,’ दाहाल–नेपालनिकट स्रोतले भन्यो, ‘बैठकमा आएका एजेन्डामा छलफल हुन्छ। त्यहाँबाट हुने निर्णय सबैले मान्नुपर्छ।’ स्थायी कमिटीमा बहुमत पुग्ने भएकाले दाहाल–नेपाल समूहले ओलीको दम्भ र अहंकारलाई पराजित गरेर जाने मनस्थिति बनाएको खुमलटार स्रोतले जनाएको छ।

केही दिनयता दुई अध्यक्ष ओली र दाहालबीच संवाद हुन सकेको छैन। ओलीले पनि दाहाललाई संवादका लागि बोलाएका छैनन् भने दाहालले पनि त्यस्तो चाहना राखेका छैनन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा दाहालले ‘मैले प्रधानमन्त्री हुन एमालेमा प्रवेश गर्नुपर्ने हो र ?’ भन्ने प्रश्न गर्दै ओलीले जबज माने पार्टी नेतृत्व दिने संकेत गरेकोप्रति असन्तुष्टि जनाएका थिए। त्यसपछि दुई नेताबीच अहिलेसम्म संवाद हुन सकेको छैन। दुई अध्यक्षबीच संवादहीनताको स्थिति आएपछि अहिले प्रधानमन्त्री ओलीले आफू पक्षका नेताहरूलाई बोलाएर भेटघाट गरिरहेका छन्। त्यसका अतिरिक्त उनले प्रभावशाली मन्त्रीहरूलाई समेत बोलाएर भेटघाट गरेको जनाइएको छ।

बालुवाटार स्रोतका अनुसार पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन तथा पूर्वमन्त्री भीम रावललगायतलाई बोलाएर बेग्लाबेग्लै भेटघाट गरेका थिए। स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध बहुमत पुग्ने भएपछि बैठक अघि बढाउने र त्यहीबाट निर्णय गराएर ओलीलाई गलाउने रणनीति दाहाल–नेपालको छ।  

कोठे बैठकमा विश्वास छैन: वामदेव  
दाहाल–नेपालले ओलीको राजीनामा माग गरिरहेका बेला पार्टीका उपाध्यक्ष वामदेव गौतम भने खुमलटार बैठकमा जान छाडेका छन्। ‘दाहाल, नेपाल कसैको भर छैन, कोठे बैठकमा जानुको अर्थ छैन,’ उनीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले दुईमध्ये एक पदमा राजीनामा दिनुपर्छ भन्ने मेरो अडान कायम रहेको भन्दै उनी जान छाडेका हुन्।’  

स्रोतका अनुसार गौतमले मागमा अडान कायम राख्ने तर कोठे बैठकमा उपस्थित नहुने भनेर दाहाल–नेपाललाई जानकारी गराएका थिए। तर, गौतमले शुक्रबार दिउँसो नेता नेपालसँग चार घन्टा छलफल गरेका थिए। नक्सालस्थित छोरा हरिश गौतमको कार्यालयमा दुई नेताबीच भेटघाट भएको थियो। ‘दाहाल र नेपालसँग उहाँको छुट्टछुट्टै भेटघाट भइरहेको छ,’ गौतमनिकट स्रोतले भन्यो। खुमलटार बैठकमा रामबहादुर थापा र गौतम धेरै दिनदेखि अनुपस्थित छन्।  

केन्द्रीय कमिटी बैठकको माग गर्ने तयारी  
सचिवालय बैठक र स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद समाधान गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटीको बैठक माग गर्ने तयारी गरेका छन्। केन्द्रीय सदस्य दिलु पन्तले नेताहरू विवाद समाधान गर्न असफल भएको बताइन्। अब केन्द्रीय कमिटीको बैठकले मात्रै विवाद समाधान गर्न सक्ने उल्लेख गर्दै उनले केन्द्रीय कमिटी बैठकको आवश्यकता औंल्याइन्।

केन्द्रीय कमिटी बैठक माग गर्दै एक चौथाइ सदस्यले हस्ताक्षरसमेत गरिसकेका छन्। यस्तो अवस्थामा १५ दिनभित्र बैठक बोलाउनुपर्ने नेकपाको विधानमा उल्लेख छ। मंगलबार बस्ने स्थायी कमिटी बैठकले पनि विवाद समाधान गर्ने तत्परता नदेखाए हस्ताक्षर संकलन गरेर बुझाउने तयारीमा केन्द्रीय सदस्यहरू रहेका हुन्।

प्रकाशित: १३ श्रावण २०७७ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App