१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेकपामा पाँच लाइन, ओलीको चट्टानी अडान

ओलीः दुवै पद छाडदिनँ, अन्य विषयमा मात्रै छलफल गरौं/दाहालः एक पद रोजेर लिनुस्, बाँकी छाड्नुस्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउने नाममा नेताहरूले आ–आफ्नै लाइन प्रस्तुत गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र दोस्रो पुस्ताका नेता घनश्याम भुसालसम्मले शीर्ष नेताहरूबीच उत्पन्न विवाद मिलाउन आ–आफ्नै लाइन प्रस्तुत गरेका हुन्।  

स्थायी कमिटी बैठक रोकेर निरन्तर छलफलमा रहेका दुई अध्यक्षबीच प्रधानमन्त्री कि पार्टी अध्यक्ष भन्ने विषय मिल्न सकेको छैन। ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने मागबाट दाहाल एक कदम पछाडि हटेका छन्। दुईमध्ये एक पद छाड्न गरिएको आग्रह बेवास्ता गरी ओलीले दुवै पदमा आफू रहनुपर्ने अडान कायम राखेका छन्। उनले दुवै पदबाट नहट्ने बताउँदै अन्य विषयमा मात्रै छलफल गरौं भनिरहेका छन्। बुधबार साँझको छलफलमा पनि ओलीले सोही अडान दोहो¥याएका छन्।  

‘दुवै अध्यक्षबीच भएको छलफलमा ओली अझै सकारात्मक छैनन्। अब छलफल गर्ने कि नगर्ने अन्योल भयो,’ बुधबार साँझ दाहालनिकट एक सदस्यले भने।  तत्कालीन माओवादी केन्द्र समूहका केही नेताले ओलीलाई दुवै पदबाट हटाउने कुरा अनुपयुक्त भएको र एक पदमा सहमति गरी अधिकतम उपलब्धि हासिल गनुपर्ने सुझाव दिएपछि दाहालले दुईमध्ये एक पद रोज्न उनलाई आग्रह गरेका हुन्।  

असार १० देखि सुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै बेला १४ असारमा मदन भण्डारीको जन्मदिनका दिन प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागेको धारणा सार्वजनिक गरेका थिए। त्यसपछि भित्रभित्रै झाँगिएको विवाद उत्कर्षमा प्रवेश गरेको थियो। जारी स्थायी कमिटी बैठकमा तय भएका मुख्य अजेन्डामै प्रवेश नगरी ओलीले लगाएको आरोपप्रति नेताहरूले आपत्ति जनाएपछि पार्टीभित्रको विवाद चर्केको हो।

 विवाद चर्केपछि स्थायी कमिटीको बैठक रोकेर दुई अध्यक्षले सहयोगीसमेत राखेर दुई दिन छलफल गरे पनि निकास निस्केको छैन। दाहालले राखेका दुईमध्ये एक पद छाड्ने पछिल्लो प्रस्तावमा ओलीले सहमति जनाउन सकेका छैनन्। वरिष्ठ नेता माधव नेपालले पनि ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने बताउँदै आएका छन्। नेपालले ओलीले सरकार छाडे आफूले प्रधानमन्त्रीमा दाबी नगर्ने र दाहाललाई प्रधानमन्त्रीमा सहयोग गर्ने वचन दिएका छन्। नेपालबाट यस्तो वचन पाएपछि दाहाल पनि ओलीलाई एक पद छाड्न दबाब दिएर गलाउने मनस्थितिमा पुगेका छन्।  

नेपालः अब ओली सच्चिनुपर्छ। पार्टीमा व्यक्ति होइन, विधि र नीति प्रधान हुनुपर्छ।  

थापाः सरकारको जिम्मा ओली र पार्टीको जिम्मा दाहाललाई दिनुपर्छ।

भुसालः नेताहरूले आ–आफ्ना पीडा महसुस गर्नुपर्छ।  

दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने आमनेता–कार्यकर्ताको भनाइ आएकाले प्रधानमन्त्री ओलीले पनि केही न केही त्याग गर्नुपर्ने बताए। ‘दुवै अध्यक्षले आ–आफ्ना कमजोरीबारे छलफल गरेपछि दुवै एक ठाउँमा उभिनुपर्छ, पार्टीलाई एकताबद्ध बनाउनुपर्छ, त्यसकारण दुवैले त्याग गर्नुपर्छ,’ पौडेलले भने। उनका अनुसार अहिलेसम्म दुवै अध्यक्ष आ–आफ्नै अडानमा छन्।  

वरिष्ठ नेता नेपाल ओलीको पेलाइबाट आजित भएर उनलाई ‘साइज’ मा ल्याउनुपर्ने ठान्छन्। ओलीले पार्टीभित्र आफूलाई ‘कर्नर’ मा पारेको गुनासो नेपाल पक्षको छ। यसै कारण नेपालले दाहाललाई अघि सारेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन दबाब दिइरहेका छन्। ‘ओलीको पेलाइ हद भयो। सर्वसत्तावादी चरित्र देखाउने, विपक्षीभन्दा आफ्ना पार्टीका नेता–कार्यकर्तालाई पेल्ने र पार्टीमा कुनै स्थान नदिने ओलीको प्रवृत्ति छ, त्यसका लागि पनि अहिलेको संघर्ष आवश्यक छ,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘अब ओली सच्चिनुपर्छ। पार्टीमा व्यक्ति होइन, विधि र नीति प्रधान हुनुपर्छ। ओलीले यसबारे ध्यान दिनुपर्छ।’ पार्टीलाई विचार र सिद्धान्तको मार्गचित्रबाट अघि बढाउनुपर्छ र बैठकबाटै समाधान खोज्नुपर्छ भन्ने आफूहरूको धारणा रहेको उनले बताए।  

पार्टी महाधिवेशन पनि नभएको अवस्था र संसदीय दलबाट प्रधानमन्त्री चुनिएका कारण ओलीले दुवै पद छाड्न नहुने ओली पक्षको भनाइ छ। ‘अहिले तत्कालै दुवै पद छाड्ने कुरा आउँदैन। बरु महाधिवेशन गरेर त्यहाँबाट हटाइदिए हुन्छ नि ! असन्तुष्ट नेताहरूले कहाँ, कसरी केमा चित्त बुझेको छैन, त्यो कुरा खुलस्तभन्दा हुन्छ,’ ओलीनिकट केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले भने। उनले पार्टी एकता कायम रहनेसमेत बताए। ‘पार्टी फुटाएर यी नेताहरू कहाँ जान्छन् ? चन्द्रमा छुन्छन् ? भोलि जनातामाझ जानुपर्दैन ?’ बाँस्कोटाले भने, ‘विधि, विधान र घोषणा सहमतिको गर्ने तर कामकारबाही उल्टापुल्टा गरेपछि कसरी समस्या समाधान हुन्छ ?’ संक्रमणको समाधान महाधिवेशन भएकाले प्रधानमन्त्री ओलीको विकल्प आमचुनावले मात्र दिने उनको भनाइ छ।  

अर्का सचिवालय सदस्य रामबहादुर थापाले ओली र दाहाललाई भेटेर पार्टी एकता कायम राख्दै मध्यमार्गी धारबाट निकास खोज्नुपर्नेमा जोड दिएका छन्। सरकारको जिम्मा ओली र पार्टीको जिम्मा दाहाललाई दिनुपर्ने उनको सुझाव छ। पार्टी एकताका लागि मध्यमार्गी भूमिका खेल्दै आएका थापाले दुई अध्यक्ष एकले अर्कोलाई परित्याग होइन, दुवैले त्यागको भावना देखाउनुपर्ने धारणा राखेका थिए। उनलाई दुवै पक्षले आफ्नोतर्फको ठान्दै आएका छन्। 

गृहमन्त्रीसमेत रहेका थापाले गत मंसिर ४ गते दुई अध्यक्षबीच भएको सहमति र गत वैशाख २० मा सचिवालय बैठकको निर्णयलाई कार्यान्वयन गरेर जानुपर्नेसमेत बताए। ‘अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन, संगठनात्मक कार्यविभाजनको लडाइँ हो,’ थापानिकट केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकले भने, ‘राजनीतिक विचार र सिद्धान्तको लडाइँ भए पार्टी विभाजन हुन्छ तर संगठनमा कार्यविभाजन भए पार्टी एकताबद्ध हुन्छ।’ उनका अनुसार पार्टी एकताबद्ध भएर जानुपर्छ भन्ने पार्टीका आमकार्यकर्ताको धारणालाई नेताहरूले बुझ्नुपर्छ। ‘अघिल्ला सहमतिले काम गरेन भने अब नयाँ सहमति गरेर पार्टी र सरकार सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘जनताको अभिमतको समेत कदर गर्नुपर्छ।’  

त्यसैगरी पार्टीभित्र विवाद चर्केपछि घनश्याम भुसाल नेतृत्वमा रहेका ११ जना नेताले विवादको जड शीर्ष नेतामै रहेकाले आ–आफ्नो पीडा महसुस गरून् भन्ने धारणा राखेका छन्। भुसाललगायत योगेश भट्टराई, प्रदीप ज्ञवाली, विष्णु रिमाल, वर्षमान पुन, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझीलगायत नेताले आफ्नो मात्रै राजनीति हेरेर भावी पुस्तालाई अन्याय नगर्न शीर्ष नेतालाई आग्रह गरिरहेका छन्। उनीहरूका तर्फबाट कृषिमन्त्री भुसालले दुईपटक दुवै अध्यक्षलाई भेटेर दोस्रो पुस्ताका नेताहरूको धारणा राखिसकेका छन्।

प्रकाशित: २५ असार २०७७ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App