८ वैशाख २०८१ शनिबार
राजनीति

कोरोना उपचार कोषबाट २३ करोड खर्च गर्ने निर्णय

क्वारेन्टिन मर्मत, औषधी उपकरणमा उक्त रकम खर्च हुने

विदेशबाट आएका नागरिकहरूबाट कोरोना संक्रमण फैलिन नदिनका लागि बनाइएको क्वारेन्टीनमा विभिन्न खालका समस्या देखिएपछि अव मापदण्ड नपुगेका क्वारेन्टीनहरूको मर्मत तथा सुधार गरिने भएको छ ।  

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन विदेशबाट आएका व्यक्तिहरूलाई राख्न बनाइएको क्वारेन्टीनमा विभिन्न समस्या देखिएपछि त्यसको स्तरोन्नती एवं सुधार गरिने भएको हो ।  

विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि जम्मा गरिएको बजेट खर्च नभएको भन्दै आलोचना भैरहेका बेला कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट क्वारेन्टिनको मर्मत सम्भार तथा व्यवस्थापन, होल्डिङ सेन्टरको व्यवस्थापन, औषधी तथा उपकरण खरिदमा गरि कुल २३ करोड ४९ लाख ७९ हजार ८ सय २५ रुपैयाँ भन्दा बढी रकम दिने भएको हो ।  

उक्त रकममध्ये क्वारेन्टिन सुरक्षा एवं व्यवस्थापनमा १३ करोड २२ लाख ५६ हजा ८ सय २५ रुपैयाँ दिने निर्णय गरेको छ । मापदण्ड अनुसार क्वारेन्टीन निर्माण नहुँदा त्यहाँ बस्नेहरूलाई झनै जोखिम बढेको, विभिन्न प्रकारका हिंसा भएको भन्दै क्वारेन्टिन व्यवस्थापनमा उक्त रकम दिन लागिएको हो ।  

उक्त रकम एक सय ७६ वटा स्थानीय तहले प्राप्त गर्नेछन् । स्रोतको अभावमा मापदण्ड विनानै सन्चालनमा रहेका ति क्वारेन्टिन मर्मत सम्भार गरि मापदण्ड अनुसारको क्वारेन्टिन निर्माणमा उक्त रकम खर्च हुनेछ ।  

त्यसैगरि भारतबाट स्थलमार्ग हुँदै विभिन्न नाकाबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूलाई होल्डिङ सेन्टरमा राख्न, होल्डिङ सेन्टरको मर्मत र एकदिनको खानका लागि कोषबाट २ करोड ७७ लाख २३ हजार रुपैयाँ दिने निर्णय भएको छ ।  

कोषले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि मुलुकमा विभिन्न ठाउँमा स्थापना भएका प्रयोगशालाका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री एवं औषधी उपकरण खरिदका लागि ४ करोड ५० लाख रुपैयाँ दिनेछ । त्यसैगरि राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाको स्तरोन्नती र आवश्यक उपकरण खरिदका लागि ३ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरिएको छ ।  

विरगन्ज महानगरपालिकाले गण्डक अस्पताललाई कोभिड–१९ विशेष अस्पतालको संचालन गर्नका लागि आवश्यक तयारी गर्न र मजदुरी गरि जीविकोपार्जन गरेका व्यक्तिहरूलाई राहत प्रदान गर्न मागेको रकममध्ये १६ करोड ९४ लाख रुपैयाँ अर्थमन्त्रालयसँग माग गरेको रकमका लागि दिनुपर्ने नपर्ने थप विश्लेषण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयसँग माग गरिएको उक्त रकम उपलव्ध गराइदिन अर्थले कोषलाई आग्रह गरेको थियो ।  

कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि सरकाले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्व ३३ करोड ८१ लाख ३ हजार ४ सय ६६ रुपैयाँ जम्मा भएको छ । विभिन्न सरकारी, गैरसरकारी, निजी संघ, संस्था तथा व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

प्रकाशित: २ असार २०७७ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App