७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिलाई काँग्रेसको आग्रह, ‘चलखेल गर्ने भए मार्गप्रशस्त गर्नुस्’

प्रदेश १

राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताविरुद्ध प्रदेश १ संसद्मा तीव्र विरोध भएको छ। मुख्य विपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सोमबारको संसद् बैठकमा राजनीतिक चलखेल गर्ने मन भए मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।

‘सर्वप्रथम नेकपालाई बधाई छ, बल्खुमा भवन भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ', शुन्य समयमा बोल्दै प्रमुख सचेतक कार्कीले भने ‘अहिले अध्यक्ष भनिएका दुई जना खासमा उपाध्यक्ष रहेछन्, वास्तविक अध्यक्ष राष्ट्रपतिज्यू नै हुनुहुँदोरहेछ।’ मुलुकको सर्वोच्च पदको गरिमा समाप्त पार्ने काम भइरहेको आरोप लगाउँदै कार्कीले थपे ‘संविधानले किटान गरेको संवैधानिक भूमिकाभन्दा राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए राष्ट्रपतिले मार्गप्रशस्त गर्नुपर्छ।’

एक अर्को प्रसंगमा प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय भ्रष्टाचारको अखडा बनेको आरोप पनि लगाए। ‘मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालय मातहत ल्याएको घोषणा गरियो। अहिले फेरि अनेक नाममा पोलिटेक्निकलाई बजेट खन्याउने काम भइरहेको छ। जग्गा किन्ने सूचना जारी भयो तर एक करोडको लेनदेन नहुने भएपछि सूचना रद्द गरिएको छ। मुख्यमन्त्रीले यसबारे छानबिन गर्ने हिम्मत देखाउनुपर्छ।’

संसद् बैठकमा अन्य विपक्षी तथा सत्तारुढ सांसदहरुले पूर्व गोर्खा सैनिक, सिंगापुर प्रहरीका अवकाश प्राप्त ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन बन्द गर्ने सरकारी निर्णयको विरोध गरेका छन्। संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे, नेकपा सांसद राजन राई लगायतले उनीहरुको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गरेका हुन्। सरकारले असार १७ मा यस्तो निर्णय गरेको थियो। दोहोरो सुविधा नपाउने सरकारी तर्क हावादारी भएको भन्दै उनीहरुले पेन्सनवापतको पैसा नेपाल सरकारले दिएको हो र ? भन्दै प्रश्नसमेत गरेका थिए।

काँग्रेस सांसद ओमप्रकाश सरावगीले भद्रपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला समृति भवनलाई सरकारले अलपत्र पारेको आरोप लगाए। 'केही वर्षदेखि भवनलाई बजेट नै रोकिएको छ। के गिरिजाप्रसादको नामकै आधारमा बजेट रोकिएको हो', उनले सोधे 'यदि होइन भने धवन निर्माण सम्पन्न हुने गरी बजेट उपलब्ध गराउनुपर्यो।’

प्रकाशित: ५ श्रावण २०७७ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App