८ वैशाख २०८१ शनिबार
राजनीति

सीको सन्देशले ओलीविरोधी शिविर शिथिल

फाइल तस्बीर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले भेटवार्ता गरेपछि पार्टीअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी शिविर शिथिल बनेको छ। नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर राजदूत यान्छीले शीर्ष नेताहरूसँग भेटवार्ता गरेपछि ओलीविरोधी शिविर शिथिल बनेको होे।  

नेकपाभित्रको विवाद छताछुल्ल भइरहेको अवस्थामा असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी यान्छीले २१ गते नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, २३ गते झलनाथ खनाल र २५ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग भेटी चिनियाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को सन्देश सुनाएकी थिइन्। ‘चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ राष्ट्रपतिको चाहना नेपालमा कम्युनिस्ट पार्टी एकजुट भएको हेर्ने भएकाले यही सन्देश लिएर आएकी छु,’ नेताहरूसँगको भेटमा राजदूत हउलाई उद्धृत गर्दै स्रोतले भन्यो।

 स्रोतका अनुसार राजदूत हउले सबै नेतालाई सोही सन्देश सुनाएकी थिइन्। उनले नेपालमा कम्युनिस्ट पार्टीको भविष्य सुन्दर रहेको बताउँदै नेकपाले एकताबद्ध भएर सरकार चलाउनुपर्ने सन्देश चिनियाँ कम्युनिस्ट पार्टीको रहेको जानकारी नेताहरूलाई गराएकी थिइन्। राजदूत हउसँगको भेटपछि दाहाल, नेपाल, खनाललगायत नेता ओलीविरुद्धको अभियानलाई बिस्तारै कमजोर बनाउने मनस्थितिमा पुगेका छन्।

भेटमा राजदूत हउले चिनियाँ कम्युनिस्ट पार्टीले नेकपासँग आन्तरिक प्रशिक्षण र सरकार सञ्चालनको अनुभव आदानप्रदान गर्दै आएको स्मरण पनि गराएकी थिइन्। गत वर्ष सिपिसी र नेकपाबीच एकअर्का पार्टीको अनुभव आदानप्रदान गर्नेलगायत ६ बुँदे सहमति भएको थियो।  

सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन  चिनियाँ राजदूत हउको सक्रियता, हस्तक्षेप र भेटघाट विषयमा टीकाटिप्पणी भइरहेको छ। भारतीय राजदूतले यसअघि नेपालको राजनीतिमा हस्तक्षेप गर्न यस्तै प्रकारका भेटघाट गर्दा आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै विरोध हुन्थ्यो। अहिले नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हउको सक्रियता र दौडधुपलाई लिएर ‘नेकपाको आन्तरिक विवादमा चीनको हस्तक्षेप’ भनेर फेरि टिप्पणी गर्न थालिएको छ।  

चिनियाँ राजदूत हउ यान्छीसँग भेटघाट  

असार २५ गते पुष्पकमल दाहाल

असार २३ गते झलनाथ खनाल

असार २१ गते माधवकुमार नेपाल

असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी

असार १० देखि सुरु नेकपा स्थायी कमिटी बैठक आन्तरिक किचलोका कारण निष्कर्षमा पुग्न सकेको छैन। कमिटीको बैठकमा दाहाल, नेपाललगायत बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने भनेपछि विवाद पेचिलो बनेको थियो। ओलीले दुवै पद नछाड्ने अडान राखेपछि असार १८ पछि स्थायी कमिटी बैठक नै बस्न सकेको छैन। मुलुकमा बाढीपहिरोको कारण देखाएर नेकपाले बैठक स्थगित गरी अब साउन २ गते बस्ने जनाएको छ। बैठक स्थगित भएपछि कार्यकारी अध्यक्ष दाहाल शनिबार बाढीपहिरोको क्षति अवलोकन गर्न आफ्नो निर्वाचन क्षेत्र वा गृहजिल्ला चितवन गएका छन्।  

बुधबारयता दुई अध्यक्ष ओली र दाहालबीच संवादहीनताको अवस्था छ। दाहालले शनिबार चितवन पुगेर आफूले सरकारमा जान हतार नगरेको अभिव्यक्ति दिएका छन्।  

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गरी पार्टीभित्रको विवाद र सरकारको विषय फरक भएको सन्देश दिएका थिए। यस्तो अभिव्यक्तिले दुवै नेता पार्टीभित्रको आन्तरिक विवाद स्थगन गर्ने अवस्थामा पुगेको आभास हुन्छ।  ओलीले पार्टीअध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने र विरोधी पक्षले राजीनामा दिनुपर्ने अडान राखेपछि नेकपा विवाद गम्भीर मोडमा पुगेको थियो। 

यस्तो अवस्थामा विवाद मिलाउन राजदूत हउले पालैपालो नेताहरूलाई भेटी विवाद मत्थर गराउने कोसिस गरेको चर्चा नेकपा वृत्तमा चलेको छ। पटकपटक स्थायी कमिटी बैठक स्थागित गरेर पार्टीभित्रको विवाद कमजोर पार्ने काम भइरहेको छ। ‘स्थायी कमिटी बैठक पालैपालो दुवै अध्यक्षको आग्रहमा स्थगित भइरहेको छ। यसको अर्थ विवादको दुरी कम गराउनु पनि हो,’ स्थायी कमिटीका एक सदस्यले भने।  

चिनियाँ राजदूत हउ यान्छीसँगको भेटपछि दाहाल, नेपाल, खनाललगायत नेताहरू ओलीविरुद्धको अभियान बिस्तारै कमजोर बनाउने मनस्थितिमा पुगेका छन्।

राजदूत हउले नेताहरूसँग भेटघाट गरिरहेका बेला बिहीबार बिहान अध्यक्ष दाहाललाई भेट्न पुगेका उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल समस्या टार्नेगरी छलफल अघि बढाउन आग्रह गरेका थिए। ती नेताले आगामी दिनमा आउने अवसरमा आफूहरूको साथ र सहयोग दाहाललाई रहने पनि बताएका थिए। सो भेटमा दाहालले आफू पार्टी फुटाउने पक्षमा नरहेको र एकताबद्ध रूपमा अघि बढाउन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताएका थिए। 

त्यसैगरी दाहाललाई जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेतलगायतले भेटेका थिए। उनीहरूसँग पनि दाहालले पार्टी फुटाउने काम आफूबाट नहुने बताएका थिए। दाहालसँगको भेटपछि शर्माले अब पार्टीभित्रको किचलो बिर्सिदिऔं भनेका छन्। ‘आज फेरि अँध्यारो पन्छिएर बिहानी झुल्किएको छ। पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिऔं। अतिवृष्टि र कोरोना महामारीबाट पार पाउन नयाँ सिराबाट काम थालौं,’ उनले भनेका छन्।

 त्यसैगरी ओलीसँग निकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सामाजिक सञ्जालमा पार्टी एकताको चुडिन लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरूको सकारात्मक साथ र सहयोग रहने विश्वासका साथ शुक्रबार कार्यक्षेत्र बुटवल फर्किएको लेखेका छन्। ‘पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रक्रिया अघि बढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ, पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो। पार्टी एकताबाटै उज्यालो भविष्य सुनिश्चित हुन्छ। पार्टी एकता रक्षाका लागि एकताको मूल मर्म र भावनाको अनुशरण गरौं। निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन,’ उनले लेखेका छन्। उनले नेपालको स्वाभिमान र अखण्डताको रक्षाका लागि प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एक भएर साथ दिने बेलामा पार्टीमै विवाद देखिनु राम्रो नभएको पनि बताएका छन्।  पार्टीभित्र दोस्रो तहका नेता घनश्याम भुसाललगायतले पनि दुवै अध्यक्षलाई सहमति गरेर अघि बढ्न दबाब दिइरहेका छन्।  

‘एकता जोगाउन संषर्ष’  

चितवन, असार २७ (नागरिक)– नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता जोगाउन आफू संघर्ष गरिरहेको बताएका छन्। दाहालले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकामा बाढीप्रभावित स्थलको अवलोकनपछि माडीमा आयोजित कार्यक्रममा भने, ‘पार्टी एकता जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु। पार्टी नफुटोस् भन्नेमा हामी सबै सचेत छौं।’

दाहालले आफू हतारमा निर्णय गरी फुर्सदमा पछुताउने काम नगर्ने पनि बताए। ‘पार्टीमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र म आन्तरिक प्रतिस्पर्धामा छौं,’ दाहालले भने, ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन।’  

दाहालले कोरोना महामारी देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागिपरेको पनि बताए। ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन् तर हामी सधैं एक छौं।’

प्रकाशित: २८ असार २०७७ ०१:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App