६ वैशाख २०८१ बिहीबार
राजनीति

ओली अडान यथावत्, दाहाल प्रतिरक्षामा

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानमा यथावत् रहेपछि सत्तारूढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिरक्षामा लागेका छन्। पार्टी फुटालेको आरोप लाग्न सक्ने भयबीच नेता–कार्यकर्ताले देशव्यापी रूपमा एकताका लागि दबाब दिएपछि दाहाल प्रतिरक्षात्मक बनेका हुन्।  

ओलीसँग निरन्तर दुईदिन छलफल गरेका दाहालले आफ्नो समूहबाट उठाइएका मागको प्रतिरक्षा गर्न थालेका छन्। ‘पार्टी फुटाउन लागेको भन्दै प्रचारबाजी गरिएपछि एकपटक एक कदम पछाडि सर्दा भोलिका दिनमा विधि र पद्धतिमा पार्टी सञ्चालनमा सहयोग पुग्छ भन्ने हेतुले दाहाल छलफलमा लागेका छन्,’ उनीनिकट स्रोतले भन्यो।  

ओलीले सरकार ढाल्न भारत लागेको बताएपछि आक्रोशित नेकपा शीर्ष नेताले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग्दै आएका छन्। यसले ठूलै दरार उत्पन्न भएर पार्टी विभाजनको सँघारमा पुगेपछि दाहाल तत्काललाई पार्टी विभाजन रोक्न आफ्नो समूहले उठाएका मागको प्रतिरक्षामा लागेका हुन्। स्थायी कमिटीमा दाहाल समूहको स्पष्ट बहुमत छ। तर पनि ओलीलाई तत्कालै प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने र अध्यक्षबाट राजीनामा दिन लगाउने दुवै निर्णय पार्टीका लागि प्रत्युत्पादक हुने ठान्दै दाहाल सहमति खोज्ने प्रयासमा लागेका छन्।  

‘दुवै अध्यक्षबीच छलफल भइरहेको छ। उहाँहरूले आफ्ना अजेन्डाका विषयमा छलफल गरिरहेका कारण पार्टी विभाजनबाट तत्काललाई रोकिने अवस्था आएको छ। दुवै पक्षले कुनै न कुनै रूपको मिलनबिन्दु खोज्ने प्रयासमा कार्यकारी अध्यक्ष दाहाल प्रतिरक्षामा लागेको बुझिन्छ,’ दाहाल निकट एक सदस्य भने। उनका अनुसार दाहाल वा ओली एक कदम पछि हटे दुवैलाई सहमतिको बिन्दु खोज्न सजिलो हुनेछ। ‘दुवैजना आ–आफ्ना अडानमा रहे सहमतिको बिन्दु खोज्न सजिलो हुँदैन। दुवैजनाले आ–आफ्ना कमजोरी स्वीकार गरी एकएक कदम पछाडि हटे मिलनबिन्दु निस्किएमा पार्टीलाई फाइदा हुन्छ। नेता–कार्यकर्ताले नेतृत्वलाई सलाम गर्छन्,’ ती सदस्यले भने।  

ओलीलाई तत्कालै प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने र अध्यक्षबाट राजीनामा दिन लगाउने दुवै निर्णय पार्टीका लागि प्रत्युत्पादक हुने ठान्दै दाहाल सहमति खोज्ने प्रयासमा लागेका छन्।

दाहाल पक्षले पार्टी विधिअनुसार चल्नुपर्ने, पुराना सहमति कार्यान्वयन गर्नुपर्ने, पार्टीभित्रको संघर्षमा लागेबापत कसैलाई पनि कारबाही वा विभेद गर्ने परिपाटी अन्त्य हुनुपर्ने, सरकार सञ्चालनमा पार्टीसँग समन्वय गर्नुपर्नेजस्ता विषय उठाउँदै आएका छन्। पार्टीभित्र पेलाइमा परेको माधव नेपाल समूहले पनि ओलीमा अहंकार बढेको भन्दै दाहाललाई साथ दिइरहेको छ।  

‘नेपाल समूह प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्छ भनेर कम्मर नै कसेर त लाग्दैन तर उहाँहरूको बलियो सहयोग पाएपछि दाहाल अहिले कडा रूपमा प्रस्तुत हुँदा अप्ठेरो भएको हो,’ ओली समूहका एक नेताले भने। उनका अनुसार ओलीले फेरि पनि नेपाल पक्षलाई भन्दा दाहाललाई नै साथ लिएर अघि बढ्ने संकेत गरेका छन्। ‘दुई अध्यक्षले अधिकार बाँडफाँटबारे पनि छलफल गर्नुभएको छ। सायद एकदुई दिनमा यसको निकास निस्कन्छ, पार्टी एकताबद्ध हुन्छ,’ ओलीनिकट एक सचिवालय सदस्यले भने।

उनका अनुसार दुई अध्यक्षमात्रै बसेको समयमा पनि धेरै कुरा भएका छन्। ‘उहाँहरूले चाहेर नै पार्टी एकीकरण भएको हो। त्यसकारण पार्टीलाई फुटबाट जोगाउने दायित्व पनि उहाँहरूकै हो,’ उनले भने। दुई अध्यक्षबीचको कुराकानीले पार्टी विभाजन रोकेको केही नेताको भनाइ छ। दुई अध्यक्षको छलफलमा के भयो भन्ने बाहिर नआए पनि सकारात्मक भएकाले पार्टीलाई विभाजनतर्फ नलैजाने उनीहरूको भनाइ छ। ‘दुई अध्यक्षले कुराकानी थाल्नुभएको छ। पार्टी एकताको सूत्रधार उहाँहरू नै हो। त्यसैले यसको निकास निकाल्ने जिम्मेवारी पनि उहाँहरूकै हो। हामी के अपेक्षा गरौं भने एकदुई दिनभित्र उहाँहरू सहमतिनजिक पुग्नुहुनेछ,’ पार्टी महासचिव विष्णु पौडेलले भने। उनका अनुसार अहिलेको सन्दर्भमा कोही हार्ने वा कोहीले जित्ने नभई पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने विषय नै महत्वपूर्ण हुनेछ। ‘जनताले पाँच वर्ष सरकार चलाउनू भनेर मत दिएका हुन्। अहिले नै यसरी झगडा गर भनेर पठाएका होइनन्। दुई अध्यक्षले यो कुरा बुझ्नुभएको छ। अहिले नै विभाजनतर्फ पार्टी जाँदैन तर विगतको भन्दा अहिले दुई अध्यक्ष र शीर्ष नेताहरूबीच असमझदारी बढेको हो। उहाँहरू संवादबाटै निकास खोज्न तत्पर हुनुहुनेछ,’ पौडेलले भने।  

दुई अध्यक्षबीच संवाद चलिरहेका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक दुई दिन पछि सारिएको छ। यसअघि शनिबार बस्ने भनिएको बैठक सोमबारका लागि तय भएको थियो।

प्रकाशित: २३ असार २०७७ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App