७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेयरको पेश्की बेरुजु विषयले धरानको नगरसभा अन्योल

नेकपाका कार्यपालिका सदस्यहरुद्वारा कार्यपालिका बैठक बहिष्कार

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्ष । तस्बिर : रोहित राई

कांग्रेसबाट चुनिएका मेयर र कार्यपालिकामा बहुमत रहेको नेकपाका उपमेयर एवं कार्यपालिका सदस्यहरुबीचको विवादले धरान उपमहानगरपालिकाको सातौं नगरसभा अन्योल भएको छ ।

असार १० गते सुरु भएको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि असार २६ गते बैठक बस्ने गरि स्थगित भएको थियो । निधारित मिति अनुसार शुक्रबार हुनुपर्ने नगरसभाको दोस्रो बैठक बस्न सकेन । नगरसभा हुन नसकेपछि आज(शुक्रबार) बसेको कार्यपालिका बैठक पनि नेकपाका कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि भाँडिएको छ ।  

बैठकमा बुधबार स्थानीय एक दैनिक पत्रिकामा मेयर तिलक राईले करिब १३ वर्षअघि पेश्की लिएको करिब अढाई लाख बजेट बेरुजु भएको समाचारको विषयमा नेकपाका कार्यपालिका सदस्यहरुले प्रश्न उठाएका थिए । मेयरले चित्त बुझ्दो जवाफ नदिएपछि बैठक बहिष्कार गरिएको नेकपाबाट विजयी अध्यक्षहरुको भनाई छ । ‘मेयरको नाममा बेरुजु भएको समाचार आयो । त्यसको यथार्थ के हो ? नगर प्रमुख क्लिन हुनुस्, क्लियर गर्नुस् भन्यौ तर चित्तबुझदो जवाफ नआएपछि हामीले बैठक बहिष्कार गर्‍यौं,’वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले भने,‘आज नगरसभा हुन नसक्नुमा पनि मेयरको कारण हो, सभा हुनुपर्ने दिनमा कार्यपालिका बैठक बोलाउनु भयो, किन यस्तो भयो ?’

धरानमा मेयर र उपमेयरसहित ३० जना कार्यपालिका सदस्य रहेको छ । ती मध्ये मेयर र ५ जना वडाअध्यक्ष मात्र कांग्रेसको छ भने उपमेयरसहित बाँकी १५ वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु नेकपाको रहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपाबाट निवार्चित मेयर तारा सुब्बाको एक वर्षपछि निधन भएको थियो । गएको मंसिरमा भएको उपनिर्वाचनबाट कम्युनिष्ट विरासत तोड्दै पहिलो पटक कांग्रेसका उम्मेदवार तिलक राईले मेयरमा जितेका हुन् । नेतृत्व कांग्रेसबाट भए पनि कार्यपालिकामा नेकपाको बहुमत भएकोले पछिल्लो समय धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा रस्साकस्सी पर्ने गरेको छ ।  

कार्यपालिका बैठक रोकिएकोमा मेयर राईले जिम्मेवारी आफूले लिने बताए । पत्रिकामा पेश्की फछ्यौटको विषयमा आएको समाचारमा नगर प्रमुखको नाम जोडिएकोले आफू जवाफदेही बन्नुपर्ने प्रतिक्रिया दिए । ‘मलाई पनि थाह नभएको विषय हो, र लेखाको कर्मचारीहरुलाई सोधे । उहाँहरुले असार मसान्त लागेको छ, समस्या छ, असार पछि गरौं भन्नुभयो,’मेयर राईले भने,‘तर मैले पुरानो कागज खोजे, भेटे पनि । कार्यपालिकामा कुरा उठाउनुभयो, बेरुजुको प्रसंग उठ्यो, त्यो क्लियर गर्नुस् भन्नु भयो र मैले सकरात्मकरुपमा नै लिएको छुँ ।’  

उनले पेश्की बेरुजुको कुरा उठ्नु सकरात्मक लिएको र अब सबैको पेश्की फछ्यौट गर्न उपमहानगरपालिका लागि पर्ने बताए । आफ्नो नाममा पेश्की बेरुजुको विषयमा थप पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने मेयर राईले बताए । उनले तत्कालिक बुद्धचोक व्यवस्थित गर्न समिति बनेको र काम पनि भएको दाबी गरे । ‘नगरसभा पहिला भन्दा केही ढिला हुन्छ, तर असार भित्रै बजेट पास गछौं । चाडै कार्यपालिकामा सहमति हुन्छ, र समयमै सक्छौं,’उनले भने ।

प्रकाशित: २६ असार २०७७ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App