४ वैशाख २०८१ मंगलबार
राजनीति

नेकपा विवाद: बल ओलीको ‘कोर्ट’मा

विधिअनुसार नचले जारी बैठकबाट निकास

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानको ‘बल’ प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कोर्ट’ मा प्रवेश गरेको छ। शुक्रबार दिनभरको छलफलमा शीर्ष नेता तथा दोस्रो पुस्ताका नेता ओलीले नै समाधान निकाल्नुपर्ने, त्यसका लागि पार्टी निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेका छन्।

शुक्रबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि खुमलटारमा शीर्ष नेताहरु छलफलमा जुटेका थिए। साँझ अबेरसम्म भएको छलफलमा ओली र दाहालबीच भएको कुराकानीलाई मिहिन ढंगले विश्लेषण गरिएको थियो। पार्टी एकता सग्लो रहने कि नरहने भन्ने विषय अबको दिनमा ओलीले चाल्ने रणनीतिमा भर पर्ने निष्कर्ष पनि छलफलले निकालेको छ। दाहालसँगको छलफलमा ओलीले दुईमध्ये एक पद छाड्न अस्वीकार गरेपछि अब एकपटक छलफलमा बस्ने, त्यसबाट पनि निकास नआए स्थायी कमिटीको जारी बैठकबाट निकास दिने निर्णय गर्दै खुमलटारबाट नेताहरु बाहिरिएका थिए।  

‘उहाँ (ओली) ले विभिन्न किसिमका फायर खोल्नुहुन्छ। बेलाबेलामा टियर ग्यास हानेको भन्नुहुन्छ। उहाँलाई विश्वास गर्ने कुनै पनि आधार छैन, लिखित सम्झौता कार्यान्वयन नगर्ने, आफैं उपस्थित भएर सचिवालय बैठकले गरेको निर्णयसमेत कार्यान्वयन नगर्नेजस्ता कुराले गर्दा उहाँप्रतिको विश्वास गुमेको छ। त्यसकारण अब पार्टीलाई व्यक्तिवादी चरित्र र स्वभावबाट मुक्त गर्नुपर्छ। त्यसको जिम्मेवार स्वयं ओली नै हो। अबका दिनमा उहाँले देखाउने व्यवहारमा हाम्रो रणनीति अघि बढ्छ’, खुमलटारको छलफलपछि एक सचिवालय सदस्यले भने।  

शनिबार बैठक बस्नुअघि एकपटक दुई अध्यक्षले छलफल गर्ने, त्यसपछि पनि निकास नआए बैठकले जे निर्णय गर्छ त्यही अनुसार अघि बढ्ने सहमति भएको उनले बताए। ‘ओली हठका कारण पार्टी एकता संकटमा पर्ने हो। अब पनि उहाँले नमान्ने हो भने जारी स्थायी कमिटीको बैठकले जे निर्णय गर्छ सोही अनुसार हुन्छ। बैठक अघि बढ्छ, छलफल हुन्छ, बैठकको निर्णय सबैले मान्नुपर्छ’, उनले भने।  

पार्टी एकता सग्लो रहने कि नरहने भन्ने विषय अबको दिनमा ओलीले अपनाउने रणनीतिमा भर पर्ने निष्कर्ष खुमलटार भेलाले निकालेको छ।

उनका अनुसार पार्टी एकता बलियो बनाउन ओलीको व्यक्तिवादी चरित्र, स्वाभाव र अहंकार बाधा बनेको छ। खुमलटारको छलफलमा सहभागी माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले व्यक्तिवादी चरित्र हावी भएकाले यसलाई समयमै नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिएर पार्टीको निर्णय मान्नुपर्ने पनि बताएका थिए।  

यसअघि दुई अध्यक्षबीच भएको छलफलमा पार्टी एकताका क्रममा भएको पुरानो सहमतिको कुरा उठेको थियो। एकता प्रक्रिया सुरु हुनुपहिले नै बनेको सो सहमति कार्यान्वयन गर्न कोको चुकेका हुन् भन्ने विषयले प्रवेश पाएपछि दुई अध्यक्षले गम्भीर छलफल गरेका थिए। दाहालले २०७५ जेठ २ गतेको सहमति कार्यान्वयन भए मात्र पछाडि फर्कने सक्ने बताएका थिए भने ओलीले २०७६ मंसिर ४ गतेको सहमतितर्फ इंगित गरेका थिए। ओलीको प्रस्तावमा दाहाल सहमत भएका छैनन्। २०७५ जेठ २ गते तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच ५ बुँदे सहमति भएको थियो। सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको थियो। शुक्रबारको छलफलमा दाहालले सोही विषय अघि सारेका थिए। दाहालले आलोपालो प्रधानमन्त्री हुने समझदारी कार्यान्वयन भएमात्रै आफूहरु ब्याक हुन तयार भएको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पद दुवै नछाड्ने बताएका थिए।  

छलफलमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए। पौडेलले छलफल उत्साहजनक भएको र निकासनजिक पुगेको बताए। ‘उहाँहरुबीच खुलस्त छलफल भयो। अब भोलि एकपटक छलफल हुन्छ। पार्टी एकता मजबुत हुन्छ। पार्टी फुट्छ भन्ने हल्लामात्रै हो’, पौडेलले भने।  

दोस्रो तहका नेताहरुको अग्रसरता 
नेकपाका दोस्रो पुस्ताका नेताहरूले कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको नेतृत्वमा एकताका लागि दबाब दिने भएका छन्। उनीहरुले ओली र दाहाललाई भेटेर एकताका लागि दबाब दिने विषयमा शुक्रबार बिहान छलफल गरेका थिए। योगेश भट्टराई, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, मणि थापा, टोपबहादुर रायमाझीलगायतका नेता सो भेलामा सहभागी थिए। पार्टी एकीकरणका क्रममा भएका दुई सहमतिमा टेकेर नयाँ सहमति गर्न दुवै अध्यक्षलाई दबाब दिन लागेको भुसालले बताए। ‘०७५ जेठ २ गते भएको सम्झौता र ४ मंसिर ०७६ को सहमतिको आधारमा फराकिलो एकताका लागि प्रयास गर्नुस् भनेर दबाब दिन लागेका हौं’, भुसालले भने।  

यसैबीच केन्द्रीय सदस्य जगन्नाथ खतिवडाको अगुवाइमा पार्टी कार्यालयमा धर्ना सुरु भएको छ। पार्टीभित्र देखिएको विवाद वार्ताको माध्यमबाट टुंगो लगाउन माग राख्दै तीन दर्जन नेताले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका हुन्।

प्रकाशित: २० असार २०७७ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App