coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सीमा नाघ्दै भारतीय मिडिया

अमेरिकी दार्शनिक नोम्स चम्स्कीले भनेका छन्, ‘पत्रकारको काम सत्य भन्ने हो, पत्रकारिता भनेको वास्तविक तथ्यसम्म पुग्ने हो। तिमी डकुमेन्टहरु अध्ययन गर, अभिलिखित कुरा पत्ता लगाऊ र त्यही अनुसार रिपोर्टिङ गर।’

यसको अर्थ हो पत्रकारले तथ्यमा रहेर रिपोर्टिङ गर्नुपर्छ, पत्रकारिताले सत्य बोल्नुपर्छ। पत्रकारिताको आधारभूत तत्व नै सत्यप्रतिको विश्वास हो।

पछिल्लो समय नेपाल र भारतबीच सीमा विवाद चलिरहेका बेला भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हउ यान्छीलाई जोडेर गरिरहेको अनर्गल प्रचारले पत्रकारिताको ओज घटाउने काम त ग-यो नै, भारतीय मिडिया सफेद झुटको खेती गर्ने पुलिन्दा हुन् भन्ने पनि पुष्टि गरेको छ।

भारतले आफ्नो भूभाग अतिक्रमण गरेको विषयमा विरोध गर्दै नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि त्यहाँको शीर्ष राजनीतिक नेतृत्वदेखि मिडियाले समेत निरन्तर नेपाल चीनको स्वार्थअनुसार चलिरहेको आरोप लगाउँदै आएका छन्। नेपालका प्रधानमन्त्री चिनियाँ राजदूतको ‘हनी ट्र्याप’ मा परेको भन्दै भइरहेको मिथ्या प्रचार नेपालले चीनको स्वार्थअनुसार काम गरिरहेको छ भन्ने भ्रान्ति स्थापित गराउने भारतीय मिडियाको अर्काे प्रयास हो। भारतको सार्वभौमिकतामा थोरै पनि आँच आउँदा चर्काे रुपमा प्रस्तुत हुने भारतीय मिडिया अर्काे देशको सार्वभौमिकताको भने ख्यालै नगरी नाङ्गो रुपमा उत्रिरहेका छन्।

भारतको ‘जी न्युज’ अन्तर्गतको ‘जी बिहार झारखण्ड’ ले चिनियाँ राजदूत यान्छीबारे करिब १५ मिनेट लामो फर्जी रिपोर्ट तयार पारेको छ। भारतको टिभी–९ लगायतका सञ्चार माध्यमले यसै विषयमा बहससमेत आयोजना गरेका छन्। टिभी–९ ले पूर्वपरराष्ट्रमन्त्री एवं जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई समेत बहसमा सहभागी गरायो। उक्त संवादमा यादवसमेत भारतीय मिडियामा चिप्लिएको उनका अभिव्यक्तिबाट देखिन्छ। ‘हनी ट्र्याप’ बारेमा सोधिएको प्रश्नमा यादवले जरासम्म पुगेर छानबिन गर्नुपर्ने बताएका छन्। यस विषयमा नागरिकले राखेको जिज्ञामामा भने यादवले आफ्नो भनाइलाई प्रस्तोताले तोडमोड गरेको आरोप लगाए।  

भारतको सार्वभौमिकतामा थोरै पनि आँच आउँदा चर्काे रुपमा प्रस्तुत हुने भारतीय मिडिया अर्काे देशको सार्वभौमिकताको भने ख्यालै नगरी नाङ्गो रुपमा उत्रिरहेका छन्।

भारतका टाइम्स अफ इन्डियालगायतका कतिपय नाम चलेका सञ्चार संस्थाले समेत प्रधानमन्त्री ओलीबारे भ्रम सिर्जना गर्ने सामग्री निरन्तर प्रकाशित गरिरहेका छन्। भारतीय मिडियामा एकपछि अर्काे गर्दै नेपाल र प्रधानमन्त्री ओलीका बारेमा भ्रम सिर्जना गर्नेगरी सम्प्रेषण भइरहेका सामग्री कुनै पनि हिसाबले पत्रकारिताको परिभाषा र मापदण्डभित्र नपर्ने विज्ञ बताउँछन्।

भारतीय मिडियामा निरन्तर रुपमा प्रधानमन्त्री ओलीविरुद्ध झुटा सामग्री सम्प्रेषण हुन थालेपछि नेपालमा आलोचना सुरु भएको छ। नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको ट्विट मार्फत् बताएका छन्। उनले लेखेका छन्, ‘भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर। हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति हामी एक ढिक्को छौं। विदेशीको फुटाऊ र स्वार्थ पूरा गर भन्ने नीति सफल हुन दिनेछैनौं। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले पनि ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओलीसँग अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनसहितका कयौं विषयमा गम्भीर मतभेद छ तर प्रधानमन्त्रीका विरुद्ध योजनाबद्ध रुपमा निरन्तर बदनाम गराउने केही भारतीय मिडियाको अभियान स्वीकार्य छैन। त्यसले नेपाल–भारत सम्बन्धलाई कुनै पनि ढंगले राम्रो गर्दैन।’

नेपाल पत्रकार महासंघले प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यममा आएका समाचारलाई पीत पत्रकारिताको नमुना भनेको छ। महासंघले भारतीय मिडियामा प्रकाशित सामग्रीलाई प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको ठहर गरेको छ। ‘जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक रहेको जनाएको छ। महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झुटा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतीय मिडियाको कुप्रचारविरुद्ध कूटनीतिक माध्यम परिचालन गर्ने र राजनीतिक तथा कानुनी माध्यमबाट उपचार खोज्ने बताएका छन्। ‘हामीले दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी, मानमर्यादामा आँच पु-याउने गरी, प्रतिष्ठा घटाउने गरी प्रकाशित भएका समाचार तथा विश्लेषणको भत्र्सना गर्छौं’, उनले भने। सरकारले कुनै मिडियालाई प्रतिबन्ध लगाउनेभन्दा पनि मिडिया आफैं अनुशासनमा बसून्, सही समाचार मात्र सम्प्रेषण गरून् भन्ने चाहेको उनले बताए।

भारतीय न्युज च्यानलको प्रसारण बन्द  
भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक अन्य भारतीय न्युज च्यानलहरूको प्रसारण रोक्ने निर्णय गरेको हो।  

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले अधिकांश भारतीय च्यानल बन्द गरिएको जानकारी दिए। उनले गालीगलौजरूपी सामग्री प्रसारण गरेका कारण च्यानलहरू बन्द गरिएको बताए।  

‘हामीले बैठक बसी हाललाई अधिकांश भारतीय च्यानल बन्द गरेका छौं, कहिलेसम्म भन्ने कुनै निश्चितता छैन,’ उनले भने। उनले डिसहोम, डिएसएन, मेगा म्याक्स, मेरो टिभीलगायत अपरेटरहरूको बैठक बसेर च्यानल बन्द गरिएको जानकारी दिए।  

यसबारे शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने पनि उनले जानकारी दिए। केबल अपरेटरहरूलाई सरकारले आग्रह गर्दा जुनसुकै बेला विदेशी च्यानलको प्रसारण रोक्न सक्ने भएकाले सहकार्य गर्न आवश्यक रहेको शर्माले बताए।  

केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषयवस्तु बनाएर प्रसारण गरेका थिए। सोही कारण ती च्यानल नेपालमा बन्द (नदेखिने) गराइएको हो। आजतक, डिडी न्युज, सहारासहित केही च्यानल भने प्रसारण भइरहेका छन्।

प्रकाशित: २६ असार २०७७ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App