७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोलिदैन : सञ्चारमन्त्री

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए ।  

सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन् । नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिबन्ध नहट्ने उनले बताए । उनले भने, 'नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँदैन । भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाउनुभयो । परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।'

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन/प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ ।

प्रकाशित: २८ असार २०७७ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App