coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल–भारत सीमाका ८ सय ९२ वटा सीमास्तम्भ गायब

सशस्त्र प्रहरी पोष्टमाथि आक्रमण

नेपाल–भारत सीमाक्षेत्रमा ८सय ९२ वटा  सीमास्तम्भ (पिलर) गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६  वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८ वटा पिलर निर्माण गरेको छ भने ४ हजार ३सय ४५ वटा पिलर निर्माण गर्न बाँकी छ।  

नापी विभागका अनुसार कार्यदलले हालसम्म १हजार ७सय ६३वटा मर्मत गरेको छ भने २हजार ४सय ४५ वटा पिलर नयाँ निर्माण गरेको छ। यसअघि बिछ्याइएका पिलरमध्ये विभिन्न कारणबाट ८सय ९२ वटा हराएको विभागको भनाइ छ। सुगौली सन्धिपछि दुवै देशको सीमामा ८ हजार ५ सय ५३ पिलर गाडिएको थियो। तीमध्ये कतिपय लडेका, कतिपय हराएका, कतिपय मर्मत गर्नुपर्ने अवस्थामा पुगेकाले ६ वर्षदेखि वैज्ञानिक मापन जारी छ। वैज्ञानिक मापनपछि पनि कतिपय ठाउँमा पिलर गायब गरिएका छन्।  

नेपाल–भारत सीमाक्षेत्र  ठोरीमा गाडिएका ४सय ३६ नम्बरको सीमास्तम्भ आइतबार बिहान गायब गरिएको छ। यसको औपचारिक जानकारी विभागमा भने नआएको विभागका कर्मचारीको भनाइ छ। विभागका अनुसार ठोरीमा सन् २००७मै वैज्ञानिक सीमा मापनको काम पूरा भएको हो।  

सन् १८१६ को सुगौली सन्धिलाई आधार मानेर सीमाक्षेत्रको वैज्ञानिक मापन सुरु गरिएको नापी विभागको भनाइ छ। यसरी सीमा मापन गर्दा नेपालले भोगचलन गरेको केही भूभाग भारततिर र भारतले भोगचलन गरेको केही भूभाग नेपालतिर आएको निष्कर्ष विभागले निकालेको छ। विभागका अनुसार हाल ४ वटा टोली बनाएर सीमाक्षेत्रको वैज्ञानिक मापनको काम सुरू गरिएको छ। जस अनुसार  एउटा टोली सुनसरीदेखि पूर्व इलामसम्मका लागि खटेको छ। सो टोलीले सुनसरी, मोरङ, झापा र इलामको सीमाक्षेत्रमा काम गर्नेछ। हाल यो टोली झापामा कार्यरत छ। यसैगरी अर्को टोली सुनसरीदेखि चितवनसम्मका लागि खटेको छ। हाल यो टोली धनुषामा कार्यरत छ। तेस्रो टोली नवलपरासीदेखि कपिलवस्तु, बाँकेसम्मका लागि खटेको छ। हाल सो टोली बाँकेमा कार्यरत छ। यसैगरी चौथो टोली कैलाली र कञ्चनपुरका लागि खटेको छ।  

हराएका सीमास्तम्भ जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिमार्फत पत्ता लगाई पुनःस्थापना गर्ने, आवश्यक ठाउँमा नयाँ राख्ने, बिग्रे–भत्केकाको मर्मत गर्ने र सीमाक्षेत्र अतिक्रमण गरेर बसेकालाई हटाउन २०७१ मा नेपाल–भारत संयुक्त सीमा कार्यदल गठन गरिएको थियो। नापी विभागका सर्भे अधिकृत र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली कार्यदलले काम गरिरहेको छ।  

यसअघि २०३८ सालमा नेपाल–भारत सीमा वैैज्ञानिक मापन गर्न थालिएको थियो। यसका लागि नेपाल–भारत संयुक्त प्राविधिक टोली गठन गरिएको थियो। टोलीले सीमामा ८ हजार ५ सय ५४ वटा पिलर गाड्नुपर्ने निष्कर्ष निकाले थियो। तर पछि त्यो टोली बिघटन गरिएको थियो। २०४५ सालमा फेरि नेपाल–भारत संयुक्त कार्यदलले सुगौली सन्धी हुँदा जुनजुन ठाउँमा खोलानदी थिए, त्यसलाई आधार मानी वैज्ञानिक मापन गर्ने सहमति गरेको थियो। सुगौली सन्धीपछि राखिएका सीमास्तम्भमध्ये हाल दर्जनांै नष्ट भएका, बिग्रेका र गायब भएको विभागले जनाएको छ। विभागका अनुसार महाकालीको ब्रम्हदेव मण्डी बजारदेखि माथिको सीमा र ताप्लेजुङको उच्च भूभागा स्तम्भ गाड्न भौगलिक बिकटताका कारण निकै कठिन छ।

सशस्त्र प्रहरी पोष्टमाथि आक्रमण 

दमक - झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिका–५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरी पोष्टमाथि भारतीय अज्ञात समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन्।

नेपाल–भारत सीमाक्षेत्रको सशस्त्र प्रहरी पोष्टमाथि गए राति ९ बजेर १५ मिनेट समयमा करिब ४० र ५० जनाको संख्यामा आएको घरेलु हतियारीधारीको एक समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन्। उनीहरूको शरीरमा चोट लागेको बताइएको छ।

डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३ सय मिटरपूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले ४ राउण्ड हवाई फायरसमेत गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक साइमनश्रेष्ठले बताए। झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउलगायत घरेलु हातहतियार प्रयोग गरेका थिए।  

हवाई फायरपछि आक्रमणकारीहरू तितरबितर भई भारततर्फ नै भागेको प्रहरीले जनाएको छ। भारतीय तस्करले नेपालतर्फ मालसमान लैजान नपाएको झाेंकमा प्रहरीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ। लामोसमयसम्म लडडाउनका कारण सीमाक्षेत्रमा सशस्त्र प्रहरीले कडारूपमा गस्ती तीव्र बनाउँदै आएपछि तस्करहरूले नेपालतर्फ सामान ढुवानी गर्न पाएका छैनन्। यसअघिमेत जिल्लाको झापा गाँउपालिकास्थित सीमाक्षेत्रमा भारतीय समूहले त्यसरीनै आक्रमण गरेका थिए।

प्रकाशित: ५ श्रावण २०७७ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App