७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीको राजीनामा माग

भारतले होइन, हामीले मागेका हौं : दाहाल, भारत र तपाईहरूको बोली कसरी एउटै भयो: ओली

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन्। ओलीको कार्यशैलीप्रति असन्तुष्ट शीर्ष नेताहरुले स्थायी कमिटीको मंगलबारको बैठकमा दुवै पदबाट ओलीको राजीनामा मागेका हुन्।  

दलभित्रको आन्तरिक विवाद अन्यत्रै मोड्न ओलीले भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको बताएपछि शीर्ष नेताहरू रुष्ट छन्। ओलीले आइतबार भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको बताएका थिए। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतले चलखेल गरेको र त्यसका लागि भारतीय दूतावासका अधिकारीले होटल–होटलमा बैठक बसालेको बताएका थिए। ओलीले भारतप्रति लगाएको आरोपको पुष्टि गर्न नेकपाका शीर्ष नेताहरूले उनलाई चुनौती दिएका छन्।  

बैठकको सुरुमै दलका अर्का अध्यक्ष पुष्पकमल दाहालले भारतले नभएर आफूले प्रधानमन्त्रीको राजीनामा मागेको बताए। ‘राजीनामा मैले मागेको हो, भारतले होइन। अब पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुस्। तपाईं आराम गर्नुस्,’ दाहाललाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘भारतले प्रधानमन्त्रीबाट हटाउन लागेको छ भनेर जसरी तपाईं (ओली) बाट कुरा आयो, यो विषय सामान्य होइन। बैठकमा सीधा सीधा प्रमाण राख्नुस्, त्यसमा छलफल गरौं।’ 

बैठकमा ओली दाहालबीच सवालजवाफ नै भएको थियो। दाहालले प्रधानमन्त्रीले आफूले काम गर्न नसक्ने, जनताको माझमा पार्टी र सरकार दुवैको लोकप्रियता खस्काउने अनि जनस्तरबाट उठेका आवाज सम्बोधन गर्न नसकेपछि भारतले हटाउन लाग्यो भनेर अभिव्यक्ति दिनु शोभनीय नभएको बताएका थिए।   

बैठकमा ओली दाहालबीच सवालजवाफ नै भएको थियो। दाहालले प्रधानमन्त्रीले आफूले काम गर्न नसक्ने, जनताको माझमा पार्टी र सरकार दुवैको लोकप्रियता खस्काउने अनि जनस्तरबाट उठेका आवाज सम्बोधन गर्न नसकेपछि भारतले हटाउन लाग्यो भनेर अभिव्यक्ति दिनु शोभनीय नभएको बताएका थिए।  

प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएपछि त्यसबारे स्थायी कमिटी बैठकमा कुरा उठेको हो। बैठकको सुरुमा शीर्ष नेताहरुले ओलीको उक्त अभिव्यक्तिलाई लिएर धारणा राखेका थिए। ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीजस्तो व्यक्तिले पार्टी बैठकमा राख्नुपर्ने कुरा बाहिर राखेर कसलाई भारतपरस्त भन्न खोजेको हो ?’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो। दाहालले पार्टीको जिम्मेवार ठाउँमा बसेर यस्तो अभिव्यक्ति दिँदा कसलाई घाटा भयो, पार्टीलाई क्षति भएको छ कि छैन भनेर पनि प्रश्न गरेका थिए। ‘बैठकमा छलफल हुन्छ, यसको स्पष्ट प्रमाण, आधार चाहिन्छ। प्रधानमन्त्रीको कुर्सीमा बसेर भारतले हटाउन खोज्यो भन्नु, होटलमा बैठक भएको छ भन्नु, अनि बैठकमा चाहिँ अजेन्डा नै नराख्ने हो भने बैठक केका लागि बस्ने ?’ दाहालले भनेका थिए। बैठकमा दाहालले निर्वाचन आयोगमा नेकपा एमाले भन्ने पार्टी कसले दर्ता गरेको हो भने प्रश्न पनि ओलीसँग गरेका थिए।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको राजीनामा माग भएको बताए। ‘बैठकमा सहभागीले उहाँको राजीनामा मागेका छन्, आज (मंगलबार) को विषय यही हो’, खनालले भने।  

बैठकममा शीर्ष नेताहरुबाटै ओलीको राजीनामा माग भएपछि उनले आफूले राम्रो काम गर्दागर्दै  पनि पार्टीभित्रैबाट असहयोग भएको बताएका थिए।  ‘पार्टी बैठकमा भएका विषय र भारतीय मिडियामा आउने विषय एउटै छन्। आज तपाईंहरुले जे विषय उठाउनुभयो, ती विषय भारतीय मिडियामा कसरी आए ? राष्ट्र, राष्ट्रियताको पक्षमा काम गर्दा कतिपय व्यक्तिहरुलाई मन नपरेको सत्य हो, पार्टीले पनि असहयोग गरेको छ। सरकारले राम्रो काम गरेको छ भन्ने धेरै तथ्य छन्। तथ्यमा कुरा गरेको हो मैले, केही व्यक्ति मेराविरुद्ध होटलमा बैठक बसेको पनि सत्य हो, त्यहाँ भारतीय दूतावासका कर्मचारी पनि थिए’, ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘दिल्लीबाट प्रकाशित हुने मिडियाहरुमा आएका समाचार पनि आजको बैठकमा आएका अभिव्यक्तिसँग मिल्दाजुल्दा छन्, त्यो कसरी हुन्छ, यहाँबाट कसले रिपोर्टिङ गर्छ ?’  

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, खनाल, वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ओलीले आफूलाई भारतले हटाउन खोजेको भनी दिएको अभिव्यक्तिमा केन्द्रित भएर जवाफ मागेका थिए।

स्थायी कमिटीका एक सदस्यका अनुसार बैठकमा ओली र दाहालबीच निकैबेर सवालजवाफ भएको थियो। दाहालले निर्वाचन आयोगमा झापाका सन्ध्या तिवारी भन्ने नामबाट ‘नेकपा एमाले’ दल दर्ता भएको छ, त्यो कसले गरायो भन्दै जवाफ मागेका थिए। जवाफमा ओलीले मेरो पार्टी नेकपा हो, मलाई अर्को दल कहाँ, के भन्ने जानकारी छैन, गोपाल किराँतीको नाममा पनि माओवादी भन्ने दल दर्ता भएको भन्ने सुनेको थिएँ, त्यसको जवाफ मैले कसैसँग मागेको पनि छैन, यस्ता मसिना कुरा गर्नु पनि छैन भनेका थिए।  

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, खनाल, वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ओलीले आफूलाई भारतले हटाउन खोजेको भनी दिएको अभिव्यक्तिमा केन्द्रित भएर जवाफ मागेका थिए। नेता नेपालले ‘प्रधानमन्त्रीको पदमा बसेर भारतले नै चलखेल गरेको छ भन्ने थाहा पाएको हो भने त्यसबारे नेपालमा रहेका भारतीय दूतावासका कर्मचारीलाई परराष्ट्रमामार्फत सोध्न सकिने, त्यस्ता गतिविधिमा रोक लगाउन सकिने, सरकार र सरकार प्रमुखमाथि प्रहार हुनेखालका गतिविधि भए दूतावासका कर्मचारीलाई फिर्ता पठाउन सकिने विकल्प थियो, पार्टी बैठक चलिरहेका बेला भारतले चलखेल ग-यो भन्ने अभिव्यक्तिले झन् अविश्वास बढाएको र त्यसले आरोपप्रत्यारोप गर्न मलजल गरेको’ बताएका थिए। स्रोतका अनुसार  नेपालले ओलदीलाई भनेका थिए, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएर  कमजोरी ढाकछोप गर्न नलाग्नुस्। तपाईंले नै भनेको कुरालाई आधार मान्ने हो भने नेपालको नयाँ नक्सा प्रकाशन गर्ने निर्णय पार्टी स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकबाट भएको छ, सरकारको नीति तथा कार्यक्रममा पनि सचिवालय बैठकबाट थप गर्न लगाइएको छ भने यो कुरा सार्वजनिक भएको विषय हो। भारतले यस्तो विषय जानकारीमा राख्दैन भन्ने मलाई लाग्दैन, थ्रेट तपाई लाई मात्र होइन, सचिवालयका नेता र पार्टीलाई हुन सक्छ।’ नेपालले ओलीलाई आफूबाहेक अरुलाई राष्ट्रवादी नदेख्ने चश्मा फुकाल्न आग्रह गर्दै राजीनामा दिँदा नै उपयुक्त हुने धारणा राखेका थिए।  

वरिष्ठ नेता खनालले ओलीबाट पार्टी र देश दुवै बन्दैन भन्दै उनको राजीनामा मागेका थिए। ‘तपाईंबाट पार्टी र देश दुवै नबन्ने अवस्था आयो, अब राजीनामाको विकल्प छै’, खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो।  

बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले आइतबार प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति, प्रधानमन्त्रीलाई हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको पनि संलग्नता रहेको, निर्वाचन आयोगमा दर्ताका लागि आवेदन दिइएको भनिएको नेकपा (एमाले) का सम्बन्धमा छलफल भएको बताए। उनका अनुसार यी विषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, स्थायी कमिटी सदस्यहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण बिष्ट, भीम आचार्यले आआफ्ना धारणा राखेका थिए। प्रवक्ता श्रेष्ठले पनि बैठकमा बोलेका थिए। स्थायी कमिटीको मंगलबारको बैठक निर्धारितभन्दा भिन्न कार्यसूचीमा छलफल भएको थियो।  

स्थायी कमिटीमा ओली निकट एक सदस्यका अनुसार बैठकमा दाहाल र नेपालनिकट नेताहरुले ओली असफल भएको भन्दै उनको राजीनामा मागेका थिए। ‘उहाँहरु खुमलटारतिरै बैठक बसेर आउनुभएको रहेछ, सबैको एउटैएउटै लबज र स्वर देखियो, पार्टी अध्यक्ष र प्रधानमन्त्रीमाथि प्रहार भयो, यो राम्रो संकेत होइन’, ती सदस्यले भने।  

प्रकाशित: १७ असार २०७७ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App