coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

किन स्थगित गरियो संसद बैठक १७ गतेसम्म ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने तीब्र विवाद भइरहेका बेला प्रतिनिधिसभाको बैठक असार १७ गते बस्नेगरी स्थगित भएको छ । असार १६ गतेभित्र संसदबाट एमसीसी पास गरिसक्नु पर्ने बताइएका बेला सभामुख अग्नीप्रसाद सापकोटाले बैठक असार १७ गतेका लागि मात्र बोलाएका हुन् ।

सभामुख सापकोटा निकट सत्तारुढ दल त्यसमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू एमसीसीको पक्षमा खुलिसकेका छैनन् । पार्टीका अधिकांस नेताहरू विपक्षमा उभिएका बेला दाहाल निकट मानिएका सभामुख सापकोटाले संसद बैठक एमसीसी पारित गर्नुपर्ने समय गुजारेर राखेको स्रोतको दाबी छ ।

तर, संसद सचिवालय र सभामुख निकटहरूले पनि बर्खे अधिवेशनको महत्वपूर्ण काम सकिएको जनाउँदै संघीय संसदको दुबै सदनबाट पारित आर्थिक विधेयकहरु प्रमाणित गर्नका लागि तीन दिन समय लिएको दाबी गरे ।  शुक्रबारसम्म आर्थिक विधेयकहरू प्रमाणित गर्नका लागि नै समय चाहिनेछ,’ सभामुख निकट एक अधिकारीले भने, ‘शनिबार बैठक राख्ने प्रचलन छैन । १४ गते तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको स्मृति दिवस भएकाले सत्तारुढ दलबाटै बैठक  नराख्न आग्रह भएको थियो । १५ गते धान दिवास हो १६ गते एक दिन जिल्ला पुगेका सांसदहरूलाई काठमाडौं आउन र कोरोनाको परिक्षण गर्न समय दिइएको हो ।’

तर, एमसीसी पारित गराउनु पर्ने पक्षमा देखिएका सत्तारुढ दलकै सांसदहरूले सभामुखले विभिन्न बाहाना बनाएर त्यसलाई टार्ने प्रयास गरेको आरोप लगाए । तत्कालीन माओवादीका नेता कृष्णबहादुर महरा सभाुमख भएका बेलामा पनि विभिन्न बाहाना बनाएर त्यसलाई टार्दै आएको सुनाउँदै ती नेताले भने, ‘मुलुकको आर्थिक विकासका लागि आएको ठूलो धनरासीलाई तुहाउने खेल हो यो ।’

संसदको बैठक कहिले राख्ने भन्ने अधिकार सभामुखमै रहेको बताउँदै जनता समाजवादी पार्टीका नेता एबं सांसद लक्ष्मणलाल कर्णले बैठक राख्ने विषयमा छलफल नभएको बताए । ‘बैठक राख्ने अधिकार सभामुखको हो यस विषयमा हामीसँग केही छलफल भएको छैन,’ उनले भने, ‘उहाँको मनमा के के कुरा छ थाहा भएन ।’  

एमसिसीबारे पार्टीभित्र विवाद पेचिलो बन्दै गएपछि नेकपाले त्यस विषयमा निर्णय लिन बुधबारका लागि बैठक बोलाएको छ ।

प्रकाशित: ९ असार २०७७ १६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App