३१ श्रावण २०७७ शनिबार
राजनीति

अब चीनसँगको सीमांकन टुंग्याउनुपर्छ : सीमाविद्

सीमाविद् बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्साअनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमांकन टुंगो लगाउनुपर्ने बताएका छन् ।

लिपुलेक पश्चिममा चीनसँग पनि सीमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमांकन गरी त्रिदेशीय बिन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए । चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशीय बिन्दु कायम भए पनि नेपालका दुईवटा बिन्दुसमेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सिमांकन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशीय बिन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने बताए ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद् श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने बताए । सांसदको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याड तत्काल परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । केन्द्रीय तथ्यांक विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उनले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिई नेपालमा रहेका कूटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए ।

सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्ने भन्दै उनले सडकमा आएर दुई–चार शब्द भन्दै बिच्काएर नहुने बताए । नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्ने वातावरण नेपालले बनाउनुपर्ने उनको भनाइ थियो । भारत वार्ताका लागि कुनै पनि हालत तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गराउनुपर्ने उनले सुझाव दिए । भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्रसंघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वार्ताका लागि दबाब सिर्जना गर्नुपर्ने बताए।

समितिले राष्ट्रिय महत्त्वको दस्तावेज तयार गरी संसद्मा पेस गर्ने तयारी गरेको समिति सभापति रामनारायण बिडारीले बताए  ।

प्रकाशित: ७ असार २०७७ १७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App